• काठमाडौं— आफ्नै पार्टीको सरकारका काम कारवाहीको विषयलाई लिएर नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले संसदको वर्षे अधिवेशन समापनका क्रममा संसदमा गरेको आलोचनालाई लिएर नेकपा भित्र केही दिनका लागि विबादको भूमरी उठ्यो । यो बिषयलाई लिएर नेकपाका दोस्रो र तेस्रो तहका नेताहरुबीच आरोप प्रत्यारोप र घोचपेच चल्यो ।

    संसदमा आफ्नै पार्टीको सरकारविरुद्ध गरेको टिप्पणीलाई लिएर शुरु भएको विबाद सेलाउन नपाउँदै नेकपामा अर्को पराकम्प गयो, वामदेव गौतमले काठमाडौं ७ बाट उपचुनाव लड्ने तयारी गरेपछि । संसदमा पुग्ने वामदेवको आकाक्षाविरुद्ध नेकपाका नेता कार्यकर्ताले अग्रपंक्तिमा विरोध जनाए । पार्टी भित्रवाट चर्को विरोध भएपछि वामदेव ‘ब्याक’ भए ।

    आफू विदेश भ्रमणमा रहेको समयमा प्रदेशका इन्चार्ज र पदाधिकारी नियुक्तिको बिषयलाई लिएर नेता नेपालले असन्तुष्टि जनाए । विधि विपरित एउटै व्यक्तिलाई बहुपद दिइएको भन्दै रुष्ट रहेको नेपाल समूहले ‘चियापान’का नाममा छुट्टै भेला पनि आयोजना गर्यो ।



    यी त सतहमा आएका विबाद थिए, बाहिर नआएका अन्य कयौं विबाद पनि आइतवार र सोमवार बसेको नेकपाको सचिवालय बैठकले हल गरेको दाबी नेकपाका नेताहरुले गरेका छन् । यसअघि प्रवक्ताको पद अस्वीकार गरेर सोही पदमा फर्किएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ‘अध्यक्षद्वयले भविष्यमा गल्ती नदोहोर्याउने’ निर्णय भएको छ ।

    आफूखुसी निर्णय गर्ने र आत्मालोचना गर्ने कम्युनिष्ट नेतृत्वको सनातनी सिद्धान्त हो । पछिल्ला दशकमा तत्कालीन माओवादीले यसको अभ्यास गरेको थियो । एमाले र माओवादीको ‘फ्युजन’बाट बनेको नेकपामा माओवादीको पुरानो रोग सल्किएजस्तो देखिदैछ ।

    पार्टीमा रहेका विवाद स्थायी समितिमा लैजाने सहमति भएको भनिएपनि अहिले नेकपा ‘ओली एण्ड प्रचण्ड’ कम्पनी जस्तै भएको स्वयं नेकपाका नेताहरु बताउँछन् । अध्यक्षद्वयले गरेको निर्णयलाई चुनौती दिने नेता सचिवालयमा छैनन् ।

    नेकपामा देखिएको विबाद समाधानका लागि महासचिव विष्णु पौडेलले मध्यमार्गी र कुशल भूमिका निर्वाह गरे ।

    साम्य भए माधव नेपाल ?

    संसदमा ‘देश डुब्न लाग्यो, कोही माझी बचाइदेउ’ भन्ने गीतको पक्तिवाट सम्वोधन गरेको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली पक्षले नेता नेपालको राजनीतिक पतनको भविष्यवाणी गरेका थिए ।

    दुबै पक्षका दोस्रो र तेस्रो तहका कार्यकर्ताबीच आरोप प्रत्यारोप चल्यो । तर यो प्रकरण यत्तिकै सेलायो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुले खुवै चासोका साथ राखेको प्रश्नमा सफ्ट’ जवाफ दिएर ओलीले नेपाललाई चिडाउन चाहेनन् ।

    ओली फर्किएलगत्तै २० असोजमा नेता नेपालसँग लामो कुराकानी गरेपछि विबाद सेलाउँदै गयो । प्रदेशको इन्चार्ज तोक्ने क्रममा भएको विबाद पनि त्यही मत्थर भएको थियो । आइतबार र सोमवारको बैठक आफ्नो गुटको नेताको पक्षपोषणमा चर्को आरोप प्रत्यारोपमा उत्रिएका कार्यकर्ताको फेस सेभिङ मात्र थियो ।

    निस्कृय बन्लान् वामदेव ? 

    दशैंको पूर्वसन्ध्यामा वामदेव गौतम काठमाडौं ७ बाट प्रतिनिधि सभा उपनिर्वाचनमा लड्ने चर्चाले राजनीतिक सरगर्मी बढ्यो । राजीनामा गर्न राजी भएका भनिएका रामवीर मानन्धरले राजीनामा नगर्दै प्रमुख प्रतिपक्षी दलका कार्यकर्ताले वामदेवको विरुद्धमा कसकसलाई उठाउने भनेर नाम प्रस्ताव गर्न थाले ।

    कांग्रेस प्रवक्ता विश्वप्रपकाश शर्माले त आफू चुनाव नलड्ने भनेर समाजिक सञ्जालमा प्रतिक्रिया लेख्न भ्याइसके । संसदमा नरहेको साझा विवेकशीलका कार्यकर्ताले संसदमा पुग्ने सपना देख्न थालिसकेका थिए । उसोत काठमाडौं ७ का सांसद मानन्धर स्वयमले पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा नै गरेका थिए ।

    नेकपा भित्रकै विरोधका कारण संसदमा पुग्ने वामदेवको आकाक्षा तत्कालका लागि सेलाएको छ । वामदेवलाई सांसद बनाउने कोरियोग्राफर नेकपाका अध्यक्ष प्रचण्डका अनुसार वामदेव स्वयमले चुनाव नलड्ने घोषणा गरिदिए । तर स्वय वामदेव भने सार्वजनिक रुपमा बोलेका छैनन् ।

    उमेर ढल्किदै गएपनि वामदेव राजनीतिक रुपमा भने निश्कृय हुन चाहदैनन् । प्रधानमन्त्री नै बन्न नसकेपनि मातहत रहनेगरी विकास निर्माण प्राधिकरको कार्यकारी बन्ने उनको रुची छ । प्रधानमन्त्री ओलीले समेत यसका लागि वामदेवलाई आश्वासन दिएका थिए ।

    निकटस्थहरुका अनुसार तत्काल पछि हटेपनि वामदेवको संसदमा पुग्ने आकाक्षामा पूर्णविराम लागिसकेको छैन । काठमाडौं भन्दा बाहिरबाट भएपनि उपनिर्वाचन लड्ने उनको आकाक्षा छ, केही समय कुरेर भएपनि । नेकपाकै अर्का नेता झलनाथ खनालले पनि वामदेवका लागि उपयुक्त समय र क्षेत्र चयन गर्नुपर्ने बताइसकेका छन् ।

    शक्ति सन्तुलन र गुट निर्माण

    दुई पार्टी एकीकरण भएको पाँच महिना लाग्दै गर्दा नेकपा भित्रको गुटले आकार लिन खोज्दैछ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई चुनौती दिनेगरी अर्का अध्यक्ष प्रचण्डले आफूलाई केन्द्रमा ल्याउने प्रयास गरिरहेका छन् ।
    प्रचण्डको ध्यान पूर्व माओवादी भन्दापनि पूर्व एमालेप्रति आकर्षित छ । राजनीतिक करिअरको तीन दशकसम्म पार्टीको प्रमुख बनेका प्रचण्ड अहिले अध्यक्ष त छन् तर उनको भूमिका कार्यकारी देखिएको छैन ।  ठूलो पार्टीको अध्यक्ष बन्ने महत्त्वकांक्षा साकार पार्न प्रचण्डले गृहकार्य शुरु गरिसकेका छन् ।

    संसदको यही कार्यकालमा प्रधानमन्त्री बन्ने प्रचण्डको महत्वकाक्षा पनि बाँकी नै रहेको बुझ्न कठिन छैन । गत महिना भएको भारत भ्रमणका क्रममा दिएको एक अन्तवार्तामा प्रचण्डले प्रधानमन्त्रीको कार्यकाल बाढ्ने गरी पार्टी एकता भएको र आफूलाई भावी प्रधानमन्त्री भन्दा फरक नपर्ने बताएका थिए । जसले नेकपामा तरंग ल्याएको थियो ।

    तत्कालका लागि वामदेव प्रकरण यत्तिकै सेलाएको जस्तो देखिएको छ । जसका कारण नेकपा भित्रको विबाद पनि सेलाएको देखिएको छ तर  विबाद साम्य भएको छैन । नेकपाकै एक नेताका अनुसार कात्तिक १० गतेका लागि आयोजना गरिएको चियापानपछि मन्त्रीमण्डल हेरफेरकका नाममा नेकपामा अर्को किचलो शुरु हुने सम्भावना छ ।

    प्रधानमन्त्री केपी ओलीका ‘किचेन क्याविनेट’ समेत रहेका सांसद पूर्व मन्त्री महेश वस्नेतले दशैं लगत्तै मन्त्रिमण्डल र प्रधानमन्त्रीको सचिवालयमा हेरफेर हुने बताएका थिए । सरकारको ‘प्रर्फ्र्मेन्स’ सुधारका लागि क्याविनेट र प्रधानमन्त्रीको सचिवालयमा हेरफेर हुने बस्नेतले बताएको कुरामा सत्यता रहेको अनुमान गर्न सकिन्छ । मन्त्रिमण्डलमा हुने हेरफेर पनि नेकपाको आगामी दिनमा विवादको विषय बन्नसक्ने अनुमान गरिएको छ ।


    lokaantar.com

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…