• दशैं मनाउनका लागि साढे २१ लाख नागरिकले उपत्यका छोडिसकेका छन् । विदेशमा रहेकाहरु पनि दशैं मनाउनका लागि घर आइपुगेका छन् । कोही आउनेक्रममै छन् ।

    सबैले अहिले आफ्नो व्यस्त समयलाई विश्राम दिंदै दशैंको रमाइलोमा छन् । सँधै कार्यकता भेटघाट, मिटिङ, विकास निर्माणका कुरा, राजनीतिका कुरा, जनताको गुनासो सुनुवाइलगायतको धपेडीमा रहने नेताहरु पनि अहिले फूर्सदिला देखिन थालेका छन् ।

    सार्वजनिक जीवन बिताउनेहरुको दशैं सबैको चासोमा हुने गर्छ । कुन कलाकारले, कुन डाक्टरले, कुन बैंकर्सले अनि कुन नेताहरुले दशैं कहाँ र कसरी मनाउँदैछन् भन्ने कुरा सबैको चासोमा पर्ने गर्छ ।

    दशैंले सर्वसाधारण त उत्साही छन् नै, नेताहरू समेत दशैंको तयारीमा छन् । नेकपाका नेता तथा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू कोही राजधानीमा नै दशैं मान्ने तयारीमा छन् त कोही राजधानी बाहिर आफ्नै गृह जिल्ला पुगेर दशैं मान्न तयारीमा छन् । उनीहरू आफन्त, शुभेच्छुक तथा कार्यकर्ताका साथ दशैं मनाउने तयारीमा छन् ।

    कुन नेताको दशैं कहाँ 

    १) केपी शर्मा ओली–प्रधानमन्त्री
    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली यस पटक काठमाडौंमै दशैं मान्ने तयारीमा छन् । अघिल्ला दशैंमा केही दिन गृह जिल्ला झापा र केही दिन काठमाडौंमा बिताउने गरेका ओली यस पटक नवमीका दिन मात्र झापा रहने भएका छन् ।

    बाँकी समय काठमाडौंमै रहने योजना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिएका छन् ।

    टीकाको दिन प्रधानमन्त्री ओलीले बालुवाटारमै आफ्ना बुबाको हातबाट टीका लगाउने छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमै नेता तथा कार्यकर्ताहरूसँग दशैंको शुभकामना साट्ने कार्यक्रम समेत छ ।

    २) पुष्पकमल दाहाल ‘प्रचण्ड’–अध्यक्ष, नेकपा
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले यो वर्षको दशैंमा राजधानीमै मनाउने भएका छन् । एक मात्र छोरा प्रकाश दाहालको शोकका कारण उनले दशैंमा टीका लगाउने छैनन् । उनी पार्टीको तल्ला कमिटी एकीकरणको मोडालिटी तय गर्न दशैंको फूर्सदलो समयलाई उपयोग गर्ने तयारी रहेको जनाइएको छ ।

    टीका नलगाए पनि आफन्त, शुभेच्छुक र कार्यकर्तासँग भेटघाट गरेर खुमलटारस्थित निवासमा नै उनले दशैं मनाउने तयारी गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

    ३) शेरबहादुर देउवा– सभापति, नेपाली कांग्रेस
    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो पटकको दशैं काठमाडौंमै मनाउने भएका छन् । देउवाले बूढानीलकण्ठस्थित निवासमै दशैं मनाउने तय भएको उनका सहयोगी भानु देउवाले जानकारी दिएका छन् । उनले निवासमै आफन्त, शुभेच्छुक र कार्यकर्तासँग भेटघाट समेत गर्ने जनाइएको छ ।

    ४) माधव नेपाल–वरिष्ठ नेता, नेकपा
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको दशैं पनि राजधानी हुने भएको छ । उनी योपल्ट गृह जिल्ला रौतहट नजाने भएका छन् । उनी यस पटकको दशैंमा राजधानीमा नै रहने र आफन्तसहित कार्यकर्ताहरूसँगको भेटघाटमा नै दशैं मान्ने तय भएको हो ।

    ५) झलनाथ खनाल नेता, नेकपा
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको दशैं पनि काठमाडौंमै बित्ने भएको छ । उनी योपल्ट गृह जिल्ला इलाम नजाने भएका छन् ।


    ६) रामचन्द्र पौडेल–वरिष्ठ नेता, कांग्रेस
    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको दशैं यस वर्ष धार्मिक भ्रमणमा बित्ने भएको छ । उनी परिवारसहित भारतको धार्मिकस्थल बद्री केदार दर्शनका लागि ३० असोजमा भारत जाँदैछन् । करीब एक साता उनी भारतीय तीर्थस्थलको भ्रमणमा रहने छन् ।

    ७) विमलेन्द्र निधि–उपसभापति, कांग्रेस
    कांग्रेस उपसभापति विमलेन्द्र निधिले यस वर्ष दशैं काठमाडौंमा नै मान्ने भएका छन् । यसबीचमा उनी गृह जिल्लामा हुने केही शुभकामना आदान प्रदानसहित कार्यकर्ता भेटघाटका कार्यक्रममा सहभागी हुन धनुषा जान सक्ने जनाइएको छ ।

    ८) डा. सशांक कोइराला–महामन्त्री, कांग्रेस
    कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले यस पटकको दशैं काठमाडौंमै बिताउने योजना बनाएका छन् ।

    आफ्नो निर्वाचन क्षेत्र नवलपरासीसहित राजधानी र अन्य जिल्लामा भइरहेको शुभकामना आदानप्रदान कार्यक्रममा रहेका उनले दसैंको टीका सुकेधारामा रहेका दाजु प्रकाश कोइरालाको हातबाट टीका थाप्ने जनाइएको छ ।

    यस्तै उनी बौद्धमा रहेका आफन्त ज्योति कोइरालाकहाँ टीका थाप्न जानेछन् भने टीकाकै दिन उनले सुजाता कोइरालाको निवासमा पुगेर टीका थाप्नेछन् । टीकाको भोलि र पर्सिपल्ट भने कोइरालाले टोखास्थित आफ्नै निवासमा आउने नेता कार्यकर्तासँग टीका लगाउने छन् ।

    ९) डा. शेखर कोइराला–नेता, कांग्रेस
    अघिल्लो वर्ष दशैं मान्न नपाएका डा. शेखर कोइराला गृह जिल्ला मोरङमा नै दशैं मनाउन जाने तयारीमा छन् । राजधानीसहित विभिन्न स्थानमा भएका दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भइरहेका कोइरालाले गृह जिल्लामै दशैं मान्ने भएका हुन् ।

    उनले विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवासमा दशैं मान्ने छन् । दाइ निरञ्जन कोइरालासहित सपरिवारको दसैं सोही स्थानमा हुने उनका सहयोगी दिनेश थपलियाले जानकारी दिएका छन् ।

    १०) पम्फा भुसाल–नेतृ नेकपा
    नेकपा नेतृ पम्फा भुसाल समेत राजधानीमा नै दशैं मान्दै छिन् । उनले आफ्नी आमाको हातबाट टीका थाप्ने कार्यक्रम रहेको राजधानीलाई जानकारी दिइन् ।

    ११) अर्जुननरसिंह केसी,नेता, कांग्रेस
    नेता अर्जुननरसिंह केसीले यस वर्षको दशैं मान्दैनन् । भाइ बुहारीको हृदयघातका कारण परिवारमा परेको शोकका कारण उनको परिवारमा यसपटक दशैंको उल्लास हुने छैन ।

    १२) डा. बाबुराम भट्टराई–संयोजक नयाँ शक्ति नेपाल
    डा. बाबुराम भट्टराईको दशैं पनि योपल्ट काठमाडौंमै बित्ने भएको छ । उनी यो दशैंमा गृह जिल्ला गोरखा नजाने भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…