"वाद मुर्दावाद"
कविता
हे ! वादका ख्वामित महासय
आज म तिम्रो छरपस्ट
अराजक वादहरुको अन्तिम श्रद्धाञ्जली गर्दछु
किनकि
तिम्रो निरंकुशता डोजर लाएर
मेरो निर्दोष किपट भत्काएर
सम्राज्यवादको बस्ती बसायौ
ती बस्तिहरुमा
एकात्मकवादको महल बनायौ
महलहरुमा धारिलो तरबार दिएर
सुब्बालाई राख्यौ
रैकारलाई राख्यौ
थरिलाई राख्यौ
ती तरबारधारीहरुले
बेहिसाब
मेरो अस्तित्व रेट्दै लगे
हे ! वादका स्वामी
तेतिले मात्र पुगेन
मेरो पुर्खाहर्लेले बसाएको बस्तिहरुमा
तिम्रो वादको स्खलित बिर्यले
कालो वादको चोक जन्मायौ
आज तै पुर्खाको आलो रगत
मेरो मुटुमा बोकेर उभिन्दा
मलाई चिन्दैनन्
मेरो पुर्खाहरुले बनाएको गल्ली गल्लिमा
तिम्रो घृणित वादको बमिट छादेका छौ
ती गल्लिहरुमा म असहज हिड्छु
वाद नै वादको जंगल रोप्यौ
जंगल भरी वादको रोबर्टहरु राख्यौ
ती रोबर्टहरुले मेरो सेक्मुरीलाई किल्चे
मेरो सिङ्जाङ्गोलाई लुछे
मेरो अम्लरिफुङमा डढेलो लाए
अचेल म खोज्दै हिड्छु सेक्मुरी
अचेल म सोध्दै हिड्छु सिङ्जाङ्गो
अचेल म हेर्दै हिड्छु अम्लरि
मलाई चिन्दैनन्
हे ! वादका महाराज
मेरो घरको भित्ता भरी
वादको माकुरो छोड्यौ
ती माकुराले मेरो च्याब्रुङ्मा जालो लायो
मेरो बिनायोमा छेर्यो
अचेल बज्न लजाउछ मेरो च्याब्रुङ
अचेल बिनायोको तुना हराएको छ
म हेर्छु मेरो च्याब्रुङ्मा
तिम्रो वादको कालो मोसो लागेको छ
बिनायोमा तिम्रो वादको
तुना उन्निएको छ
अनि
मैले ओढेको टोपिमा तिम्रो वादको गन्ध छ
मैले लाएको कमिजमा तिम्रो वादको बुट्टा छ
मैले लाएको सुरुवालमा तिम्रो वादको धागो छ
मैले लाएको जुत्तामा तिम्रो वादको रंग छ
अब
अब म पखाल्दै छु महासय
अब च्यात्दैछु
अब चुटाउदैछु
माफी रहोस्
तिम्रो वादको आयु पुगेको छ
म आफै बाट बिद्रोह गर्दैछु
म नाङ्गो भएर हिड्न तयार छु
तर तिम्रो वादको सृंगार मलाई चाहिएन
र
अन्तिम चोटि भन्दैछु महासय
ती मलाई छोप्ने तिम्रो वादको आकाश
तोड्न तयार छु
मलाई उचाल्ने तिम्रो वादको धर्ती
फुटाउन तयार छु
मेरो जिब्रो थुतेर कतै मिल्काउ
तर म भन्न छोड्दिन
वाद मुर्दावाद
अस्तु !
(इक्साहाङ चेम्जोङ)