हाल झापाको बिर्तामोडमा रहेर बिगत २५ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील ब्यक्तिको नाम हो, तीर्थ सिग्देल । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य रहेका सिग्देलले आफ्नै सम्पादनमा बिर्ताज्योति साप्ताहिक पत्रिका निकालिरहनु भएको छ । पत्रकारितासँगै पुस्तक लेखनमा पनि पूर्व क्षेत्रमा पहिचान बनाउनु भएका सिग्देलसँग गरिएको कुराकानी ।
तपाई कहाँ जन्मिनुुभयो ?
हाम्रो परिबार २०४० सालमा झापा आएको हो । त्यसअघि हामी मोरंगको सिजुवामा थियो । म त्यहीँ जन्मेको हुँ ।
कस्तो परिवारमा ?
हाम्रो परिबार सामान्य नै हो । घान खेत भएको तर पर्याप्त होइन । त्यो समयमा जग्गाको मूल्य थिएन । तर, अहिले सामान्य गुजारा चलेको छ । कामले साथ दिएको छ, घर परिबार ठीकै ढंगले चलेको छ भन्दा हुन्छ ।
बाल्यकाल कसरी बित्यो ?
मेरो कक्षा ७ सम्मको शिक्षा सौठा माबिमा भयो । त्यसपछि झापाको शनिश्चरे माबिबाट एसएलसी गरेपछि आइकम दमक क्याम्पस र बीकम मेची क्याम्पसमा पढेको हुँ । मूलतः बाल्यकाल त्यती अभाबमा बितेन ।
सन्चार क्षेत्रमा कसरी आउनुभयो ?
२०५० । ०५१ सालतीर मेची क्याम्पसमा पढ्दै गर्दा मेरा फूपाजु गोपीकृष्ण खनाल बिर्तामोडमा बसेर प्रेस र पत्रिका चर्लाइरहनु भएको थियो । त्यो बेला उहाँसँग मेरो भेट भयो । म उहाँकै माध्यमबाट यो क्षेत्रमा आँए, त्यसपछि म निरन्तर यसै क्षेत्रमा छु । यहाँबाट पछि हट्नु परेको छैन ।
सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
मैले सुरुमै काम पाएँ । ०५२ सालमै श्रीसगरमाथा दैनिक, त्यसपछि रेडियो नेपाल, गोरखापत्र दैनिक, जनआस्था साप्ताहिक, प्रकाश साप्ताहिक, सौर्य साप्ताहिक हुँदै लामो समयसम्म नेपाल समाचारपत्र र उज्यालो नेटबर्कमा पनि आबद्ध भएँ । त्यो बेला प्रबिधि थिएन, मोबाइल थिएन, इमेल गर्ने प्रचलन पनि थिएन । प्रबिधीका हिसाब बाहेक अरु त खासै काममा गाह्रो मैले महसुस गर्नु परेको थिएन ।
अरु केही बन्ने सपना थियो की ?
म के बन्छु भन्ने सपना थिएन । त्यतिबेला पछि के हुने भनेर पढ्ने, लेख्ने चलन नै थिएन । तर, एउटा कुरा चाहिँ पक्का हो । मलाई पत्रकार नै बन्ने सपना थियो । जतिबेला म मेची क्याम्पस पुगें, त्यसपछि एउटा घटनाले मलाई पत्रकार बन्न प्रेरित गर्यो । त्यो बेला स्बबियूले निकाल्ने किताबमा मेरो कबिता नछापिए पछि म मा पत्रकार बनेर देखाउने इख पलायो ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
मैले अघि नै भनें की मलाई यस क्षेत्रमा आउन प्रेरित गर्ने मात्र होइन, अगाडि बढाउन मद्धत गर्ने गोपीकृष्ण खनाल हो । पछि आएर कम्युनिष्ट नेता, सांसद् नरेश खरेल हो । उहाँले मलाई लेखिदिएको एउटा चिठ्ठीले पत्रकार बनायो ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
मैले खासै ठूलो संघर्ष त गर्नु परेन । तर, काम गरेको ठाउँमा स्थायित्वको समस्या जहिलेपनि रह्यो ।
मोफसलमा सञ्चार माध्यमहरु चलाउन कत्तिको गाह्रो छ ?
मोफसलमा संचारमाध्यम चलाउन गाह्रो नै छ । तर, अलिकति योजना बनाउने र तरिकाले चलाउने हो त खासै समस्या पर्ला जस्तो लागेन मलाई । यद्यपि, कतिपय नीतिगत कुरामा केन्द्रिकृत सोचले अहिले पनि मोफसललाई माथि उठ्न दिएको छैन भन्ने भने लाग्छ ।
पत्रकारिता क्षेत्र बदनाम किन बन्दै गईरहेको छ ? र, यसलाई रोक्न के गर्नुपर्ला ?
पेशाप्रतिको इमान र ज्ञानको अभाबमा यस्तो भइरहेको छ । जब पत्रकारिता नै गरेर जीवन निर्बाह गर्न सकिन्छ भन्ने लाग्दैन, तब त्यो मानिस यो क्षेत्रमा बदनाम छ । जब त्यो पत्रकारमा लेखेर र बोलेर नै कमाउन सक्छु भन्ने लाग्छ, यो क्षेत्र आँफै शुद्ध हुन्छ । यो क्षेत्रमा हुर्किएको बिकृति अरु कसैले रोकेर रोकिँदैन, यसमा हामी आँफै नै लाग्नुपर्छ ।
आफ्नै नजरमा तीर्थ के हो र को हो ?
खासमा मैले आफुलाई आँफै नै यसरी हेरेको छैन । तर, जहाँसम्म यो प्रश्नको जवाफ दिनुपर्दा म आफ्नो कामप्रति दत्तचित्तले लाग्ने मान्छे हुँ । म मा एउटा बानी छ, त्यो के भने हातमा आएको कुनै काम छ भने त्यो काम नसकी मलाई निन्द्रा नै लाग्दैन । म काममा बिश्वास गर्ने मान्छे हुँ जस्तो लाग्छ ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
मलाई एउटा पत्रकार कै रुपमा बुझे हुन्छ । तर, मैले आफुलाई पछिल्लो समयमा पुस्तक लेखकका रुपमा पनि पहिचान बनाउँदै लगेको छु । तसर्थ यी दुबै पहिचानका बीचमा कतैतिर एउटा आफ्नै कर्मले बाँचेको मान्छे हो भनेर बुझिदिए हुन्थ्यो भन्ने लाग्छ ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
अघि नै भनिसकें की म काममा बिश्वास गर्ने मान्छे हुँ । म धेरै गफ गर्ने स्वभाबको छैन । खोज पत्रकारिताको माध्यमबाट निरन्तर अगाडि बढ्ने प्रण गरेको हुँदा यो क्षमता नै मेरो सबल पक्ष होलाजस्तो लाग्छ ।
अनि कमजोर पक्ष चाहिँ नी ?
मैले काम गर्ने बलियो टिम र अबसर पाइरहेको छैन । जजसलाई सहयोग गरेर अगाडि बढ्न मद्धत गरेको छु, उनीहरुबाट धोका पाएको छु । अलिक सकैलाई छिटो बिश्वास गर्ने र अन्ततः धोका पाउने क्रमले अलिक समस्या पारेको छ । समग्रतामा काम गरेर त्यसको प्रतिफल लिन भने नसक्नु मेरो मुख्य कमजोरी बनेको छ भन्न मलाई कुनै अफ्ठ्यो लागेको छैन ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
म तुला राशीको मान्छे हुँ । तसर्थ, मलाई एउटा नयाँ मानिसलाई भेट्ने र चिनजान गर्ने बित्तिकै थाहा हुन्छ की ऊ कस्तो स्वभाबको मान्छे हो भन्ने । तसर्थ, आफ्नो कामसँग सरोकार राख्ने बाहेकका मान्छेहरुसँग म त्यति संगत गर्दिन र काम पनि गर्दिन ।
तपाईको आफ्नो स्वभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
मूलतः अध्ययन नै प्रमुख कुरा हो । किताबहरुको अध्ययनले पाठ सिकाउँछ । अरुहरुले गरेका काम र उनीहरुका सफलता र असफलताबाट पनि सिक्ने हो । र, त्यसै अनुसार आफ्नो आनी, बानी, ब्यहोरा, आचरण र स्वभाब निर्माण गर्ने हो । म त्यस खाले स्वभाब निर्माण गरेर अगाडि बढ्ने प्रयत्न गरिरहेको छु ।
तपाईलाई कति खेर रिस उठ्छ ?
जतिखेर मान्छेले आफ्नो काम भुल्छ, जतिखेर मान्छेले आफ्नो मूल पेशा र कर्तब्य भुल्छ र २।४ पैसाको पछाडि कुदेर समयको बर्बाद मात्र गर्देन, आफ्नो भबिश्य र पहिचान बिगारिरहेको हुन्छ ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
म अलिक अन्तरमुखी स्वभाबको मान्छे हुँ । मलाई आफुले नभनीकन मान्छेले मेरो कामले चिनुन् भन्ने लाग्छ । बास्तबमा मान्छे कामले नै चिनिने हो, आफ्नो बारेमा आँफै बखान छाँट्ने र अबसर लिनेहरुसँग मेरो गम्भिर असहमति छ । खासमा म त्यतिखेर भाबुक बन्छु, जतिखेर मान्छे कामै नगरी पद लिन मरिहत्ते गर्छन् र पछि सकिन्छन् । म आँफैले पनि ती दिनहरु भोगेको छु ।
तपाईलाई कस्तो स्थितिले उत्तेजित तुल्याउँछ ?
पहिले पहिले मलाई साना साना असफलता र धोकाधाडीले बढी उत्तेजित बनाउँथ्यो । तर, अहिले निक्कै संयम हुन्छु ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
काम बाहेकका कुरामा पनि संयमता चाहिन्छ । बाहिर अरु कुनै क्षेत्रमा रहँदा वा जाँदा पनि यसै समाजले हामीलाई नियालिरहेको हुन्छ । कतिबेला कुन कुराले मानिसको जिबन धरापमा पर्छ भनेर भन्न सकिन्न । तसर्थ, म यस कुरामा बढी नै सचेत र संयम हुने कोशिस गर्दछु ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
आफुले सम्हालेको काम र जिम्मेबारी जब पूरा हुन्छ ।
तपाईका दुःखहरु के हुन् ?
मैले हालसम्म यस्तो दःुखद् क्षणको अनुभूति नै त गरेको छैन । तर, कामै नगरी मेरो कुरा काट्नेहरु मेरा दुःख हुन् । तर उनीलाई मैले चिनेर वा नचिनेर दुःख निबारण गर्ने कोशिस गरिरहेको छु ।
अनि तपाईको सुख चाहिँ नी ?
घर परिबार र काम । जहाँ म रमाउन सकुँ ।
तपाईको जीवनको सबैभन्दा दःुखद् क्षण ?
मैले चाहेको र मागेको बेला काम गर्ने अबसर नपाउनु ।
अनि खुसीको क्षण चाहिँ नी ?
आफ्नो पेशाबाट घरपरिबारलाई टिकाएको छु । यो मान्छे खराब छ भनेर कसैले भनेका छैनन् । यो भन्दा खुशी हुने अरु कुनै क्षण नै छैन मेरा लागि ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
कलेज जीवनमा आइपरेको एउटा स्थिती । जसले झण्डै पढाइलाई बिगारेको थियो ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
आफ्नै बलमा । एउटा आत्मबिश्वासले ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
आजसम्म पनि पत्रकारिता क्षेत्रमा टिकाइरहने ।
अनि गलत चाहिँ नी ?
केही अबसरबादी चरित्र बोकेकाहरुप्रति गरिएको बिश्वास ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
त्यस्तै प्रबृत्तिमाथि बिश्वास गरेर पछि आफुले धोका पाएको दिन ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
कसैले नबुझिदिँदा ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
अहिले त रुनु परेको छैन ।
तपाईलाई कस्तो मान्छे मन पर्छ ?
काममा लागोस्, बेमत्लबको कुराको पछाडि नकुदोस् । हिजो भन्दा आज अलिकति भएपनि उन्नती गरोस् । अरुको बलमा हैन आफ्नै क्षमताले टिकोस् ।
अनि कस्तो मन पर्दैन ?
काम भन्दा पनि कुराको पछाडि दगुर्ने ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
जसले आफुलाई चिन्दैन ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
कहिलेकाहिँ घुम्छु । तर, बढि समय लेखेरै, पढेरै बित्छ ।
लेखन बाहेक तपाईको रुचीको क्षेत्र ?
लेखन नै प्राथमिकतामा छ । यस बाहेक डकुमेन्ट्री हेर्छु ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
खोज अनुसन्धानमा आधारित पुस्तक । र, कथाका किताब । असाध्यै मन परेको पुस्तक चाहिँ मोहन मैनालीको माण्ठा हराएको जुग ।
अहिले कुन पुस्तक पढिरहनु भएको छ ?
अहिले सबिन प्रियासनको सेल्फी उपन्यास ।
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
शन्दर्भ सामाग्रीका लागि बाहेक म दोहोर्याएर पढ्ने गर्दिन ।
कस्ता फिल्म हेर्नुुहुन्छ ?
भूगोल र इतिहाँसबारे बनेका ।
तपाईलाई मनपरेको फिल्म ?
जोधा अकबर
दोहोराएर हेर्नुभएको फिल्म ?
त्यसरी नै त हेर्दिन ।
तपाईलाई म पर्ने हिरो हिरोइन ?
डेनी । कंगना रानावत । तृप्ति
मनपर्ने गायक–गायिका ?
सुरेशकुमार । सुक्मित गुरुंग
तपाईलाई मनपर्ने नेपालका नेता ?
मदन भण्डारी
अनि विदेशका मनपर्ने नेता चाहिँ नी ?
चेग्वेभारा
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
योगेश भट्टराई
तपाईको आदर्श को हो, किन ?
बाबु आमासँगै जसले आज मलाई बिश्वास गरेका छन् । ती मध्ये सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी ।
नेपालका मन पर्ने साहित्यकार ?
पारिजात
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
समयलाई अझै पनि ब्यबस्थापन गर्न नजान्ने । कमर्स पढेपनि अर्के क्षेत्रमा आउनु परेको छ । तैपनि कार्यालय र आफ्ना कामलाई ब्यबस्थित गर्न नसक्नु आफ्नै गुनासो छ
अनि यो समाजप्रति चाहिँ नी ?
समाज एक ढंगले चल्छ । यसलाई कसैले पनि आफु अनुकूल चलाउन पनि सक्दैन । तसर्थ समाजप्रति मेरो कुनै गुनासो भन्दा पनि सहयोग रहन्छ ।
जीवन के रहेछ ?
जीवन एक अनुभव हो, जसको माध्यमबाट हिजो भन्दा आज उन्नती र प्रगति गर्न सकियोस् ।
बाँकी योजना र सपना कस्ता छन् ?
मैले ५ बर्षमा ५ बटा पुस्तक लेख्ने घोषणा गरेको छु । यसै योजना अनुरुप ०७३ सालमा जीवनको गति, ०७४ सालमा पूर्वको राजनीति नामक पुस्तक निकालेको छु । ०७५ भित्रैमा कथासंग्रह, ०७६ मा उपन्यास र ०७७ सालमा नियात्राको पुस्तक आउनेछ । यस बाहेक पत्रकारिताकै क्षेत्रबाट नेतृत्व गर्ने र बाँकी जीवन घुम्ने र किताब लेख्ने योजना र सपना देखेको छु ।
पत्रकारितामा लागेर के पाउनुभयो ?
आज म जे छु, जुन अबस्थामा छु, यो सबै पत्रकारिताकै देन हो । मान्छेहरुले पत्रकारिता गरेर केही पाइन भनेर गुनासो गरेको सुन्छु । तर, मेरा लागि यस्तो अबस्था छैन । म यसमा सन्तुष्ट छु ।
अनि के गुमाउनु भयो ?
थाहा छैन, पत्रकार नभएको भए म के हुन्थें । शायद मेरो कुनै पहिचान हुने नै थिएन ।
पत्रकारितामा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
निश्चयनै । कामप्रतिको निरन्तरता, इमान र अध्ययनले पत्रकारिता पेशामा बाँच्ने बाताबरण बनिरहेको म देखिरहेको छु ।
नयाँलाई के सुझाव दिनुहुन्छ ?
भरसक यो पेशामा नआउनु होस् । आउनुनै हुन्छ भने प्रतिस्पर्धामा नडराइकन टिकेर बसनुहोस् । तपाईको भबिस्य उज्वल छ ।