• काठमाडौं : हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर बिहीबार सर्वसाधारणका लागि खुला गरिँदै छ।

    तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।  तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ।

    हनुमनढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहेका छन्। काठमाडौँमा भने कर्माचार्य र जोशी मात्र पुजारी रहेको काठमाडौँ तलेजु भवानीका मूल नाइके शशीविक्रमध्वज जोशीले जानकारी दिए।

    प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन्। मन्दिरमा लिपपोत तथा सरसफाइ सम्पन्न भएको छ भने सुरक्षाको व्यवस्था चुस्त बनाइएको अड्डाले जनाएको छ।

    अड्डाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गर्ने छन्। नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन्।

    मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ। सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ।

    सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन्। राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ।

    वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ। राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भए पनि पछि विसं १६२० मा महिन्द्र मल्लले अहिलेको यो मन्दिर बनाएका हुन्।

    यही मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किम्वदन्ती छ। यो मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ। काठमाडौँ उपत्यकाका तीन शहरबाहेक नुवाकोट, काभ्रे, दोलखा, नालालगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ।

    २०७२ को विनासकारी भूकम्पपछि तलेजु भवानी मन्दिर वरपर क्षति पुगे पनि पुनःनिर्माण भइरहेको छ। भूकम्प गएको वर्षमा पनि मन्दिर दर्शनका लागि सर्वसाधारणलाई रोकिएको थिएन। रासस/कुमार चौलागाई

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…