• रूपेन्द्र शेर्मा
    उर्लाबारी । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले आर्थिक क्रान्ति बिना परिवर्तित राजनीतिक व्यवस्था संस्थागत नहुने बताएका छन् । सहकारी अभियानबाट आर्थिक क्रान्ति सम्भव हुने र त्यसपछि मात्र परिवर्तित राजनीतिक अवस्था संस्थागत हुने उनले बताए ।

    सुदर्शन बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको आठौं साधारणसभालाई शनिबार सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । सहकारी अभियानका कारण विश्वका थुप्रै मुलुक समृद्धशाली बनेको उल्लेख गर्दै पोखरेलले नेपालमा पनि सहकारी अभियान सफल हुँदै गएको दाबी गरे । केही समय अघि दक्षीण कोरियामा भएको सहकारी विद्वानहरुको अन्तर्राष्ट्रिय भेलामा सहकारी अभियान आर्थिक परिवर्तनको मेरुदण्ड भएको स्वीकार गरिएको कुरा उनले सुनाए ।
    पोखरेलले सहकारी अभियानलाई सार्थक बनाउन शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । शेयर सदस्यको व्यावसायिकताले मात्रै आर्थिक समृद्धिको यात्रा सफल हुने उनको भनाई थियो । सहकारीको माध्यमबाट देशले समृद्धि हाँसिल गर्न सक्ने कुरालाई आत्मसात गर्दै सरकारले पनि तीन खम्बे अर्थ नीतिमा सहकारीलाई समावेश गरेकाले सोहीअनुरुप सहकारी संस्थाहरुले पनि काम गर्नुपर्ने उनको सुझाव छ ।


    सहकारी अभियानलाई अघि बढाउनका लागि सहकारी मैत्री ऐन जारी भएकाले सहकारीकर्मीहरुले निर्धक्कका साथ काम गर्न सक्ने उनको भनाई छ । सहकारीले कानुनी रुपमा सबै कारोवार गर्ने आधार बनीसकेको अवस्थामा सहकारी संस्थाहरुले शेयर सदस्यहरुको आर्थिक अवस्था उकास्ने गरी व्यावसायिकताको यात्रा तय गर्नुपर्ने उनले बताए । विपन्न मुलुकको आर्थिक विकासका लागि सहकारी अभियान नै प्रमुख विकल्प हुने उनको बुझाई छ ।


    जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले नेपालमा सहकारी अभियानले सफलताको ऊचाई प्राप्त गरेको ठोकुवा गरे । सहकारीमा आबद्ध भएका नागरिकहरुको आर्थिकस्तर उस्कँदै गएको उनको दाबी छ ।
    संस्थाका अध्यक्ष चिरीञ्जीवी भट्टराईको अध्यक्षतामा भएको सो सभामा उर्लाबारीका पत्रकार दुर्गा भट्टराई, केदार चौहान, जगन्नाथ भट्टराई, रूपेन्द्र शेर्मा, मिलन राउत, नवराज भट्टराई, भानु गिरी र सुमन घिमिरेलाई ढाकाको टोपी लगाएर सम्मान गरिएको थियो । सभामा उत्कृष्ठ कारोबार गर्ने दर्जनौ शेयर उत्कृष्ठ बाल शैक्षिक बचतकर्ताहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…