• काठमाडौं –प्रहरीमा उजुरी छ । पीडितहरु न्यायका लागि भौतारिइरहेका छन् । उनीहरुको एउटै गुनासो छ, ‘त्यो ठग कहिले समातिन्छ ?’






    महँगो कारमा चढ्ने । चस्मा ढल्काएर रवाफका साथ हिँड्ने । लाखको हैन, करोडकै कुरा गर्ने । दोलखा पवटी–३ का जग्गा कारोबारी दिनेश कोइराला झट्ट हेर्दा चलचित्रको नायकभन्दा कम देखिन्नन् । तर, हिरोजस्तै लाग्ने यिनै दिनेश चर्चित भारतीय ठग ‘नटवरलाल’लाई माथ गर्ने हैसियतका छन् ।

    एक जनासँग होइन, दुईजना पनि होइन, दर्जनौंलाई ठगेका दिनेशबिरुद्ध पीडितहरु जुर्मराए पनि प्रहरी प्रशासनले ठगलाई पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै प्रहरीमाथि नै शंकाको नजरले हेर्न थालेका छन् ।
    विष्णुको बिलौना
    उर्लाबारी–८, मोरङ दुर्गापुरीका विष्णुबहादुर धिमाललाई घर निर्माणका लागि तीन लाख रुपैयाँको खाँचो थियो । ऋण लिनका लागि साहु खोज्दै जाँदा भाइ नाता पर्ने रामप्रसाद धिमालले उनको चिनजान दिनेश कोइरालासँग गराइदिए ।

    ३ लाख रुपैयाँका लागि विष्णुले आफ्नो नाममा भएको एक बिगाहा आठ कठ्ठा जग्गा दिनेशको नाममा पास गराइदिए । १५ भदौ ०७३ मा मालपोत कार्यालयमा यस्तो कागज बनाइयो कि ‘बिष्णुले दुइ वर्षसम्म ऋण फिर्ता नगरे जग्गा स्वतः दिनेशको नाममा हुने ।’



    विष्णुलाई सो कागजमा हस्ताक्षर गराई लालपुर्जा लिएर हिँडेका दिनेश त्यसपछि लापत्ता भए । विष्णु भन्छन्, ‘ऋण तिर्न भनेर दिनेशलाई धेरै खोजेँ, तर उनी सम्पर्कमै आएनन् ।’

    आखिर दुई वर्षपछि कागजी रुपमा विष्णुको जग्गा सबै दिनेशको नाममा भयो । प्रचलित बजार भाउ अनुसार त्यो जग्गाको मूल्य अहिले ३ करोड ६० लाख पर्ने विष्णुको दाबी छ । ‘तीन लाखमै उसले मेरो त्यत्रो सम्पत्ति हडप्यो, अहिले म आफ्नै घरमा सुकुम्बासी सरह भएको छु’, विष्णुले गहभरी आँसु पार्दै भने ।

    यसैगरी दिनेशले ५ माघ, २०७१ मा दिपा धिमाल र २ भदौ, ०७३ मा रिता मगरको जग्गा पनि यस्तै तरिकाले ठगी गरेका रहेछन् ।

    ‘आमा’लाई पनि ठगेछन् 
    इटहरी–४ की लक्ष्मी भट्टराईलाई त दिनेशले ‘आमा’कै साइनो दिएर ठगेका रहेछन् । ७ छोरी र २ छोराकी आमा लक्ष्मीलाई ‘म हजुरको माइलो छोरा हुँ’ भन्दै निकै श्रद्धा गर्थे र बेला बेलामा कोशेली पनि ल्याइदिन्थे ।

    लक्ष्मीले घर बेचेर राखेको ५० लाख रुपैयाँ रहेछ । त्यो सुईको पाएपछि महँगो ब्याज दिने भन्दै पाँच महिनाका लागि ५० लाख रुपैयाँ लक्ष्मीबाट फुत्काउन सफल भएछन्, चतुर दिनेश ।
    पाँच वर्ष बितिसक्दा पनि दिनेशको अत्तोपत्तो भएन । ‘घर बनाइदिन्छु, तपाइको पैसालाई दोब्बर बनाइदिन्छु भन्थ्यो, मोरो त नाकमुखै देखाउन छाडेर अलप पो’, लक्ष्मीले भनिन्, ‘मलाई घरको न घाटको बनायो ।’

    विचरी वृद्ध लक्ष्मी यतिबेला आर्थिक अभावले छटपटाइ रहेकी छन् । उनको एउटा गोडा भाँचिएको छ, तर उपचारका लागि उनीसँग पैसा छैन । घरमा सोही रकमलाई लिएर आफन्तको गनगन सुन्न नसकेपछि बाध्य भएर सातदोबाटोस्थित छोरीको घरमा आश्रय लिइरहेकी छिन्, लक्ष्मी ।

    पलभरमै गुम्यो १७ वर्षको कमाई
    सुनसरीकी निर्मला गुरुङको कथा सुन्दा जोसुकै भावुक हुन्छ । निर्मलाले १७ वर्षसम्म वैदेशिक रोजगारीबाट कमाएको रकम दिनेशले पलभरमै ठगीदिए ।



    विदेशबाट कमाएको रकमबाट उनले एक तले घर बनाएकी थिइन् । एक दिन दिनेशले आएर उनलाई भनेछन्, ‘मलाई अहिले केही रकम ऋण दिनुस्, पछि म यो घरमा तला थप्ने पैसा दिउँला ।’

    आफ्नो घर दुईतलाको होस् भन्ने चाहना कसको नहोला र ? अनि त चार आनामा बनेको सोही एक तले घर बैँकमा धितो राखेर निर्मलाले दिनेशलाई ऋण दिइछन् । तर, लामो समयसम्म पनि दिनेशले ऋण नतिरेपछि उनले उर्लाबारी र इटहरी प्रहरी कार्यालयमा ठगीको उजुरी दिइन् । तर,  प्रहरीले कुनै चासो दिएन । बरु दिनेशले गुण्डा ल्याएर आफूलाई धम्क्याउने र घर छाड्ने दबाव दिदै आएको निर्मलाले रातोपाटीलाई बताइन् ।

    काठमाडौंमा आफ्नो नाममा रहेको घडेरी एक बित्तीय संस्थामा धितो राखेर निर्मलाले आफ्नो घर त उकासिन् । तर, अहिले ऋण तिर्न नसकी दुबै सम्पत्ति डुब्ने अवस्थामा पुगेकी छिन् निर्मला ।

    ‘दोब्बर बनाइदिन्छु’ भन्दै ठग्दै  
    दोलखाका दिनेश कोइराला व्यावसायका सिलसिलामा करिब पाँच वर्षअघि मोरङ पुगेका थिए ।  त्यहाँ उनले बृहत कृषि फार्म स्थापना गर्ने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउन थाले । उनले ‘एकको दुई’ अर्थात जति लगानी ग¥यो त्यसको ठीक दोब्बर फाइदा हुने भन्दै झुक्याएर सबैसँग रकम उठाएको मानेपोखरी मोरङका पीडित उमेश घलेले बताए ।

    दिनेशले आफ्नो डेढ करोड रुपैयाँ पच पारेपछि उमेश न्यायका लागि काठमाडौं आएका छन् ।  ‘ठूलो कृषि फार्म खोल्ने, जग्गा प्लटीङ गर्ने, ब्याज धेरै कमाउने भन्दै पैसा लियो, मेरो त घर र जग्गा दुबै डुब्यो’, घलेले भने, ‘हिसाबै गर्ने हो भने त्यो डेढ करोडको ब्याज मात्रै अहिले एक करोड ९० लाख भइसकेको छ ।’

    दिनेशले झापाको दमकस्थित तारबारीमा रहेको कृषि फार्ममा साझेदार बनाउने भन्दै इटहरी –८ कै यशोदा भट्टराईसँग ३० लाख र उनकी आमासँग ५० लाख रुपैयाँ लिएका रहेछन् । तर उनले यी आमा छोरीलाई न त साझेदार बनाए, न उनीहरुको रकम फिर्ता गरे ।

    ‘पैसा फिर्ता पाउनुप¥यो भनेर धेरै कराएपछि बैंकको चेक काटेर दिएका थिए, तर ती दुबै चेकमा पैसा रहेनछ’, यशोदाले भनिन् ।

    यसैगरी मोरङ कानपोखरी–५ का उमेश गुरुङसँग पनि दिनेशले जग्गा कारोबारमा साझेदार बनाइदिने प्रलोभन देखाई १ करोड ५० लाख रुपैयाँ लिए । उमेशलाई पनि दिनेशले न त साझेदार बनाए, न रकम फिर्ता गरे ।

    ठगिने धेरै हुनसक्छन्
    यसैगरी दिनेशले मोरङ, उर्लाबारी अमरदह राजघाटका कृष्ण धिमालको डेढ करोड, मोरङ, उर्लाबारी, राजघाट–९ का शिवलाल पुरीको ९९ लाख, इटहरी–४ सुनसरीका चेतराज भट्टराईको ५ लाख, दुर्गापुरी राजघाट –८ उर्लाबारी मोरङका रिता मगरको २ करोड, दिपा धिमालको २ करोड र दुर्गा धिमालको ४० लाख, सिजुवा–२ मोरङका निर्मल खडकाको १ करोड ५० लाख, झापाका सोले धिमालको ५० लाख, इटहरी–४ का भवनाथ भट्टको १५ लाख र रतुमाई नगरपालिका मोरङका निर्मल खड्काको १ करोड ३९ लाखसमेत ठगेको पीडितहरुले बताएका छन् ।
    पीडितकाअनुसार दिनेशबाट ठगिने अझै धेरै हुनसक्छन्, जो डर त्रासका कारण मौन छन् ।

    उजुरीकर्ता नै हतोत्साहित
    दिनेशको ठगीमा परेका इटहरी–५, सुनसरीका सहदेव गुरुङले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिनेशविरुद्ध उजुरी दर्ता गरेका छन् । तर दिनेशलाई पक्राउ गर्न प्रहरीले कुनै तदारुकता नदेखाएको सहदेवको गुनासो छ ।

    सहदेवले दिनेशबाट २० लाख रुपैयाँ ऋण लिएका थिए । ५० लाख पर्ने आफ्नो घर दिनेशको नाममा पास गराइदिएका थिए । लाजपुर्जा लिएपछि दिनेशको नाकमुखै देखिएन । ऋण तिर्न खोज्दा पनि दिनेश बेपत्ता भएपछि अन्ततः सहदेवको सम्पत्ति दिनेशकै नाममा भयो । न्यायको खोजीमा काठमाडौं आएका सहदेवले भने, ‘म त अहिले आफ्नै घरमा सुकुम्बासी बनेको छु ।’

    सहदेवले आफ्ना मित इटहरी–८ का तीर्थराज रेग्मीमार्फत दिनेशलाई चिनेका थिए । यतिबेला दिनेशको कर्तुतकै कारण तीर्थ पनि तनाबमा छन् । आफन्तलाई न्याय दिलाउन भिडिरहेका तीर्थलाई समेत दिनेशले धम्क्याउने र अनेक आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको तीर्थ बताउँछन् ।

    कहाँसम्म भने ठगीमा परेकालाई न्याय दिलाउन लागिपरेका तीर्थमाथि नै पीडित विष्णु धिमालको ‘अपहरण गरेको’ आरोप लगाइयो । तर घटनाले त्यतिबेला नयाँ मोड लियो जतिबेला अपहरणकारी र अपहरित भनी ठग दिनेशले हौवा चलाइएका तीर्थ रेग्मी र विष्णु धिमाल दुबै एकैसाथ प्रहरी कार्यालयमा उपस्थित भए । अपराध अनुसन्धान महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंह, प्रहरी उपरीक्षक नरेन्द्र उप्रेती र प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षकको अघिल्तिर उपस्थित हुँदा दिनेश भने त्यहाँ आएनन् ।

    आफूविरुद्ध उजुरी परेपछि तिलमिलाएका दिनेशले केही दिन यता पीडितलाई धम्क्याउने, प्रहरी अधिकारीहरुलाई विभिन्न च्यानलबाट दबाब दिने र केही मिडियालाई समेत किनेको पीडितहरुको आरोप छ । रातोपाटि बाट साभार गरिएको

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…