• बाह्र वर्षपछि खोलो त फर्किन्छ ! यो उखान त्यसै बनेको होइन । खोलो त फर्किने विश्वास गरिन्छ भने निर्देशक तथा कलाकार अशोक शर्मा नफर्किने कुरै भएन । झन्डै १२ वर्षअघि ‘यो मायाको सागर’ चलचित्र निर्देशनपछि हराएका
    अशोक अहिले पुनः निर्देशकको रूपमा फर्किएका छन् । अशोकको निर्देशनमा बनेको चलचित्र ‘जय भोले’ दशैंको फूलपातीको दिनदेखि प्रदर्शनरत छ ।

    कुनै जमानाका चल्तापुर्जा निर्देशक अशोक शर्माले खगेन्द्र लामिछानेको कथामा चलचित्र निर्देशन गरेका हुन् । चलचित्रमा खगेन्द्र मुख्य भूमिकामा छन् ।

    आफूले अभिनय गर्ने प्रायः चलचित्रमा आफैं कथा लेख्ने खगेन्द्रले टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद जस्ता सम्झनलायक चलचित्र दिएका छन् । यसकारण पनि उनका चलचित्रप्रति दर्शक आशावादी हुन्छन् । यता १२ वर्षपछि निर्देशनमा फर्केका अशोकको काम पनि दर्शकले हेर्न चाहेका छन् । उनै अशोक र खगेन्द्रको साझेदारी प्रयासमा बनेको कमेडी विधाको चलचित्र हो, जय भोले ।

    यस्तो छ कथा 
    जय गुरागाईं (खगेन्द्र लामिछाने) एक इँटा उद्योगका मालिक हुन् । उनी हुनेखाने मात्र होइन, हट्टाकट्टा छन् । आफ्नै गाडी चढ्छन् । अविवाहित यिनको एउटै ध्याउन्न छ, गाउँकै निशा (स्वस्तिमा खड्का) सँग बिहे गर्ने । उनी निशाप्रति एकोहोरो प्रेममा छन् । तर जयको मायामा निशा भने पग्लिएकी छैनन् । उनलाई पगाल्न जयले अनेक कुराले दुःख दिन्छन् ।

    निशालाई दुःख दिने जयको व्यवहारले भोले (सौगात मल्ल) कत्ति पनि खुशी छैनन् । भोले ग्यास डिपोका मजदूर हुन् । विवाह लगायत बेलाबेलामा उनी आफनै पेशागत धर्म निर्वाह गर्न आफ्नै बाबुसँग पञ्चेबाजाको टोलीमा समेत सामेल हुन्छन् । उनी इमान्दार हुनुका साथै हट्टाकट्टा र बलिया पनि छन् ।

    निशाले भोलेलाई दाइ मान्दै आएकी छन् । निशाका कारण बच्चाबेलाका दौंतरी जय र भोलेको दुश्मनी बढ्दो छ ।

    उनीहरू लडाईं झगडा गर्छन् । आफू एक्लैले भोलेलाई ठीक पार्न नसक्ने भएपछि जयले ब्रुस्ली (बुद्धि तामाङ) सँग मित लगाउन पुग्छन् । यत्तिकैमा गाउँमा अर्को पात्र शमशेर (सलोन बस्नेत) को प्रवेश हुन्छ । त्यसपछि कथाले नयाँ
    मोड लिन पुग्छ । निशाको प्रेम, जय र भोलेको मिलन र मनमुटावले निम्त्याउने समस्या इत्यादि कुराहरू समेट्दै हास्यरसयुक्त चलचित्र अगाडि बढेको छ ।

    के छ राम्रो ?
    एक घण्टा ४३ मिनेट लामो चलचित्रको कथा तथा प्रस्तुति सरल छ । मित्रताको मूल कथा रहेपनि चलचित्रभित्र प्रेम, हाँसो, रोदन, द्वन्द्व सबै समाविष्ट छ ।

    चलचित्रमा मितेरी प्रथा, वैदेशिक रोजगारीले गाउँमा पारेको असर, युवाहरू जुट्नुपर्छ भन्ने सन्देशहरू पाइन्छ ।

    पात्रहरूलाई सरल तरिकाले चरित्रमा उतारिएको छ । कुनै पनि पात्रको अभिनय कमजोर लाग्दैन ।

    हास्यरसयुक्त प्रसंगले दर्शकहरूलाई मेट मिचीमिची हसाउँछ । खगेन्द्र र सौगातको अभिनय छाप छाड्ने खालको छ । अन्य कलाकारहरू पनि अभिनयमा कम देखिएका छैनन् ।

    कमजोरी
    चलचित्रमा मित्रताको कमजोर कथा उनिएको छ । अन्त्यमा मित्रताको सम्बन्धलाई केही बलियो बनाएपनि शुरूमा मित्रका लागि सानो कुरामा हुने मनमुटाव, लडाईंझगडा, बचपनको दौंतरीलाई सबैभन्दा ठूलो दुश्मन सम्झनु, गर्न खोेजेको राम्रा कामहरू बिगारिदिनु, साथीको व्यवहार देखेर गायब हुनु आदि कुरा दर्शकलाई स्वाभाविक लाग्दैन ।

    मित्रताको मूल कथा भएपनि यसभित्र अन्य थुप्रै कथाहरू पनि रचिएको छ । तर ती कथाहरू गहन नभई झिनो ढंगबाट उनिएका छन् । मितेरी प्रथा, वैदेशिक रोजगारीले गाउँमा पारेको असर, युवाहरू जुट्नुपर्ने भावना आदि
    पाटोलाई खास अध्ययन विना नै प्रस्तुत गरिएको छ । यसले चलचित्रलाई अब्बल बन्न मात्र चुकाएको छैन, चलचित्रलाई खल्लो नै बनाएको छ ।

    चलचित्रभित्र साथीसँग बदला लिने मनोभावले मित लगाइनु, वैदेशिक रोजगारीको असर सामान्य रूपमा मात्र प्रस्तुत गर्नुले चलचित्र केही चुकेको भान हुन्छ । इँटा उद्योगको मालिक भइकन पनि एउटी केटीको निम्ति आत्महत्या गर्न समेत पछि नपर्ने चरित्र दर्शकका लागि अपाच्य लाग्छ ।

    चलचित्रभित्र केही दृश्य बेकारमा थुपारिएको छ । चलचित्रमा द्वन्द्वका दृश्य, सिनेमाहलको दृश्य लगायतलाई छाँट्न सकिएको छैन । यावत् कमीकमजोरीका कारण टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद जस्ता फिल्मबाट कहलिएका
    खगेन्द्रप्रति दर्शक केही निराश हुन सक्छन् ।

    मित्रताको कमजोर कथा भएपनि त्यसभित्रको हास्यरस, गीतसंगीत र पात्रअनुसारको अभिनयले भने चलचित्रले दर्शकलाई हलमा बाँधेर राख्न सक्छ ।

    चलचित्र : जय भोले
    निर्देशक : अशोक शर्मा
    कलाकारहरू : खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, लक्ष्मी गिरी आदि ।
    कथा : खगेन्द्र लामिछाने
    विधा : कमेडी


    लोकान्तरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…