• काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तिहारको पूर्वसन्धामा जाग्ने भएको छ । काँग्रेसभित्रै प्रतिपक्षीको भूमिकामा पार्टी नेतृत्व चुकेको आरोप लागिरहँदा अब काँग्रेस सशक्त भएर उत्रने देखिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको दुई तिहाईको सरकारले महंगी बढाइरहँदा, देशमा हत्या, हिंसा, बलात्कार बढिरहँदा र सुशासनको धज्जी उडीरहँदासमेत काँग्रेसले खवरदारी गर्न नसकेको आरोप लाग्दै आएको छ ।

    काँग्रेस कुनै योजना बिना नै अगाडि बढिरहेको आरोपसमेत लाग्दै आएको छ । पार्टीभित्र गुटउपगुट भएकै कारण पार्टीले निश्चित एजेन्डा बोक्न नसकेको आरोप लाग्दासमेत काँग्रेस चुप लागेर बसेको भन्नेहरुको स्वर बढ्दो छ ।

    प्रमुख प्रतिपक्षीको काम सरकारलाई सही मार्गमा हिँड्न दवाव दिनु हो । राम्रा काममा साथ दिनु हो । यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकार समेत गलत बाटोमा हिंडिरहेको आरोप लाग्दा काँग्रेसले दवावमुलक कार्यक्रम ल्याउन नसकेको आरोप लागेको छ ।

    काँग्रेस कहिल्यै प्रतिपक्षको भूमिका निभाउन नसक्ने पार्टी भनेर पनि चिनिन थालेको छ । काँग्रेससंग अहिले थुप्रै मुद्धा भइरहँदा समेत उठाउन नसकेको अरोाप लागेको छ ।

    काँग्रेसले बलात्कार, हत्या लगायतका घटना बढिरहँदा सरकारलाई शान्ति सुरक्षा कायम गर्न दवाव दिन नसकेको आरोप छ । निर्मला हत्या प्रकरणमा पनि काँग्रेस फितलो देखिएको छ ।

    काँग्रेसले चिकित्सा शिक्षा विधेयक, बूढीगण्डकी जलविद्युत् आयोजना, वाइडबडी जहाज खरिद प्रकरण, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सुदूरपश्चिमको राजधानी मुद्दामा समेत भूमिका खेल्न नसकेको आरोप लागेको छ ।

    के भन्छन् काँग्रेस प्रवक्ता शर्मा ? काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा संसदमा कुर्सी तोडफोड गर्दा र सडकमा टायर बालेर हिंसा बढाउँदामात्र प्रतिपक्षीको भूमिका सशक्त हुन्छ भन्ने नसोच्न आग्रह गर्दै भन्छन् –काँग्रेसले विभिन्न माध्यमबाट झक्झक्याउने काम गरिरहेको छ । राष्ट्रिय मुद्दामा पार्टीको बैठक र बैठक नहुँदा पत्रकार सम्मेलन गरेरै सरकारलाई सचेत गराइरहेको उनको भनाइ छ ।

    उनले सरकारले बढाएको महंगी लगायतको विरोध गर्दै तत्काल महंगी घटाउन दवाव दिन ७७ वटै जिल्लामा विरोध कार्यक्रम गरिने जनाएका छन् ।

    यसअघि गत असोज २८ गते सबै जिल्लामा विरोध कार्यक्रम गर्ने निर्णय भएको थियो । तर काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन भएपछि उक्त कार्यक्रम स्थगित भएको थियो ।

    प्रवक्ता शर्माले छिट्टै यसको निर्णय गरेर दवावमुलक कार्यक्रम गर्ने बताए ।

    जाग्दै काँग्रेस  अब भने काँग्रेस जाग्ने अनुमान गरिएको छ । आन्तरिक रुपले गुट उपगुटमा लागेको काँग्रेस महासमिति बैठकको तयारीमा छ । काँग्रेसको नयाँ विधानका लागि विधान संशोधन समितिले धमाधम काम गरिरहेको छ । यो संगै काँग्रेस चलायमान हुने प्रवक्ता शर्माको विश्वास छ ।

    काँग्रेसले चाडबाडको चियापान कार्यक्रमसंगै आफूलाई अझ बढी चलायमान बनाउने रणनीतिमा रहेको छ । काँग्रेसको चियापान कार्तिक १६ गते हुँदैछ ।

    विपक्षीले भूमिका खेल्न नसकेको भनिएपछि काँग्रेसका नेताहरु विपक्षी भूमिका खेल्नका लागि रणनीति बनाउनु पर्नेमा समेत जोड दिँदै आएका छन् ।

    आन्तरिक किचलोलाई अन्त्य गरी काँग्रेस सशक्त भएर उभिने विश्वास कायमै छ । मूल्यवृद्धिको विरोध ७७ वटै जिल्लामा एकैपटक गरिँदा सरकारसमक्ष त्यसको तरंग जाने विश्लेषण गरिएको छ ।

    तर काँग्रेस निरन्तर तात्छ कहिले भन्ने प्रश्न भइरहने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…