• काठमाडौ : थारू समुदायको पहिचान र अधिकारका लागि सम्पूर्ण थारू समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा अगुवाले जोड दिएका छन् ।

    राष्ट्रिय जितिया पर्वका अवसरमा थारू महिला सभा काठमाडौँ उपत्यका समितिले यहाँ आयोजना गरेको कार्यक्रका वक्ताले आदिवासी थारूले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त अधिकारको संस्थागत तथा बाँकी मुद्दालाई टुङ्गोमा पु¥याउन राजनीतिक दल तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने खाँचो औँल्याए ।

    नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारले थारूको पहिचान र अधिकारका लागि पार्टीभन्दा माथि उठेर एकताबद्ध ढङ्गले मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

    थारूको आपसी विभाजन र मुद्दामा बेइमेलकै कारण थारू आन्दोलन निष्कर्षमा पुग्न नसकेको भन्दै अबको दिनमा मुद्दालाई एकताबद्ध भई सशक्त र प्रभावकारी रुपमा अघि बढाइने उल्लेख गर्नुभयो ।

    पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता गच्छदारले थारू आन्दोलनका क्रममा विभिन्न मुद्दामा जेल परेका अगुवा रेशम चौधरीलगायत थारू नेताहरु केही दिनमै जेलमुक्त हुने दाबी गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीले थारूको मुद्दाका लागि सुदृढ एकता अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

    अर्का सांसद गङ्गा चौधरी र मेखमणि चौधरीले थारू जातिको पहिचान र अधिकारको आन्दोलनलाई सार्थक तुल्याउन व्यक्तिगत स्वार्थ र पार्टीभन्दा माथि उठेर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    थारू कल्याणकारिणी सभाका कार्यवाहक अध्यक्ष कन्नुलाल चौधरीले थारूप्रति राज्यले गर्ने व्यवहारमा अझै परिवर्तन नभएको गुनासो गर्दै पार्टी र आस्था जुनसुकै भए पनि सच्चा थारू भएको पहिचानको अधिकारका लागि एकजुट हुनुपर्छ भन्नुभयो ।

    थारू महिला सभाका अध्यक्ष तारा चौधरीले थारू समुदायको राष्ट्रिय पर्व जितियालाई राजधानीमा बसोबास गर्ने थारू समुदायबीच आपसी भाइचारा र सद्भाव कायम गर्न विगत केही वर्षदेखि काठमाडौँमा कार्यक्रम गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा थारू, संस्कृति, पहिचान झल्कने विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । थारू वेशभूषामा सजिएका थारू महिला तथा युवाको उल्लेख्य सहभागिता रहेको थियो ।

    सो अवसरमा थारू अधिकारको अभियानमा योगदान गर्ने केशरी चौधरी, सीता चौधरी, रञ्जना चौथरी, डा नरेन्द्रकुमार सिंह लगायतलाई सम्मान गरियो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…