• काठमाडौं, १२ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो साता नेपाल भ्रमणमा आउने सूचना भारतीय सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ ।

    काठमाडौंस्थित भारतीय दूतावासको जनसम्पर्क शाखाका प्रमुख रोशन लेम्चाले भने यस सम्बन्धमा अहिलेसम्म कुनै औपचारिक जानकारी दूतावासलाई आइनसकेको बताउनु भएको छ ।

    तर, भारतीय सञ्चारमाध्यमका अनुसार मोदी मंसिर १२ र १३ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रमका रुपमा निर्वाचित भएपछि मोदीको यो पाँचौं नेपाल भ्रमण हुनेछ ।

    नेपालकै इतिहासमा भारतीय सरकारप्रमुखका रुपमा आफ्नो एउटै कार्यकालमा यतिविघ्न नेपाल आउने पहिलो विदेशी सरकारप्रमुख हुनुहुन्छ मोदी । मोदीको यो भ्रमण बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल लुम्बिनी दर्शनका लागि भनिएको छ ।

    तर, राजनैतिक पर्यवेक्षकले मोदीको यो भ्रमण भारतमा हुन लागेको आगामी लोकसभा निर्वाचनलाई जोडेर हेर्न चाहेका छन् ।

    यसअघि प्रम केपी ओलीले आफ्नो भारतीय समकक्षीलाई वैशाख २८ र २९ गते नेपाल आउँदा होस् अथवा गत भदौ १४ र १५ गते यहाँ आयोजित चौथो बिम्स्टेक सम्मेलनमा आउँदा दुवै पटक लुम्बिनी भ्रमणको निम्ता दिनुभएको थियो ।

    बुद्ध जन्मभूति लुम्बिनी भ्रमणको बारम्बार चाहना राख्नु भएका मोदीले अन्ततः लुम्बिनी भ्रमण गर्ने निधो भएको हो । मोदीको यो भ्रमणका पछाडि उहाँको धर्म राजनीतिको रहस्य लुकेको बताइन्छ ।

    यसअघि गरिएका पटक पटकका अग्रहलाई सुनेको नसुन्यै गर्नुभएका मोदीले निर्वाचनको पूर्वसन्ध्यामा लुम्बिनी भ्रमण गर्नुका पछि उहाँको राजनैतिक उद्देश्य रहेको राजनैतिक पर्यवेक्षकको धारणा रहेको छ ।

    गत वैशाखमा मोदीबाट भएके नेपाल भ्रमणको सुरुवात जनकपुरबाट हुनु र त्यहाँ सम्पन्न उहाँको नागरिक अभिनन्दनलाई नेपालसँगको सम्बन्ध जुन विन्दुबाट बिग्रिएको थियो, त्यहीबाट सुधार गर्ने प्रयासका रुपमा विश्लेषण गरिएको थियो ।

    त्यो भ्रमणलाई धार्मिक भ्रमणको कलेवर दिनुभएका मोदीमाथि भारतको राजनैतिक वृत्तमा कर्नाटक प्रान्तको विधानसभाको निर्वाचन प्रचारका लागि नेपाली भूमि प्रयोग गरेका आरोप लागेको थियो ।

    हिन्दू समुदायबहुल कर्नाटक क्षेत्रको जनमतलाई प्रभावित गर्न धार्मिक भ्रमणको छद्मभेषमा नेपाल आएको आरोप मोदीमाथि लगाइएको थियो ।

    धार्मिक भ्रमणमा नेपाल आउनुभएका मोदीले त्यतिखेर जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ मन्दिरको यात्रा गर्नुभयो भने दुवै देशका प्रमले रामायण सर्किटको संयुक्त उद्घाटन गर्नुभयो ।

    जनकपुरबाट सुरु भएको रामायण सर्किट भारतको अयोध्यासँग जोडिन्छ । अयोध्यामा रहेको राम मन्दिरको विवाद सन् १५२८ बाट निरन्तर रहेको भारतीय इतिहासकै सबैभन्दा लामो समयसम्म चलेको सुल्झन नसकेको विवादको रुपमा लिइन्छ ।

    र, लुम्बिनीबाट अयोध्या धेरै टाढा छैन । रामायण सर्किट निर्माणको घोषणा गरेबाट त्यस क्षेत्रका हिन्दू समुदायको भावना जित्ने काम भएको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका थिए । भारतको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या हिन्दू छन् ।

    धार्मिक हिसाबमा फरक सम्प्रदायक भए पनि हिन्दू र बौद्ध धर्मावलम्बी आफूलाई एउटै किसिमको धार्मिक समूहअन्तर्गत रहेको मान्ने गर्छन् ।

    यस्तोमा आगामी मंसिरमा हुने भनिएको मोदीको नेपाल भ्रमणलाई लिएर २०१९ अप्रिल महिनामा हुने भारतीय निर्वाचनलाई आफ्नो प्रभावमा राख्ने मोदीको उद्देश्य रहेको विश्लेषण आएको मान्न सकिन्छ ।

    मोदीले पहिलोपटक नेपालको भ्रमण २०७१ साउन १८ र १९ गते गर्नुभएको थियो । मोदीले विदेश नीतिमा छिमेक नीतिलाई पहिलो प्राथमिकता दिने भन्दै आफ्नो पहिलो विदेश यात्रा छिमेकी देश भुटानबाट गर्नुभएको थियो भने त्यसपछि नेपाल आउनु भएको थियो ।

    भारतीय प्रमको शपथ ग्रहण कार्यक्रममा पनि सार्क क्षेत्रका सबै सरकारपमुखलाई भारतीय प्रम निवासमै बोलाएर छिमेकीलाई प्राथमिकता दिएको भनेर मोदीको प्रशंसा भएको थियो ।

    पहिलो पटक नेपाल भ्रमण गर्दा ४५ मिनेट संसद भाषण गर्नुभएको मोदीको समर्थनमा नेपालका सांसदले ४९ पटक ताली बजाएका थिए भने बाटोमा सर्वसाधारणले पनि उहाँको जय गाएका थिए ।

    त्यसलगत्तै चार महिनापछि २०७१ मा नेपाल आउँदा पहिलो भ्रमणको तुलनामा मोदीमा निकै परिवर्तन देखिएको थियो ।

    सोही वर्षको मंसिर १० र ११ गते काठमाडौंमा आयोजित १८औं सार्क सम्मेलनमा नेपाल आउनु भएका मोदी राजनैतिक नेतृत्वसामु निर्देशनात्मक रुपमा प्रस्तुत हुनुभएको थियो, विमर्शमा उल्लेख छ ।

    यसबारे नेकपा दलका एक नेताले बताए, पहिलो भ्रमणमा नेपालको शुभचिन्तकजसरी प्रस्तुत भएका यिनै मोदी सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउँदा निकै परिवर्तित शैलीमा प्रस्तुत हुँदै नेपालको संविधान निर्माणमा भारतको अव्यक्त चाहना समेटिनु पर्ने किसिमले अभिव्यक्ति राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…