• काठमाडौं ७ कार्तिक । सत्तारुढ दल नेकपाले आन्तरिक एकता कमजोर हुँदा विपक्षीले फाइदा उठाएको निष्कर्ष निकालेको छ। नेकपा सचिवालयले छठसम्म तल्ला समितिको एकता टुंग्याउने पनि निधो गरेको छ। माथिल्लो तहमा पार्टी एकता भएको ५ महिना बितिसक्दा समेत नेकपाका तल्ला समिति र जनसंगठन बेग्लाबेग्लै छन्। ‘हामीले एकता गर्न नसक्दा आन्तरिक कमजोरी भएको छ’, नेकपा सचिवालयका एक नेताले भने, ‘त्यही कमजोरीको फाइदा प्रतिपक्षले उठाएको छ।’

    छठसम्म एकता सकेर मंसिरदेखि देशव्यापी अभियान चलाउने तयारी थालेको ती नेताले बताए। आन्तरिक पार्टी एकताको गृहकार्यका लागि बुधबार (आज) पनि नेकपा सचिवालय बैठक बस्दैछ। कात्तिक १२ र १३ गते उसले स्थायी समिति बैठक डाकेको छ।

    ‘पार्टी र सरकारविरुद्ध भइरहेको आक्रमणको प्रतिरक्षाका लागि स्थायी समिति बैठकपछि नयाँ अभियान सञ्चालनको योजना बनाउन लागेका छौं’, नेकपा सचिवालय नेता तथा गृहमन्त्री रामबहादुर थापाले भने, ‘प्रतिपक्षी र प्रतिगामी शक्ति मिलेर सरकार विघटन गर्ने र कम्युनिस्ट पार्टीमा विभाजन ल्याउन खोजेको राजनीतिक दृश्य देखा परेका छ। पार्टीले त्यसको प्रतिरोध गर्नेछ।’

    प्रतिपक्षी कांग्रेस, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सिके राउतले कार्यगत एकता गरी सरकार विघटन गर्ने र नेकपामा विभाजन ल्याउने रणनीति अख्तियार गर्न खोजेको नेकपाले राजनीतिक निष्र्कष निकालेको छ। काठमाडौं–७ का सांसद रामवीर मानन्धरको राजीनामा प्रकरण, पार्टीभित्र/बाहिरबाट भइरहेको सरकारको आलोचनालाई उसले परिवर्तन उल्टाउने तयारीका रूपमा अथ्र्याएको हो।

    आइतबार र सोमबार दुई दिनसम्म बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे यस्तो निष्र्कष निकालेको नेताहरूले बताएका छन्। संघ, प्रदेश र स्थानीय तीन तहमा नेकपाको दुईतिहाइको सरकार बनेको प्रतिपक्षी कांग्रेसले स्वीकार्न नसकेको भन्दै संविधानविरोधी समूहसँग समेत मिल्न खोजेको नेकपाले आरोप लगाएको हो। ‘गणतन्त्र, संघीयता र संविधान नचाहनेहरू यसलाई बदल्न चाहन्छन्’, नेता थापाले भने, ‘उनीहरू देशलाई एकात्मकतामा लैजाने रणनीतिमा छन्। विखण्डन चाहने सिके राउत, परिवर्तन र संविधान नमान्ने विप्लव र प्रतिपक्षी एक–अर्कालाई सहयोग गर्ने मोर्चा अहिले बनेको छ। तारो एउटै छ।’

    कम्युनिस्टभित्रको कमजोरी, मतभेद र अन्तरविरोधलाई उत्कर्षमा लगेर फुटाउने रणनीतिअनुसार पार्टीभित्र विरोधी खेलिरहेको पनि उनले आरोप लगाए। महासचिव विष्णु पौडेलले भने नेतृत्वमा असमझदारी उत्पन्न गराएर विग्रह ल्याउन चाहने शक्तिहरू सचिवालय बैठकबाट परास्त भएको दाबी गरे। अन्नपूर्णपोष्टबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…