• प्रा. डा. सुरेन्द्र केसीे ३ दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा आवद्ध रहे । २०५२ सालमा ‘नेपाली कम्युनिजम’ मा विद्यावारिधि परेका केसीले ५ दर्जनभन्दा बढी पुस्तक लेखन तथा सम्पादन गरिसकेका छन् ।

    पछिल्लो समय राजनीतिक विश्लेषकका रूपमा चर्चामा रहेका केसी समसामयिक घटनामाथी खरो टिप्पणी गर्ने व्यक्तिका रूपमा परिचित छन् । दुई वटा ठूला कम्युनिष्ट पार्टी एकताकोे एक वर्ष र केपी ओली नेतृत्वको सरकारको ७ महिनाको संकेतले आशावादी हुने ठाउँ नरहेको उनी बताउँछन् । उनै डा. केसीसँग समसामयिक राजनीतिक घटनाक्रम, पछिल्ला समय देशमा बढिरहेका आपराधिक घटना र सरकारका कामकारबाहीका बारेमा केन्द्रीत रहेर कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :

     

    दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी एकता भएको एक वर्ष पूरा भएको छ । नेपालको इतिहासकै बलियो कम्युनिस्ट पार्टीको एक वर्षलाई कसरी लिनुभएको छ ?

    मैले दुई पार्टीको एकतालाई अप्राकृतिक, अस्वाभाविक, हठात् भएको रहस्यात्मक एकता हो भनेको थिएँ । पहिलो, एकतै हुन सक्दैन । भइहाल्यो भने पनि त्यसले कुनै परिणाम दिँदैन, दिइहाल्यो भने पनि त्यो देश र जनताको पक्षमा हुँदैन । ती भित्रका टाठाबाठा, भाइभतिज, आफन्त, श्रीमान्, श्रीमतीलाई केही कुरा भए पनि बृहत्तर नेपाली जनताका पक्षमा केही हुँदैन भन्ने मेरो विश्लेषण थियो । अहिले मैले अनुमान गरेभन्दा पनि घिन लाग्ने गरी यो बाहिर आएको देख्छु । यो एकताको त्यस्तो अर्थ मैले केही पनि देखेको छैन ।

    नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सात महिना बितेको छ । सरकारको कामकारबाहीबाट नागरिकले सन्तुष्ट हुने, खुसी हुने अवस्था छ ?

    चुनावमा जे गर्छु भनेर मत मागेका हुन् त्यो विषय प्रवेश नै भएको देख्दिनँ । सरकारमा आएपछि उनीहरूले आफैं केही विषय उठान गरे । जस्तो, उनीहरूले सडकको खाल्डाखुल्डीको कुरा, समयमा काम नगर्ने ठेकेदार कारबाहीको कुरा, सिन्डिकेटको कुरा, सुनकाण्डको कुरा र एनजीओलाई पारदर्शी गर्ने कुरा उठाए । त्योचाहिँ गर्लान् कि भन्नेमा हामी निकै भ्रमित भयौं । वास्तविकताकै अधारमा यी कुरा उठाए होलान् भन्ने थियो । किनभने यिनीहरूले कम्युनिस्टको सरकार हो, वामपन्थीको सरकार हो, शक्तिशाली सरकार हो भनेका थिए । त्यसपछि हो कि त भन्ने लागेको थियो । गएको १० वर्षमा मात्र ३८ क्विन्टल सुन तस्करी भएको रहेछ । यत्रो कुरा त हामीलाई केही पनि थाहा थिएन ।

    सडकका खाल्डाखुल्डी र समयमा ठेक्का पूरा नगर्ने कुरा पनि यिनीहरूकै मान्छेले कब्जा गरेका कारण नभएको रहेछ । त्यो कुरा पनि थाहा थिएन । गृहमन्त्रीले भन्दै थिए कि भ्रष्टहरू, तस्कर, माफिया, राजस्वमारा, देशलाई उँभो लाग्न नदिनेहरूलाई कारबाही नगरी छोड्दिनँ । सानो माछामा अल्झिन्नँ, ठूलै माछा नसमाई छोड्दिनँ भन्थे । माओवादी, मगरका छोरा हो कि त भन्ने पनि लाग्यो हामीलाई । नेपाली जनताले उठाएका पनि होइनन् । उनीहरू आफैंले उठाएका कुरासमेत यिनीहरूले अवरुद्ध गरेर निष्कर्षहीन अवस्थामा ल्याएर छोडिदिए । प्रधानमन्त्री न्युयोर्कको सम्मेलनबाट फर्केर आउने क्रममा गरिबी सात महिनामा आ’को हो ? खाल्डाखुल्डी हामीले बना’को हो ? भनेर उफ्रँदै हुनुहुन्थ्यो ।

    यी केही दृष्टान्तलाई आधार मान्ने हो भने सरकारको सात महिनाको गतिविधि, अहिले भइरहेको अवस्था र भोलि आउन सक्ने अवस्थामा मैले आशा गर्ने ठाउँ देखेको छैन ।

    बलात्कारीलाई समेत कारबाहीको दायरामा ल्याउन सरकारले सकेको छैन । उल्टै बलात्कार प्रकरणलाई धोइपखाली गरेर अपराधी र अपराधको निशानालाई नै नामेट पार्ने कुरामा नेपाल प्रहरीजस्तो सरकारको औपचारिक संयन्त्र पनि लागिरहेको अवस्था छ । यो हेर्दा सरकारको सुरुवात हेर्दा ठीक छैन । हामी आलोचना गरिरहेका छौं । यसको अभिप्राय सरकार सच्चियोस् भन्ने नै हो ।

    तपार्इंले प्रस्तुत गरेका दृष्टान्त हेर्दा त कतै हामी असफल राष्ट्र बन्ने दिशातर्फ त गइरहेका छैनौं भन्ने पो देखिन्छ । अवस्था त्यस्तै हो वा तपाईं बढी नै भावनामा बगेर यी कुरा भनिरहनुभएको छ ?

    असफलताकै यो नमुना हो ।बिहानीले दिनको संकेत गर्छ भनिन्छ । अहिले जे भइरहेको छ यही बिहान हो भने त यसको दिन डरलाग्दो छ ।

    यो सरकार पाँच वर्ष पूरै जान्छ भन्ने पनि छैन । सायद अब नेपालको सार्वभौमिकतामाथि प्रहार हुने हो कि भन्ने देखिन्छ । राज्य टुक्र्याउँछु भन्दा पनि सरकारले केही गर्न सक्दैन । हरेक दिन बलात्कार, हत्याका घटना भइरहँदा राज्यको उपस्थिति देखिँदैन । नागरिकहरूको बीचमा विद्वेषको भावना रहनु र एक महिला सांसदको संसद्मा अभिव्यक्ति सुन्दै थिएँ, कसैले पनि यो संविधानलाई तराईमा लागू गर्न सक्दैन । त्यसो हो भने त असफल राज्यतिर गइहाल्यो नि त यो । तर, नेपाली जनता सद्भावमा बसेका, राज्यको नीति नियमप्रति आस्था भाव राख्ने भएका कारण कुटाकुट, अस्तव्यस्ततातिर गएको मनोविज्ञानजस्तो चाहिँ लाग्दैन । तर, अहिलेको रुझानचाहिँ एउटा विस्फोटक परिवेशतर्फ त जाँदैन भन्ने दोसाँधमा उभिएको कुरा भने पक्का हो ।

    सरकार अस्थिर भएका कारण देश विकास हुन सकेन भन्ने मत नेपालमा बलियो थियो । अहिले त्यस्तै, संसद्को अंकगणित हेर्दा बलियो सरकार नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको छ । स्थिर र बलियो सरकारसँगै आर्थिक विकासको गतिमा देश हिँड्ला भन्ने नागरिकको अपेक्षा कुन बाटोमा जाँदै गरेको देख्नुहुन्छ ?

    गणित निर्णायक हुँदैन । गणित एउटा तत्व मात्र हुन्छ । गणित आउनासाथ स्थायित्व र सुशासन अनि समृद्धि हुन्छ भन्ने कुरा होइन ।

    यिनीहरूले कस्ता मान्छेलाई मन्त्री बनाउँछन् । कस्तो भाषा बोल्छन् । त्यसमा पनि भर पर्छ । यो संसदीय शासन प्रणाली भनेको नैतिकवान्, शिक्षित र जवाफदेही मान्छेहरूले चलाउने प्रणाली हो । दक्षिण एसियाको यो भागमा चाहिँ शिक्षा, इमान्दारिता, निष्ठा, पारदर्शिता भन्ने कुरा प्राय: जनजीवनमा छैन । जस्तो, बाराक ओबामाको आम्दानी कति हो भन्ने कुरा म अहिले यहीँ भन्न सक्छु । ओबामाको आम्दानी वकिल मात्र हुँदा वार्षिक १८ लाख डलर थियो ।

    राष्ट्रपति हुँदा उनको आय घटेर १२ लाख डलर भयो । तपाईं भन्न सक्नुहुन्छ, अहिले प्रचण्डको आय कति छ ? केपी ओलीको आम्दानी कति छ ? अरू नेताहरू कसको आय कति छ भनेर हामी भन्न सक्छौं ? केही पनि भन्न सक्दैनौं । कोमल वली कसरी सांसद भइन्, हामी केही पनि भन्न सक्दैनौं । मोहनचन्द्र अधिकारी किन बाटोमा मागेर हिँडिरहेका छन्, केही भन्न सक्छौं हामी ? त्यसकारण अजवाफदेही र असंवेदनशील संस्कारमा जवाफदेही र संवेदनशील प्रणाली एकाकार हुनै सक्दैनथ्यो । तर, हामीले त्यो कुरामा बढी जोड दिएनौं ।

    शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा तत्कालीन सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्रीले त नेपालको अबको भविष्यको प्रधानमन्त्री आरजु देउवा हुन् सम्म पनि भने । कांग्रेसमा आरजु देउवाको के योगदान हो र उनको प्रधानमन्त्री हुने के ल्याकत हो ? यो खालको शासनशैली हाम्रो भएको हुनाले आजको अवस्था आइराखेको छ ।

    वर्तमान सरकार र प्रधानमन्त्रीलाई अहिलेसम्मकै शक्तिशाली भनेर भनिएको छ । के त्यो सामथ्र्यलाई पहिचान गर्न प्रधानमन्त्री केपी ओलीले नसक्नुभएकै हो ?

    केपी ओलीलाई शक्तिशाली प्रधानमन्त्री भनियो । देशमा हत्या, बलात्कार, अपराधका यति धेरै घटना भइराखेको छ । प्रधानमन्त्रीले त्यो शक्ति केमा देखाउनुभयो ?

    निर्मला बलात्कारपछि हत्याकाण्ड के भएको भनेर प्रहरी प्रमुखलाई सोध्न सक्नुभएन । पार्टीका आफ्नै नेताले संसद्मै प्रधानमन्त्री र सरकारविरुद्ध तथानाम बोले । यो के भनेको भनेर सोध्न सकेनन् । त्यसकारण यो सरकारलाई शक्तिशाली भन्नु, दुईतिहाइको भन्नु, केपी ओलीलाई शक्तिशाली प्रधानमन्त्री भन्नु भ्रामक कुरा हो । उनीजस्तो कमजोर प्रधानमन्त्री मैले देखेको छैन । उनको रिमोट प्रचण्डको हातमा छ । त्यहाँभित्र चार–पाँचवटा गुट मुख आँ गरेर बसिरहेका छन् । जसले ठुँग्यो भने पनि विष केपी ओलीलाई लाग्ने अवस्था छ । मैले त नेपालको पूरै इतिहासमा यतिको कमजोर र अस्थिर सरकार देखेकै छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…