चितवन । आफूलाई जन्म दिने आमाले नै आफ्नै छोरीलाई बेवास्ता गर्छिन् भने ती आमा कस्ती होलिन्, अनि ९-९ महिनासम्म गर्भमा राखेर हुर्काउने आमाको माया कुन चाहिँ छोरा छोरीलाई हुँदैन होला ?
आमाबाबुको माया पाउने उमेरमा चितवनकी एक नाबालिक तीन महिनादेखि आफ्नै घर छाड्न बाध्य भएकी छिन् । आफ्नै घर छाडेर तीन महिनादेखि छिमेकीको शरणमा आश्रय लिन बाध्य भएकी उनी हुन् रत्ननगर नगरपालिका ११, विश्वासटोलकी १२ वर्षीया शोभा नेपाली ।
उनको घरमा उनी सहित चार दाजु छन् । सोही ठाउँमा रहेको टिकौली मंगलपुरस्थित पञ्चतेज ज्योति आधारभूत विद्यालयमा अध्ययनरर्त शोभा अहिले कक्षा ५ मा पुगेकी छिन् । उनलाई सबै भन्दा बढी माया र हेरचाह उनका बाबूले गर्ने गरेको उनी सुनाउँछिन् ।
बिरामी हुँदा औषधि खुवाउनुहुन्थ्यो र हर - हमेशा हेरचाह गर्नुहुन्थ्यो । तर, अहिले बुबा हुनुहुन्न, आमाले हेला गर्नु हुन्छ । पहिल्यै बुबा हुनुहुन्थ्यो र पो माया पनि हुन्थ्यो , तर अहिले ठिक उल्टो भएको छ ।
उनी भन्छिन् : झन्डै डेढ वर्ष अघि उनलाई माया गर्ने बाबू गोरेबहादुर नेपालीको क्यान्सर रोग लागेर बितेपछि उनकी आमा मिश्रीमायाले उनलाई देख्नै सहिनँन् ।
दिनभर ज्याला मजदुरी गरेर पैसा कमाउने र कमाएको उक्त पैसाले खाली रक्सी मात्रै खाएर दिनहुँ कुट्ने र अपमानजनक तरिकाले दुब्यबहार गर्ने गरेपछि म घर छोडेर हिंड्न बाध्य भएँ । उनका अनुसार उनका बाबु गोेरेबहादुरले उनलाई निकै माया गर्थे ।
तर, अवस्था बिस्तारै त्यस्तो रहेन । र, अवस्था बदलिँयो । टुहुरो जस्तै भुमिका निर्वाह गर्न बाध्य भएकी शोभा झन्डै तीन महिनादेखि स्थानीय तुलीमाया गुरूङको घरमा आश्रय लिइरहेकी छिन् । उनी भन्छिन्, ‘सकेको काम सघाउँछु । भात पकाउँछु, सरसफाइ गर्छु ।
यता, उनका प्रधानाध्यापक रामबहादुर मगरले पनि शोभालाई घर फर्काउने प्रयास असफल भएको बताउँछन् । मगरका अनुसार ‘हामीले घर जानुपर्छ भन्ने हो ।
तर, सधैँ आमाले रक्सी खाएर कुटपिट गरेपछि डरत्रासका कारण बालिका नै फर्किन चाहेकी छैनन् । पारिवारिक वातावरण नै अशान्त भएपछि करकाप गर्न पनि सकिएन नि ।’
शोभाको परिवारको आर्थिक अवस्था निक्कै नाजुक छ । दस धुर ऐलानी जग्गा रहेको यो परिवारमा घर भन्नु एउटा छाप्रो छ । तीन छोराहरुले बिहे गरेर आआफ्नो सुरले जीविका चलाएका छन् । आमा मिश्रीमायालाई सम्झाइदिने, बुझाइदिने मानिस छैनन् ।
चेतना अभाव र रक्सीको कुलतका कारण उनले अबोध बालिकालाई घरमै बस्न नसक्ने अवस्था सिर्जना गरिन् । प्रअ मगर भन्छन्, ‘बालिकाको पढाइ राम्रो छ । अनुशासित छिन् ।
आमाले नै मायाममता दिनुपर्ने समयमा घर छोड्न बाध्य हुनु चिन्ताको विषय हो । हाम्रो विद्यालयमा होस्टल छैन । चाहेर पनि हामीले केही गर्न सकेनौँ । बालिकाको भविष्यका लागि रत्ननगर नगरपालिका र बालअधिकारसँग सरोकारवाला संस्थाले उद्धार गर्नुपर्छ ।’