निमकान्त पाण्डे -शीर्षपंक्तिका शब्दहरू पढेपछि प्रतिगमनलाई मन पराएको भनेर आरोपित गर्न पनि सकिएला, तर पहिले नै स्पष्ट गरिहालौं पूर्वराजा लोकप्रिय बन्दै गइरहेको र दलका नेताहरू अलोकप्रिय बन्दै गइरहेको पटक्कै मन परिरहेको छैन । दलका नेताहरू लोकप्रिय भइदिए हुन्थ्यो भन्ने चाहना भइरहन्छ । तर चाहनाविपरीत गतिविधिहरू भइरहेका छन् । नेताहरूले बोल्नुपर्ने शब्दहरू पूर्वराजाले बोलिरहेका छन् । पूर्वराजाले गरेका सामन्ती व्यवहारहरू नेताहरूले गरिररहेका छन् । सबै दृश्यहरू छर्लङ्ग छन् । देशमा गणतन्त्र आएको पनि डेढ दशक पूरा हुन लागिसकेको छ । यो अवधिबीचमा गणतन्त्रले नेपाली जनतामा परिवर्तनको अनुभूति दिन सकिरहेको छैन । जनताले पाएका आश्वासन विपरीत काम भइरहेका छन् । त्यसैमा पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार निर्माण भएको अवस्था छ । यस्तो अवस्थामा नेपाली जनताले कम्युनिष्ट शासन पद्धतिमा जनताले पाउने सुविधाहरू पक्कै पनि अपेक्षा गरे होलान् भन्ने कुरा बुझ्न सकिन्छ ।
देशको भूभाग छिमेकी मुलुकबाट अतिक्रमित भइरहेको छ । देशको विकासको पूर्वाधारको रूपमा हमीले गर्व गर्ने नेपालको जलसम्पदा हो । जलसम्पदाको सदुपयोगतर्फ सरकारको ध्यान पुगिरहेको छैन । यसमा पनि छिमेकी मुलुकको गिद्द नजर परिरहेको छ । एकपछि अर्काे नदी कब्जा गरेर राख्ने छिमेकीको चाहना पूरा भइरहेको छ । सामरिक र ऐतिहासिक महत्वका ठाउँहरूलाई नेपालको नक्साबाटै हटाएर नयाँ नक्सा तयार पार्ने काममा छिमेकीको अग्रसरता देखिएको छ । यतिले मात्र नपुगेर तराई क्षेत्रलाई नै मधेसका नाममा बिखण्डन गराउने योजना छिमेकीबाटै सार्वजनिक भइरहेको छ । तैपनि कम्युनिष्ट पार्टीको नेतृत्वको दुईतिहाइ बहुमत भएको हाम्रो देशको सरकार लाचार बनिरहेको छ । हाम्रो सरकार बोल्दैन, छिमेकी रिसाउला भन्ने त्रास छ । सत्तामा बसिरहने हाम्रो सरकारको आश छ । जनताका चाहना र देशको आवश्यकतातर्पm सरकारको ध्यानाकर्षण देखिएको छैन ।
मुलुकमा राजनीतिक तरंग चलिरहँदा आर्थिक पक्ष ओझेलमा परेको छ । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक छ । मुलुकको बृहत्तर सामाजिक तथा आर्थिक विकासका लागि सरकारले राष्ट्रिय प्राथमिकता हेरी राष्ट्रिय गौरवका आयोजनाको सूची तयार पारे पनि ती आयोजनाहरूको काम तथा प्रगति निराशाजनक हुँदा पनि सरकारले प्राथमिकताका आयोजनाहरूलाई पी १, पी २ गरी वर्गीकरण गरी बजेट विनियोजनलगायतका आवश्यक कामहरू अघि सारे पनि ती आयोजनाको काम अगाडि बढ्न सकिरहेको छैन । आयोजनाहरू निकै सुस्त हुँदा लाजमर्दाे अवस्था देखिन्छ । राष्ट्रिय गौरवका आयोजनाहरू मात्र नभई अन्य स–साना आयोजनाहरू पनि निर्धारित समयभन्दा निकै ढिला मात्र सम्पन्न हुने गरेका छन् । सडकको अवस्थाबाट जनता आक्रोशित भइरहेका छन् । निर्माणका जिम्मा लिएका ठेकेदारहरूको मनपरीले सीमा नाघ्दा पनि कारबाहीको निशानामा तानिंदैन, यस्ता गतिविधिहरूले गर्दा सरकार अलोकप्रिय बनिरहेको अवस्था छ ।
राजनीतिक अस्थिरताका कारणबाट देशको विकास हुन नसकेको र आर्थिक समृद्धितर्फ अगाडि नसकिइएको तर्क प्रस्तुत गर्दै दलहरूले जनतालाई झुक्याउँदै आएका थिए । अब त्यो अवस्था देशमा छैन । देशले स्थिर सरकार पाएको छ । यो सरकारले कुनै कारणबाट पनि विकासको काम गर्न सकिएन भनेर बहानामा गर्ने ठाउँ छैन, तैपनि सरकार बहाना बनाउने खेल खेलिरहेको छ ।
सरकारको काम गर्ने शैली र छिमेकीलाई खुशी बनाउने दलाली प्रवृत्तिका विरुद्ध विपक्षी राजनीतिक दलहरू र सचेत नागरिक स्तरबाट व्यापक आलोचना भइरहेको अवस्था छ । आलोचनालाई सकारात्मक रूपमा लिएर सरकारले आफूलाई सच्याएर अघि बढ्ने संकेत गरिरहेको छैन । हरेक आलोचनाहरूलाई नकारात्मक रूपमा व्याख्या गर्ने र व्यग्यात्मक रूपमा आलोचनाहरूको जवाफ दिएर सरकारले जनतालाई निराश तुल्याउने काम गरिरहेको छ । यस्तो कार्यशैलीले गर्दा सरकार नितान्त एकलकाटे भइरहेको देखिन्छ । एकलकाटे प्रवृत्तिले अरुको अस्तित्व अस्वीकार गर्दछ र देशमा निषेधको राजनीतिले प्रश्रय पाउँदछ । सबैले बुझेको कुरा हो निषेधको राजनीतिले नै नेपालमा सशस्त्र द्वन्द जन्मिएको हो । नेपालको इतिहासमा तत्कालीन माओवादीले गरेको १० वर्षे जनयुद्ध त्यही निषेधको राजनीतिको परिमाण नै थियो । तत्कालीन माओवादीले प्रस्तुत गरेका ४० बुँदे मागपत्र अझै पनि अलपत्र पारिएका छन् । १० वर्षे जनयुद्धको नेतृत्वकर्तामध्येका धेरैजसो नेताहरू अहिले सत्तासीन अवस्थामा छन् । परन्तु ती ४० बुँदे मागहरूलाई सम्बोधन गर्न अहिले पनि कुनै चासो देखाइएको छैन । १० वर्षे जनयुद्धकै सहयात्रीमध्येका मोहन वैद्य ‘किरण’ र विप्लवसहितका नेताहरू अहिले पनि ती ४० बुँदे मागपत्रलाई एउटा हातमा र अर्काे हातमा हतियार बोक्ने अवस्थातर्फ उन्मुख देखिन्छन् । उनीहरूको तर्फबाट पटक–पटकको चेतावनीका वाबजुद पनि समस्यालाई बुझ्नेतर्फभन्दा निषेधकारी मानसिकतालाई नै प्रश्रय दिने गरी सत्तासीन कम्युनिष्ट नेताहरू अगाडि बढ्न तयार भइरहको अवस्था बुझिन्छ । यो अवस्थाले देशमा संक्रमणकाल अझै सकिएको छैन भन्ने संकेत गरिरहेको छ ।
नेपाली जनता अहिलेका राजनीतिक दल र तिनका नेतृत्वको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । सबै पार्टी परित्याग गर्दै विप्लव नेतृत्वको नेकपामा प्रवेशको लहर चलिरहेको छ । यसको संकेत के हो ? सत्तामा पुगेका कम्युनिष्टहरूले देखाइरहेको दलाल र सामन्तवादी प्रवृत्तिको परिणाम स्वरूप विप्लवतर्फ आकर्षण बढिरहेको हो भन्ने कुरा बुझ्न सकिन्छ । सत्तामा पुगेका कम्युनिष्ट नेताहरूले आपूmहरू कम्युनिष्ट समर्थित जनताको मतबाट विजयी भएर सत्तामा आइपुगेको हो भन्ने कुरा बिर्सिएका छन् । उनीहरूले विदेशी शक्तिकै सहयोगमा सत्तामा पुगेको जस्तो व्यवहार गरिरहेका छन् । विदेशीको इशारामा चल्न, विदेशी सेना देशमा भिœयाउनु, नेपाली भूमि नेपालको नक्साबाटै गायब गराएर बनाइएको नक्सालाई स्वीकार गर्नु, नदीहरू सबै विदेशीलाई जिम्मा लगाउनुलगायतका गतिविधिले कम्युनिष्ट सरकार असफल र अलोकप्रिय भइरहेको छ । यसले गर्दा नेपालमा कम्युनिष्ट आन्दोलनप्रति एकातिर निराशा जगाइरहेको छ भने अर्कातर्फ कम्युनिष्टहरूले नै देशीय सामन्तवादको आरोप लगाउँदै सत्ताच्युत गरिएका ‘राजा’ जनतामा लोकप्रिय बन्ने परिस्थिति सृजना भइरहेको छ । यो अवस्थाप्रति अरु कसैलाई भन्दा स्वयं नेकपाका अध्यक्षद्वय केपी र प्रचण्डलाई हुनुपर्ने हो क्या रे ! आगे चेतना भया ।