• तपाईं आफुलाई कसरी चिनाउन चाहनुहुन्छ ?

    आफ्नो परिचय दिनुहोस् न । मेरो नाम गणेश लामा हो । मेरो जन्म थलो काभ्रे तर कर्मथलो काठमाडौं हो ।  म आफुलाई ब्यबसायी भन्न पनि रुचाउँछु ।

    धेरैले गणेश लामा डन हो भनेर चिन्छन्, भन्छन् नी ?


    1. यहि बडम्वना छ । त्यो टाईटल कसले लगाईदियो मलाई थाहा छैन । के गर्दाखेरी डन भनिन्छ र भईन्छ त्यो पनि मलाई थाहा छैन । त्यो शव्द मलाई मन पर्ने शव्द पनि होइन । कि कसैले मलाई तैंले डन बिल्ला पाएको छस् भनेर प्रमाण पत्र दिनुपर्यो कि मलाई डनको बिल्ला भिराइ दिनुपर्यो । म हिजो पनि एउटा संस्कारमा हुर्केको मान्छे । शुरुमा अध्ययन गरें, पढाई पछि एउटा उमेरमा आएर मैंले ब्यापार पनि गरें । त्यो भन्दा अगाडी मेरो झै झगडा पनि भएको थियो । मैले त्यहि अनुसारको सजायाँ पनि पाएँ । त्यसपछि मैले लगातार व्यापार गरें र हाल म सक्रिय राजनीतिमा लागि रहेको छु ।  यो डन भनेको के हो मैले अझै बुझ्न सकेको छैन ।


    तपाईले आज सम्म त्यस्तो के गर्नुभयो र तपाईलाई मान्छेहरुले डन भने ?

    मलाई यो लाग्दैन कि मैले आत्मा ग्लानी हुने गरी त्यस्तो गल्ति गरेको छु । म यो दावाका साथ भन्छु हो, मलाई कसैले पिटे होला, मलाई पिट्न आएकाहरुको बिरुद्ध म उठें होला अनि मैले पनि पिटें होला । मैले कसैको आँसु झार्ने काम, कसैको दुई रुपिया लुट्ने काम, कसैको छोरी चेली बिगार्ने काम अथवा राष्ट्रमा आँच आउने काम गरिन । म दावाका साथ फेरी भन्छु मैंले देशद्रोहि हुने काम गरेको छैन । यदि कसैले त्यो प्रमाण ल्याउँछ भने म जुन सुकै सजाय भोग्न तयार छु ।

    तपाईलाई थाहा छ, डन कस्तालाई भन्छन् ? डन भनेको चाहिँ के होला तपाईको विचारमा ?

    यो राज्य शत्तामा जसको हालिमुहाली चल्छ त्यहि हो डन । म अहिलेको अवस्थामा सुशील कोईरालालाई डन भन्छु । किनकी उहाँ प्रधानमन्त्री हुनुहुन्छ, उहाँको सवै चिज चल्छ । उहाँलाई चाहिँ डन टाईटल दिन सुहाउँछ । यो भन्दा पहिला प्रचण्डजी हुनुहुन्थ्यो होला, त्यो भन्दा पहिला माधव नेपाल हुनुहुन्थ्यो होला । सवैकुरा गर्ने क्षमता उहाँहरुको हातमा हुन्छ । तव मात्र त्यसलाई डन भनिन्छ होला । म त आफुलाई एक आम साधारण नेपाली भन्न चाहान्छु ।

    तपाईलाई थाहा छ डन चाहिँ कसरी जन्मिन्छन् ?

    एक त हाम्रो देश गरिवीको चपेटा र ठूलो भूमरीमा फसेको छ । अर्को बेरोजगारी र अशिक्षा छ । जव २०५२ सालमा नेकपा (माओवादी)ले जनयुद्धको थालनी गरेपछि जसरी युवाहरुको लर्को रातारात त्यहाँ प्रबेश गर्यो नी त्यो पनि एउटा उदाहरण हो । आज तपाई शिक्षित हुनुहुन्छ, रोजगार हुनुहुन्छ, तपाईलाई सबै कुरा पुगेको छ भने तपाईलाई यस प्रकारका गलत बाटोमा लग्ने समय हुँदैन । दुइचार अक्षर पढेको मान्छे, यदि रोजगार छ भने त्यसलाई जवर्जस्ती कसैले माईन्ड डाईभर्ट गर्न सक्दैन ।

    आज हाम्रो देशमा ठूलो संख्यामा युवाहरु वेरोजगार छन् त्यसको जिम्मा नेताहरुले लिने कि नलिने ? गरीव छन्, अशिक्षित छन्, तर ती युवा साथीहरुलाई सरकारले केहि गर्ने कि नगर्ने ?

    ती युवाहरु गलत प्रकारले प्रयोग भैरहेका छन्, चाहे त्यो राजनीतिक आवरण होस् वा अन्य आवरणमा । जान्ने सुन्ने मान्छेहरुले यी युवाहरुलाई गलत तरिकाले प्रयोग गरिरहेका छन् । यस्तै यस्तै कारणले गर्दा ती युवाहरु गलत कार्यमा लाग्न प्रोत्साहित भईरहेका छन् । युवाहरुलाई बिभिन्न दलले चुनावमा बुथ लुट्न, ढुंगा हान्न, मास जुटाउन प्रयोग र प्रोत्साहन गर्ने अनि आफु पदमा पुगिसकेपछि ती युवाहरुलाइ आफुले सकेको रोजगारी दिनुको सट्टा, राम्रो बाटो देखाउनुको सट्टा उल्टै गलत आरोप लगाउने जस्ता प्रबृत्ति पनि त बढेको छ नि ।

    डनहरुको नाता–सम्वन्ध शक्ति र पहुचमा भएका हरु संग हुन्छ भन्छन् । तपाईलाई चाहिं त्यस्तो लाग्छ कि लाछ ?

    मलाई त्यस्तो लाग्दैन । सवै मान्छेले एक समयमा पेटको लागि संघर्ष गर्छन् । पेट अघाए पछि सेवाको भावना जाग्छ । त्यो सेवाको भावना जागिसकेपछि अहो, मलाई त अहिले खान पुग्यो अव देश र जनताको लागि केहि गरौ भन्ने भावना आएपछि कहिँ न कहिँ त लाग्नै प¥र्यौ । कोहि न कोहि त समाउनै परिहाल्यो । ती कुराहरुलाई देखेर अहिले तपाईले गर्नुभएको प्रस्न त्यसरी नैं जोड्न खाजेको होला । तपाई आफैंले पनि देखिहाल्नु भयो नि कसैको संरक्षणमा लुकेको मन्छे होस् वा बहालवाला मन्त्री नैं किन नहोस् जेल गएको रेकर्ड छ नि नेपालमा । त्यसैले गल्ति गरेपछि कानूनभन्दा माथि कोहि पनि छैन भन्ने कुरा मैले बुझेको छु ।

    तपाईको कारणले आज सम्म कुनै पनि मानिसले दुःख, डर, धम्कि खेप्नु परेको छ कि छैन ?

    म अहिले सम्म पाप र धर्मलाई साक्षि राख्दै अगाडी बढेको मान्छे । के गर्दा पाप लाग्छ, के गर्दा धर्म हुन्छ भन्ने कुरा मैले राम्ररी बुझेको छु । हिजो पनि म एउटा युवा मात्र रहँदा पनि मलाई कसैले सिकाएको होइन । मैले चाहे शिक्षाको क्षेत्रमा होस्, चाहे ती कुनै विकाश निर्माणको क्षेत्रमा होस्, चाहे व्यापार र रोजागारीको क्षेत्रमा होस् म दावाका साथ भन्छु,– होला मैले लोकसेवामा नाम निकाल्न सकिन होला प्रहरीमा सकिन होला तर मैंले रेष्टुरेन्टदेखि लिएर अन्य सेक्टरमा आफुले सकेको ठाउँमा मैले तीन हजार पैतिससयदभल्दा बढी युवाहरुलाइ रोजगारीको अवसर दिइरहेको छु । मैले युवाहरुलाई सधैं भन्ने गर्छु काम गरेर खानु पर्छ । सवैलाई काम गरेर खानुपर्छ भन्ने सन्देश दिने गरेको छु । मैले यी सवै कुरा बुझेको जानेको, दुई चार अक्षर पढेको, घुमेको मान्छेले यस्ता कुरा कल्पना पनि गर्न सक्दिन । यदि भोको छु, मैले अगाडी खानेकुरा देखिरहेको छु भने म चोरेर खान्छु होला । मलाई भगवानको कृपाले दुई हात मुख जोर्न राम्रै तरिकाले दिएको छ भने मैंले जानि जानि कहाँ गल्ति गर्छु र ? चोरे, ढाँटे, मान्छे पिटे सजाय हुन्छ भन्ने जान्दा जान्दै कसैले अपराध गर्छ होला ?

    भनेपछि तपाईका कारण कोहि त्रसित छैनन्, कोहि ठगिएका छैनन् ?

    छैनन्, छैनन् । म दावाका साथ भन्छु त्यस्ता साथीहरु कसैले मेरो नाम गलत रुपमा प्रयोग गर्नुभएको छ भने मलाई थाहा भएन । म भगवान होईन, मलाई त्यस्तो थाहा हुदैन । झापाको कुनै एउटा कुनामा कसैले तँलाई गणेश लामा ल्याएर पिटाउँछु भन्यो भने मैले कसरी थाहा पाउने ? त्यसैगरी कैलाली, कञ्चनपुरमा मेरो नाम लिएर कसैले कसैलाई धम्क्याउने , थर्काउने गर्छ भने मैले कसरी जान्ने ? यी थर्किन बाध्य बनाउनेहरु पनि त मिडिया नैं हो नि त । म त्यो चिज होईन बाबा भनेर मैले पटक पटक तपाईहरुसंग भनिरहेको छु । यदि म त्यो चिज भएको हो भने त मैले झापा फोन गरेपनि थर्किने भो, कैलाली फोन गरेपनि थर्किने भो । म त्यो चिजलाई नैं स्वीकार्न तयार छैन, म त्यस्तो होइन बाबा, आम साधारण नेपाली नागरिक हुँ, साधारण भएर बाँच्न चाहन्छु, मलाई त्यसरी नहेर्दिनुहोस् भनेर मैले पटक पटक आग्रह गर्दे आएको मान्छे मैले कसरी त्यस्तो गर्न सक्छु त ?

    तपाईले के कस्ता व्यवसायहरु सञ्चालन गरिरहनु भएको छ ? तपाई के काम गर्नुहुन्छ ?

    अहिले टुरिज्म फिल्डमा छु । मैले हिजोको दिनमा रेष्टुरेण्ट ब्यबसाय पनि गरें होला, मैंले क्रसर आदिको काम पनि गरें होला । यसैगरी मैले सानोतिनो ब्यबसाय गरेरै आएको छु । म बिगत ५, ७ वर्षदेखि सक्रिय राजनीतिमा भैरहँदा खेरी म यो मिडियामार्फत के भन्छु भने , म यो देशको परिवर्तनको लागि, देशको उन्नती र प्रगतीको लागि समाजसेवा वा राजनीतीमै भएपनि बाँच्नका लागि पेशा गर्दे आएको छु । राजनीतिलाई चाहिँ सेवाको रुपले मात्र लिनुपर्यो । मेरो मन्यता यहि हो । यहि अन्तर्गत मैंले दुवै चिजलाई संगसंगै लिएर हिँडेको छु । मैंले आफ्ना बालबच्चा पाल्नको लागि ब्यापार गरेको छु भने राजनीतिलाई चाहिं सेवाको रुपले लिएर अगाडी बढिरहेको छु ।

    तपाई आफुलाई सामान्य मान्छे हुँ भनिरहनु भएको छ, तर तपाईलाई यत्ति धेरै ब्यापार गर्ने श्रोत चाहिं के हो त ? कसरी तपाई करोडौंको मालिक हुनुभयो त ?

    तपाई राम्रोसँग काम गर्नुहुन्छ, तपाईसँग, क्षमता छ, भिजन छ र तपाईसँग राम्रो टिम छ भने देशमा बिभिन्न बैंक,बित्तिय संस्थाहरु छन तिनले ऋण दिहाल्छन नि । अहिलेपनि मेरो धेरै ऋण छ । अहिले पनि मलाई ऋणको तनाव हुन्छ । महिना महिनामा बैंकको लोन तिर्नुपर्छ । राम्रो भिजन भयो, राम्रो टिम भयो भने काम गर्नलाई त त्यत्ति गाहे नैं छैन ।

    तपाई कामबाटै करोडपति बन्नुभयो त ?

    कामबाटै हो । यो देशमा २,४ जनालाई रोजगारी दिएर राज्यले बनाएको नीतिमा छिरेर ट्याक्स तिरेर करोडपति बनेको हो ।

    तपाईले आज सम्म कस्ता कस्ता मान्छेहरुलाई कस्तो प्रकारको सहयोग गर्नुभएको छ ?

    मैले बिगत १०,१२ वर्षदेखि काभ्रे लगायतका जिल्लाका पढ्ने ईच्छा भएका गरिव भाईबहिनीहरुलाई सहयोग गरेको छु । मैले काभ्रेलाई त कोटा नैं छ्ट्याएको छु । मैले हरेक बर्ष त्यहाँबाट ३ जनालई बिभिन्न कलेजमा स्कलरसिपको व्यबस्था गरेको छु । कुनै ठाउँमा स्वाश्थ्य शिबिर लगेर, कहिँ खेलकुदको माध्यमबाट, कुनै ठाउमा बिकास निर्माणको काम गरेर सहयोग गर्दे आएको छु । कहिँ १०, २० बोरा सिमेन्ट दिएर मैले निरन्तर रुपमा समाज सेवाको काम गर्दे आएको छु । मैंले यो काम मानव भएकाले आत्मसन्तुष्टिका लागि गरेको हुँ । न कि प्रचारको लागि ।

    तपाईको सम्वन्ध नेता,पत्रकार, प्रहरीसँग कस्तो छ ?

    पत्रकार साथीहरु पनि हुनुहुन्छ, प्रहरी, आर्मी, राजनीति, व्यापारी सबैतिर सवै किसिमका साथीभाईहरु हुनुहु्न्छ ।



    तपाईको जीवनको सपना चाहिं के छ ?

    पहिला भोको हुँदा पेट भर्ने आवश्यकता हुँदो रहेछ । पेट भरिसकेपछि पनि सन्तुष्टि हुँदो रहेनछ । जतिन्जेल बाँच्छु, राजनीति गरेर, सेवा गरेर मर्न पाईयोस भन्ने छ । म त्यहि गर्दै आएको पनि छु । जति पैसा भएपनि मान्छेलाई नपुग्दो रहेछ । म सामान्य जीवन नै बिताउनु चाह्न्छु ।

    तपाई्रको रुचि, शोख के छ ?

    मेरो यो चाहिँ शोख छ भन्ने छैन । मलाई एक्सरसाईज गर्न मन पर्छ । म एक्सरराईज गर्दा रमाउँछु । कोहि डिङ्गस गर्दा रमाउलान् तर मलाई त्यो शोख छैन । दैनिक बिहान १,२ घण्टा एक्सरराईज गर्छु त्यहि नैं रमाईलो छ । त्यसपछि राजनीति, व्यापार, समाजसेवा आदिका फोन आउन थाल्छन् बिजि भईन्छ ।

    ब्रत बस्नुहुन्छ ? धर्म मान्नुहुन्छ ?

    हरेक बिहिबार बस्छु । म हिन्दू, बौद्ध दुवै धर्म मान्छु ।

    अरुहरुले डन, गुन्डा भनेर उपनाम दिंदा तपाईको परिवारले के भन्छ ?

    पोल्छ नी । आज भन्दा ४,५ बर्ष पहिले त राष्ट्रिय मिडियाहरुमा यो डन हो भनेर फोटोसहित समाचार आउँथे । अहिले मेरो छोरो ८ मा पढ्छ । एउटी छोरी छिन् । त्यतिबेला मेरो छोराले बाबा तपाईको फोटो आएछ भनि पत्रिका देखायो । मलाई कस्तो भयो होला भन्नुस त ? कसैले पनि आफ्नो मानिस चोर गुन्डा फटाहा भएको मन पराउदैन । म चाहान्छ् सवै नेपाली जनताको राम्रो होस् । हिजो कसैले कच्चा उमेरमा गरेको गल्तिलाई लिएर आज पनि तनाव दिईरहनु हुदैन ।

    राजनीतिमा लागेर भोलि मन्त्री बन्ने सपना देख्नु भएको होला नी, छैन ?

    मैले काम गर्दे जाने हो त्यसको प्रतिफल यो नैं हुनुपर्छ भनेर अहिले नै सोचेको छैन । राजनीति गर्दै जाँदा भोलि आउने अवसरलाई ग्रहण गर्ने कुरा एउटा हो ।

    तपाईलाई देख्ने भेट्ने मान्छेहरु के भन्छन ?

    मान्छेले मलाई जे ठानेर भेट्न आउने गर्छन् उनीहरुले मलाई भेटिसकेपछि आकाश जमिनको फरक पाउने गर्छन् । म कसैसंग खस्रो बोल्दिन, नम्र भएर सम्मानपूर्वक बोलि व्यबहार गर्ने मेरो बानि छ । तपाईको राम्रो पक्ष के हो ? म सकारात्म सोच्छु । कहिले काहिँ रिस पनि उठ्छ तर म संयमित हुन्छु । कसैलाई डोमिनेट गरेको, गरिवलाई हेपेको मलाई मन पर्देन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…