फिदिम । मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्या कमि आएको छ ।
नेपालमै पहिलो पटक कक्षा ७ सम्म लिम्बू (याक्थुङ) भाषामा पठन–पाठन शुरु गरेको पाँचथरमा अहिले मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्यामा कमि आएको हो ।
पाँच वर्ष अघिसम्म कक्षा ५ सम्म १३१ वटा विद्यालयमा लिम्बू भाषामा पठन–पाठन हुने गरेको थियो । यो सङ्ख्या घटेर अहिले ११४ मा आइपुगेको छ । मातृ भाषा पठन–पाठनका लागि पाँचथरलाई ‘नमूना’ जिल्लाका रुपमा मान्दै आएको छ ।
जिल्लाका चारवटा विद्यालयमा राई वान्तवा भाषामा पठन–पाठन हुने गरेकामा त्यो सङ्ख्या आधाले घटेर दुईमा झरेको छ । जिल्लामा तामाङ भाषामा दुई र भोटिया भाषामा एक विद्यालयमा पठन–पाठन हुने गरेको छ । समुदायमा जागरुकताको कमि ततथा भाषा शिक्षक र पाठ्यपुस्तकको अभावका कारण मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्या क्रमशः घटेको हो । केही वर्षको अन्तरालमै मातृ भाषा पठन–पाठन घटेको शिक्षा विकास तथा समन्वय एकाइ पाँचथरले जनाएको छ ।
स्थानीयस्तरमा गरिएको पहलबाट पाँचथरमा कक्षा ७ सम्म लिम्बू मातृ भाषामा पठन–पाठन हुने गरेको छ । यसै शैक्षिक सत्रबाट जिल्लाका नौ वटा विद्यालयमा लिम्बू भाषामा पठन–पाठन गराउन थालिएको छ । सरोकारवालाको सक्रियता, शिक्षा विकास तथा समन्वय एकाइको सहयोग र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा लिम्बू समुदायको सघन बसोबास रहेको पाँचथरका नौ वटा विद्यालयमा लिम्बू मातृ भाषामा पठन–पाठन भइरहेको हो तर, आधारभूत विद्यालयमा भने पठन–पाठन घटिरहेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार पाँचथरमा कूल जनसङ्ख्याको ४१ प्रतिशतभन्दा बढी लिम्बू समुदायको बसोबास छ । पाँचथरमा कक्षा ६ सम्म १४ वटा विद्यालयमा लिम्बू भाषामा पठन–पाठन भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङले जानकारी दिनुभयो । जिल्लामा ४५० बढी सामुदायिक विद्यालय छन् ।
राष्ट्रिय भाषा आयोगका सदस्य हरिचन्द्र लावती भाषाकै कारण विभिन्न समुदायका बालबालिकालाई शिक्षा लिन समस्या परेको बताउनुहुन्छ । मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्या घट्दा मातृ भाषा नै लोप हुने हो कि भन्ने चिन्ता बढेको लावतीको भनाइ छ । “मातृ भाषामा पढाइ हुँदा जसरी बालबालिकाले धेरै कुरा बुझ्न र सिक्न सक्दछन् त्यतिकुरा दोस्रो भाषामा पठन–पाठन हुँदा अवश्य लिन सक्दैनन” उहाँले भन्नुभयो, “राज्यले जबसम्म आफ्नो दायित्व ठानेर मातृ भाषामा पठन–पाठन गराउँदैन, तबसम्म मातृ भाषा नै लोप हुने खतरा बढिरहन्छ ।” भाषा शिक्षकको अभावमा भाषा शिक्षणको सामान्य तालीम लिएका प्राथमिक तहका शिक्षकबाट मातृ भाषा पठन–पाठन गराउनुपर्ने बाध्यताका कारण विद्यालय मातृ भाषा अध्यापन गराउन नसकेको उहाँको अनुभव छ ।
भाषा शिक्षक नहुँदा मातृ भाषाको शिक्षणबाट शिक्षण सिकाइसमेत प्रभावकारी नहुने सदस्य लावतीको तर्क छ । “राज्यले पुस्तक छापिदिनु पर्छ, भाषा शिक्षकको दरबन्दी कायम गर्नुपर्छ, अनिमात्रै मातृ भाषामा पठन–पाठन गराउने आधार तयार हुन्छ”, उहाँले भन्नुभयो । दरबन्दी कायम हुन नसक्ने अवस्थामा विद्यालयलाई अनुदान दिएर भए पनि मातृ भाषामा शिक्षणको व्यवस्था गर्नुपर्ने माग लावतीको छ । यसका लागि स्थानीय तहले समेत भूमिका खेल्नसक्ने उहाँको ठम्याइ छ ।
एक दशकभन्दा बढी समयदेखि लिम्बू भाषामा कक्षा ५ सम्म अध्यापन गर्दै आएको फिदिम नगरपालिका–५ चोकमागूको तीनमौले आधारभूत विद्यालयकी प्रधानाध्यापक मञ्जुला तुम्बापोले बालबालिकालाई धेरै कुरा सिक्न मातृभाषामा पठन–पाठन आवश्यक रहेको अनुभव सुनाउनुभयो । “हामीकहाँ लिम्बू समुदायको सघन बसोबास छ, मेरो अनुभवमा मातृ भाषामा विद्यार्थीले सहजै धेरै कुरा सिक्न सक्छन्”, तुम्बापोले भन्नुभयो ।
लिम्बू भाषाको अध्यापनका लागि सहयोग गर्दै आएको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले अङ्ग्रेजी भाषाप्रतिको बढ्दो आकर्षणले मातृ भाषा सङ्कटमा परेको बताउनुभयो । फिदिम नगरपालिकाले मातृ भाषा संरक्षणका लागि प्रदेश सरकारको कानून पर्खिरहेको नगर प्रमुख नेम्वाङले जानकारी दिनुभयो ।