कविता
उज्ज्वल गुरागाई
आकाशको ठूलो छने ओडेर,
कालो, तातो अलकत्रको खटियामा
लोति बिहिन चप्पलको सिरानिमा
शिर राखी
एउटा अमिलो निद्रा निदाउने गर्छु
हरेक रात।
आक्कलझुक्कल निदाउन पाउँदा
देखेका कहालिलाग्दो सपना बहेक
मेरा लागि कुनै जायज सपना छैनन
कसैलाई असर नै नगरी
प......र एकान्तमा सुतिरहदाँ पनि
पानी छ्यापेर तर्साउदै उठाउछन
एउटा उपनाम दिएर
भाग उठ "खाते!"
दूध पिउने समयमा
म
तिर्खा पिउने गर्थे।
पानी पिउने समयमा
म
आलोचना पिउने गर्थे।
खाना त परको कुरा!
खाली पेट भर्न
अरुले फालेको आँपको जुठो कोया खाँदा
सुम्लै सुम्लाले जिउ भर्थेँ!
म दीन; कुन दिनमा जन्मिए?
त्यो त मलाई थाहा छैन
तर म जन्मेको दिन
पक्कै पनि
देशमा भोकमरी लागेको हुनुपर्छ
एसैले
अचेल म हरेक पल भोकमा मरिरहेको छु।
रहर त मेरा लागि
रहरको दालमा मुछेर
पेट भरी
तातो भात खने मात्र छ!
जब छाडा छोडिएको गाई
मेरो छेउ आएर ह........बाँ.......
गर्छ,
म मेरो बा लाई सम्झिन्छु
जब
छाडा छोडिएको माउ बाख्रा म तिर हेर्दै म्या.......
गर्छ,
म मेरो माँ(आमा) लाई सम्झिन्छु।
तर
जब बा, माँ सङ आएको बच्चा
छाडा छोडिएको म! लाई देखाउदै भन्छ
उ हेर्नू त "खाते!"
मेरो परेलीले, आँसुलाई सम्झिन्छ।
इच्छा त मेरो केही ठूलो छैन
बस कसैले मलाई छ्या नभनुन
आफ्नो शरीर तिर हेर्दै
दिक्क मानेर
मलाई भन्नू छैन
"म खाते हुँ!"
बरु मीठो खाना तिर हेर्दै
मुसुक्क मुस्कुराउदै
मलाई भन्नू छ
" हाम खाते हैं!"