जगन कार्की
सानो छंदा सबैलाई खुब रमाइलो हुन्छ दशैं । हिजो आज ति दिनहरु फ़र्किएर फेरी त्यस्तै रमाइलो भैदिए जीवन कति आनन्दित हुन्थ्यो भन्ने चाहना नहुने को होला र ?
म पनि केटाकेट़ी हुँदा दशैंमा बाल सखा झबिन र म मिलेर केही पैसा जम्मा गरी लंगुर बुर्जा किन्ने, खेल्ने खेलाउने गर्थ्यौं | पहिलो प्रयास एकदमै सानो लंगुर बुर्जा गोटी टोकरी थियो । पैसा थाप्ने बाल हामीले ठुलो कागज किनेर आफैं बनाएको अनि घर अगाडी चौकमा ससाना आफ्नै साथीहरु बीच खेलाएको खुब याद आउँछ । त्यो लंगुर बुर्जाको मालिक भएर खेलाउंदा अनि पैसा कमाएर बाडदा खुब ठुलो भएको भान हुने । सायद म ३-४ कक्षामा पढाइ गर्दाको कुरा हो ।
घरमा ममीले दाजुभाईलाई एकै रंगका नयाँ सर्ट अनि प्यान्ट किनेर ल्याइदिनु हुन्थ्यो अनि गाउँघरमा सबै दाजुभाई हुनेले प्राय एकै खालका लुगा रंग मिल्ने लगाएका हुन्थे । आजकाल बुज्छु सायद त्यो हाम्रो गरिबी बाबजुद परिवारले जोहो गरिदिएको लुगा थियो । त्यस्तै एकै खालका लुगा परिवारमा किनिदिनुको पछाडी समानताको लागि र दाजु-भाइमा झैँझगडा मनमुटाव नहोस भन्ने सांकेतिक प्रतिक मनोबैज्ञानिक कारण नजानिँदो पाराले हाम्रो समाजमा पहिले देखिनै चलनमा रहेको देखिन्छ | मैले पछि कलेज आएर मनोविज्ञान अनि समाजशास्त्र अध्ययन गर्दा पाएँ ।
छोरीहरुलाई मात्र दक्षिणा दिने चलन सानो हुन्जेल त , पाइन्थ्यो पैसा कमाउन भनेर टीको थाप्न भए भरका दाजुभाइकोमा पुगीन्थियो । मामली घरमा अलिक बढी दक्षिणा पाइने लोभले ममीसंग हिडेर पनि टाढाको बाटो जाने गरेको याद छ ।
त्यस पश्चात अलि हुर्किए पछि दशैंमा लिङ्गे पिङ्ग खेल्न हिडने , पटका पडकाउने , हाट-बजार जाने उमेर सुरु भयो,
मलाइ लाग्छ यो ५ देखि ७ कक्षा पढुन्जेलको कुरा २०४७-४८ साल ताकाको कुरा हो । सवारी साधन साइकल थियो
बर्खा सकिएको तर बाटो हिलो कादो नै हुने , पिचरोड बनेको थिएन त्यॊबेला घरघरमा साइकल हुन्थे। बिजुली बत्ति कहाँ हुनु धिप्री र लालटिन अनि राँकोमा चल्थ्यो रातको उज्यालो ।
८ कक्षा तिर पुगेपछि खुब तास जुवा खेलमा मान्छे हिडेको थाहा हुन थाल्यो । हाम्रो घर चोकमा भएकोले रात दिन २४ घण्टा तास खेल्नेको जमात हुन्थ्यो । मलाई त्यो देखेर बुवा , काका , गाउँ घरका बुढा पाका त्यसमा झुम्मिएको देखेर केटाकेटि देखिनै जुवा तास भनेपछि एलर्जी लागेर आउने ।
सामान्य खेल्न कोइकोइ बेला कोरम नपुग्दा साथीहरुले मलाइ पनि सिकाए । बाल सखा धनराज र म भेला भएर रातिको गुडगुडेमा खुब कुद्थ्यौ खै के को मजा हो खुब मजा आउने खेतका आली , खोल्सा खोला तरेर ओल्लो गाउँ पल्लो गाउँ पिङ्ग खेल्न , नाच हेर्न हिड्दा ।
त्यस बेला तास जुवाको बिकृति अत्ति बढेको थियो । धेरै मान्छेहरुले घर बार बिगारेको देखियो । त्यस्तै अर्को बिकृति थ्यो खोया बिर्केको । रक्सिका बोत्तलमा खोयाको बिर्को लगएको हुनाले स्थानिय ठीटाहरुले त्यसलाई खोया बिर्के ब्रान्ड दिएका थिए ।
हाम्रो गाउँघरमा मतुवाली परिवारमा घरघरमा जाडरक्सि बनाउने चलन छ । जसले गर्दा प्रसस्त जांड रक्सि पाइने अनि त्यसको नसामा परेर धेरैले घरबार बिगारेका छन् । दशैंको बेला रक्सि खाएर हुने झगडा ठुलो रुप सम्म लिने गरेको थियो । आजकाल लाग्छ रक्सि र तास हाम्रो गाउँको मनोरंजनको साधन त थियो तर त्यस बाहेक रचनात्मक काम अत्यन्त न्युन हुने हुनाले हावी चाड आउँदा कहाँ रक्सि र भाले खाने अनि कहाँ जुवा हान्ने नै बढी चर्चा हुने ।
बेला-बेला तास जुवा नखेली , चुरोट र रक्सिको गिलास नउठाई म ठुलो हुन्न , मेरो इज्जत हुन्न भन्ने बिचार ममा आउने अनि खेल्न मन लाग्ने हुन्थ्यो । कि जो जुवाडे, तासे , लफंगाहरु कि सामन्ती जमिन्दार , पन्चे नेताहरुको बहुत इज्जत दिने त्यो बेलाको समाज ।
पछी प्रजातंत्र पछि ठुटे नेता जसको सोर्स फोर्स उसको चल्ने भो ।
गरिव , साधारण गरिखानेलाइ नगन्ने चरित्र थियो समाजको ।
हिजो आज १० बर्षे जनयुद्धको लागि मैदान कोर्ने त्यो शैली र चरित्र छदै छ, प्रजातन्त्र पछि चलेको अर्को लुट तन्त्र उतिकै दोषी लाग्छ ।
हुनत अझै उस्तै छ पैसा हुने र शक्तिवालाहरुको बोलवाला छ । व्यवस्था धेरै फेरिए अवस्था उस्तै छ ।
उबेला टाढा देश भनेको भारत दिल्ली , सिक्किम ,आसाम कोइलाखात सम्म जाने चलन रहेको र काठमाडौँ तिर जागिरे पनि ठाँट काँट संग दशैंमा आउथे । बाँकी को पेसा खेतीपाती नै हुने गरेकोले जीवनशैलीमा एकरुपता थियो ।
एकातिर जुवा तास अर्का तिर गरिव हरुवा, चरुवाहरुको बिजोग । रोग ब्याधले दुख परेकाहरुलाई सहयोग गरेको अनि सबै मिलेर दुखि हेरेको कम नै सुन्न, देख्न पाइने समाजको चरित्र नितान्त फरक लाग्ने मलाइ उबेला ।
कतिपय गरिवहरु बर्षौ सम्म रोग लागेर थलिएर मृत्युबरण गरेको देख्नु पर्थ्यो । हाम्रो घर अलि पर एकजना धिमाल दाइ अनि केहि सतार दाजुभाई , कतिपय दलित गरिव परिवारमा त्यस्तो भएको आँखाले देखेको छु ।
आजकल सम्झना गर्दा पनि मन दुख्ने । सायद सबैको गरिवी थियो कि मानवीय पन अलि कम थियो हामीमा । उबेला मिडिया एफएम रेडियो , पत्रिका परका बिसय थिए सायद धेरै कुराको कम्जोरीले हुनु पर्छ । आजकाल साना तिना समस्यामा पनि सबै जुट्ने सामुहिक रुपमा सहयोग गर्ने पाएको छु ।
दशैंका आयामहरु :
धार्मिक /साँस्कृतिक
दशैं पर्व हिन्दुहरुले मनाउनुमा बिबिध पौराणिक पक्ष लाइ जोडेर रामको बिजय , देवीको राक्षसहरुसंगको बिजयको कथालाई हेरेर मनाउने गरेको पाइन्छ । धर्म कर्ममा बिस्वासगर्नेहरु नौरथा लागेदेखि नै आराधना गर्ने त्यो भन्दा अघि सोर श्राद्ध बिबिध कर्ममा तल्लिन रहेर शक्ति साधना, संचय र बिजयको रुपमा लिने गरेको देखिन्छ । यसले कुनै एइतिहसिक कालखण्डमा भएको युद्ध पश्चात बिजय उत्सवको झल्को दिने गर्छ । दशैंमा प्रदर्शन हुने कला संस्कृतिले यसलाई प्रबर्धन गर्न मद्दत गरेको देखिन्छ ।
आर्थिक
दशैँको समय ठुलो किनमेल हुने सबैले रमाइलो गर्न , लगाउन , खान आवस्यकता संगै बजारमा भिडभाड बढ्नाले आर्थिक कारोबारलाइ चलायमान राख्ने गरेको पाइन्छ ।
दशैं लक्षित बजार उत्पादनले आफ्नै स्थान र महत्व लिएका छन् ।
राजनीतिक
पछिल्ला दिनहरुमा दशैंका चियापान , कार्यक्रमहरु दशैं लक्षित घरदैलोले खुब बजार लिएको छ भने जनचेतना र बिकृति सुधारका काम न्युन पाइन्छ ।
बैज्ञानिक
बर्खाभरि कम प्रोटिन र शक्ति दिने खानेकुरा खाएर घोटीएको किसानहरुको ज्यानलाइ अन्न अनि प्रसस्त मासु द्वारा प्रोटिनको लागि यो पर्वले भूमिका खेलेको देखिन्छ । घरघरमा खसी काट्ने अनि मनले मागे जति मासु खाने चलन वर्षभरिमा यो पर्वमा गर्ने चलन रहेकोबाट देखिन्छ । धेरैलाई लुगा फेर्न पनि कम्तिमा दशैं कुर्नु पर्ने अवस्था थियो ।
पारिवारिक /सामाजिक
टाढाको परिवारको सदस्य भेटघाटमा कम्तिमा वर्षमा एकपटक आउने चलनले परिवार सदस्यहरुबीच सामिप्यता बढाएको थियो । अझै पनि गाउँ घरतिर यो चलन जिवन्त रहेपनि मानिहरुमा बढी आफ्नै काम र बन्धनहरुले त्यस्तो चलन घटेको पाइञ्छ । मैले आँफै परिवारमा आमा बुवा संग दशैंको टिका नलगाएको धेरै वर्ष भो । इच्छा भएपनि काम बिबिध बन्धन र दाइत्वले विदेश बसेर वा टाढा भएर पनि दशैंमा घर जान नपाउने हरु धेरै छन् । पहिले जसरि पनि जानु पर्छ भन्ने मान्यता थियो अहिले घट्दो छ ।
मुलुकमा २०४६ देखिको तिब्र परिबर्तन अनि माओबादी जनआन्दोलनले धेरै परिबर्तन ल्याएकोछ चाड वादको शैलीमा ।
हुनत जनजाति आन्दोलन अनि जबर्जस्ति मनाउनु पर्ने शासकहरुको उर्दीलाइ चिर्दै समाज गणतन्त्र सम्म आइपुगेको अवस्था छ ।
प्रबिधि , संचार अनि बिकासले गाउँ हरु धेरै सहर बजारको सेवा उपभोग गर्ने प्राय परिवारको १ सदस्य विदेश पुगेको हुने अनि तिनीहरुले प्रसार गर्ने संस्क्रितिक सामाजिक अनुभितीहरुले धेरै परिबर्तन आएको छ ।
अब सक्ने मिल्नेहरु विदेशबाट दशैंमा घर जाने नमिल्नेहरु फोन , मिले सम्म भिडियो च्याटबाट दशैं मान्ने भइसकेका छन् ।
नयाँ पुस्तामा यसको महत्व घटेर गएको पाइन्छ ।
जसको कारण हुनसक्छ संस्क्रितिक क्षयीकरण चाडबाड जांड, मासु र टिका मात्र भन्ने संदेश जानु । पुराना पुस्ताले यसको महत्व र उपादेयतालाइ बैज्ञानिक ढंगले परिमार्जन गर्न नसक्नु बिबिध लाग्छन ।
हाम्रा धर्म संकृति , चाड बाड भन्दा क्रिसमस अनि पस्चात्य संस्कृति हावी हुनु हामी प्रतिको संस्कृतिक आक्रमण झैँ लाग्छ ।
हामी भन्दा नेपाली हौँ भन्ने अनि चिनारी पस्चात्य संस्कारबाट कसरि होला ?
परम्परा , संस्कृति संस्कारलाइ जगेर्ना गर्न गलत अभ्यासहरुलाई चिर्दै जस्तै : बलि प्रथा ,चामलका टिका इत्यादीलाइ परिमार्जन गरेर सद्भाव र मानव कल्याणको उत्सवको रुपमा बिबिध रचनात्मक आयामहरु जोडेर यसलाई मनाइनु पर्छ भन्ने मलाइ लाग्छ ।
बलिको सट्टा बधसाला अनि चामलको सट्टा रंग प्रयोग गर्ने , सक्नेले नसक्नेलाइ मद्दत गर्ने गरिवलाइ पर्व मनाउन सरकार र सबैले सहयोग गर्ने । अझ सबै धर्मको साझा बनाउन आआफ्नै रित अनुसार मनाउने चलनले यसको महत्व बढ्ने देखिन्छ ।
पछिल्ला दिनहरुमा जनजाति समूहहरुले सेतो टिका लगाउने , कसैले बलि नदिने कसैले प्रतीकात्मक बलि , कसैले मानव कल्याणका काम गर्ने बिबिध रुपबाट गर्ने गरेको पाइएको छ जुन सकारात्मक पाटा हुन् ।
अन्य धर्म मान्नेहरुले टिको र बिधि नगरी खाने पिउने गरेको पाइन्छ ।
केहि जातिय अतिबादीहरु नेपालका छिमेकि, सबैदाजुभाईले मनाउने दशैं मनाउदा जात जाने धाराणा लिने पनि भेटिएका छन् ।
उसो त तिनै ब्यक्ती क्रिस्चियन धर्मको चर्चमा ससम्मान जाने , मुस्लिमको इदमा शुभकामना दिने मनाउने र हिन्दुलाइ सराप्ने छन् ।
कस्तो बिडम्बना र दुखको कुरा एउटा गोरेलाइ
दशैंमा हिन्दुले झैँ गरेर टिकालगाउँदा , मन्दिर जाँदा उसको जात जादैन , हिन्दुहरुपनि इद, क्रिसमस अन्य पर्व धार्मिकरुपले नमाने पनि खाने र सामाजिक रुपले सम्मान गर्ने मनाउने ग्लोबल नागरिकको चलन सुरु भएको छ । बिगतमा हिन्दु राजा र राज्यले गरेको अनि धर्मको नाममा भएको विभेदलाइ लिएर नयाँ पुस्ता संग बदलालिनु पनि न्यायोचित छैन । बेलायतमा संसद बैठकको सुरुवात क्रिस्चियन पुजाबाट सुरु हुने र अन्त्य हुने परम्परा पक्कै धार्मिक मात्र हैन यो परम्पराको इज्जत र सम्मान हो ।
अमेरिका , बेलायत अस्ट्रेलियामा क्रिसमसमा मात्र बिदा हुन्छ अरु धर्म मान्नेलाइ आस्था अनुरुप होलिडे दिने चलन छ त्यस्ता देशमा बसेर , पढेर , घुमेर नेपालमा ८० प्रतिसत हिन्दु रहेको देशको दशैंको बिरोध गर्ने केहि जातीय नेताहरुले पनि सोच्नुपर्ने देखिन्छ भने बाहुन बादको कर्मकाण्डी छुत्, अछुत, पवित्र अपवित्र घेराबाट माथि उठेर सबैले एक अर्काको अस्थित्व स्वीकार्ने बाताबरण सिर्जना गर्ने र हृदय देखिनै ग्रहण गर्ने जिम्मा भने हिन्दुबादको मसिहा ठान्ने पण्डितहरुकै हो ।
अतिबादी कुरा नगर्ने अहिंसाको सिद्धान्त बोकेको संसारकै पुरानो सभ्यता बोकेको , धार्मिक सहिनुता बोकेको यो धर्मका केहि फटाहा पन्डितको गलत ब्याख्याको पछि लागेर हेला गर्नुहुन्न । सबै धर्मका , जातका अतिबादीहरु उस्तै हुन् तिनलाई ठीक ठाउँमा आउन बाताबरण सिर्जना गर्ने मध्यमार्गी मानव सभ्यताका महान विचारक बुद्ध जन्मिएको देशमा हामी सबैले सहिस्नुता कायम गरेर नेपाललाइ बिश्वको नमुना शान्ति क्षेत्र बनाउन लागौं ।
परदेश सम्म फैलिएको निर्यातित दशैं
हिजोआज नेपालीहरु स्थाई रुपमा विदेशिने चलन खुब बढेको छ तिनको बसाइ सराइ संगै देश , परम्परा र भेसपनि संगसंगै विदेश सम्म पुग्ने गरेको छ । बेलायतमा आप्रवासमा बस्ने करिब २ लाख नेपाली मध्ये धेरैले यो चाड मनाउने चलन छ । क्यानाडा अमेरिका , अस्ट्रेलिया देखि अरब र मलेसियामा सबैले आफ्नै किसिमले मनाएको फोटो अनि आफ्नै कथा व्यथा सामाजिक संजालमा पढ्न देख्न पाइन्छ ।
आफ्नै देशको संस्कृति भएकोलेपनि फरक धर्म मान्नेहरु भएपनि नेपालिहरुले आदरपुर्बक हेर्ने गरेको पाइन्छ । विभिन्न संस्थाको पहलमा सामुहिक दशैं देखि अञ्चल ,जिल्ला वासी भेटेर होस् वा सम्बन्धित दुतावसमा भेला भएर दशैं मनाउने प्रचलन बढेको छ । व्यस्तताका बाबाजुध परदेशीलाइ घरदेशको सम्झना ,मायाँ र यादले चाडबाडमा अत्ति नै न्यास्रो लाग्ने गर्दो रहेछ । बालख हुँदा जहाँ दशैं तिहार मनाएको छ त्यस ठाउँ अनि साथिहरुको खुब याद आउँदो रहेछ ।
समग्रमा दशैंको मजा उमेर , स्थान र व्यक्तिको अवस्थाले निर्क्योल गर्ने रहेछ ।
चाडबाडमा भित्रीएको विकृती विसंगतिले गर्दा चाडबाडको परिभासा नै बदलिदो लाग्दै गएको पाइन्छ ।
हामीले जस्तो सामाजिक, राजनीतिक र संस्कृतिक व्यवस्थाको स्विकृती दियौँ त्यस्तै व्यवस्थाले समाजमा जरा गाड्नेछ |
चाडबाड मनाउने परम्परा अनि रमाइलोलाई पनि रचनात्मक बनाउन सम्पूर्ण नेपाली दिदिबहिनि दाजुभाईहरुलाई दुर्गा भवानीको आशिस लागोस । शुभ दशैँ।
( सोमबारे, कार्कीचोक निवासी कार्की बिगत १० बर्ष देखि बेलायत बस्दै आएका छन् )