• काठमाडौँ-७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने योजनाबाट नेकपा बरिष्ठ नेता वामदेव गौतम पछि हटिसकेका छन्। तर, उपनिर्वाचनमार्फत जनमत हासिल गरेर संसदमा पुग्ने योजनाबाट पछि हट्न जसरी उनलाई बाध्य बनाइयो, त्यसप्रति उनको चित्त दुखाई र आक्रोस भने बाँकी नै छ।

    नेकपा केन्द्रीय सचिवालयको २२ असोजको बैठकमा गौतमका लागि काठमाडौँ–७ का सांसद रामवीर मानन्धरको राजिनामा पत्र पेश भएको थियो। सोही पत्र बैठकमा पेश हुनासाथ रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले त्यस्तो पत्र वाचन गर्न समेत नहुने बताउँदै विरोध गरेका थिए।

    ‘सर्वसाधारणले सांसदले राजिनामा गरेर उपनिर्वाचन गराउने भनेर विरोध गरे, यो सफा नियतले गरिएको भावना थियो, यसप्रति मेरो भन्नु केही छैन’ काठमाडौँ–७ बाट निर्वाचन नलड्ने निर्णयबाट पछि हटेको दुई हप्तापछि नेपालखबरसँग कुरा गर्दै गौतमले भने, ‘तर, जो जो नियोजित रुपमा लागे, तिनीहरु चाहिँ अपराधी हुन्।’

    ‘को हुन् त ती अपराधी?’ यो चाहिँ उनले खुलाउन चाहेनन्। ‘त्यो सबैलाई थाहा छ नि, तपाईंहरुलाई पनि थाहा छ, सर्वसाधारणलाई पनि थाहा छ’ गौतमले भने, ‘पार्टीको उपल्लो तहमै भएकाहरुले मेरो विरुद्धमा नियोजित रुपमा लेखे, लेखाए। यसरी पार्टीकै नेता–सहयोद्धाविरुद्ध लाग्नेहरु राजनीतिक प्राणी होइनन्, अपराधी हुन्।’

    गौतमलाई प्रतिनिधि सभामा ल्याउने योजनामा सबैभन्दा बलियो साथ अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को थियो। यो प्रकरणमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मौन बसे। तर, उनी पक्षीय नेताहरु कर्णबहादुर थापा, कृष्ण राई (काठमाडौँ-३ का सांसद) लगायत खुल्ला रुपमा नै उत्रिए।

    बरिष्ठ नेता माधव नेपालपनि यो प्रकरणमा मौन रहे, विरोध गरेनन्। खासमा उनी मौन रहनुको अर्थ गौतमको प्रतिनिधि सभामा आउने योजनामा समर्थन नै थियो। केन्द्रीय सचिवालयका रहेका अन्य नेताहरुले पनि गौतमको विरोध गरेनन्। बैठक र सामाजिक सञ्जालमार्फत् विरोध गर्ने शीर्ष नेता रक्षामन्त्री पोखरेलमात्र देखिए।

    गौतमले थपे, ‘मैले यो व्यक्ति, उ व्यक्ति भन्ने किटान गरेर अपराधी भनेको छैन। किनभने, मैले व्यक्ति किटान गर्नै पर्दैन। सबैले बुझिहाल्छन्।’ बैठकमा पोखरेलले गरेको विरोध र त्यत्तिले मात्र नपुगेर सहजै बुझ्न सकिन्छ कि, उनको अपराधी भन्दै आक्रोस पोखेका व्यक्ति रक्षामन्त्री पोखरेलप्रति नै हुन्।

    ‘कतिसम्म भने, मलाई भारतको योजनामा प्रतिनिधि सभामा जान खोजेको भनेर तिनीहरुले दुश्प्रचार समेत गरे’ गौतमले भने, ‘वामदेव गौतम राष्ट्रियताप्रति कति प्रतिवद्ध छ भन्ने कुरा सारा नेपाली जनतालाई थाहा छ, तर मलाई प्रतिनिधि सभामा पुग्न नदिन त्यो हदसम्मको दुश्प्रचार अपराधीहरुबाट भयो।’

    गौतमका भनाईमा, उनी प्रधानमन्त्री केपी शर्मा ओलीको हात बलियो पार्न नै प्रतिनिधि सभामा जान खोजेका हुन्। ‘तर, कमरेड ओली र मबीच फाटो पार्न भारतको योजनामा प्रधानमन्त्री बन्न प्रतिनिधि सभामा जान लागेको भनेर हल्ला चलाइयो’ गौतमले भने, ‘देखिरहनु होला, १-२ महिनापछि नै प्रतिनिधि सभामा मेरो अभाव खड्किनेछ।’

    ‘मैले नै सारा संसार बोकेको छु, बोक्न सक्छु भनेर भन्दिन, तर नेपाललाई संघीय गणतन्त्रसम्म ल्याउन मेरो महत्वपूर्ण योगदान छ भनेर दावी गर्नसक्ने हैसियतमा म छु’ गौतमले थपे, ‘षडयन्त्रकारी र अपराधीहरु मेरो यही भूमिकाका कारण अत्तालिएका हुन्। त्यसैले, उनीहरुले नियोजित रुपमा मविरुद्ध लागे। केही समयका लागि तिनीहरु सफल भएपनि सधैँ सफल हुन सक्दैनन्।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…