• भोजपुर, १५ कात्तिक, लोकवार्ता परिषद् नेपालको आठौँ सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कात्तिक १३ गतेदेखि भोजपुरमा सुरु भएको सम्मेलन १५ गते विभिन्न कार्यक्रमहरु गर्दै सम्पन्न भएको हो ।
    कात्तिक १३ गते भोजपुरको ऐतिहासिक बजार टक्सार तथा त्यहाँको ऐतिहासिकताको अध्ययन, अनुसन्धान र निरीक्षण गरिएको थियो । सोही दिन भोजपुर सदरमुकाममा भव्य र्यालीसहित सम्मेलनको सुरुवात भएको थियो । विभिन्न सांस्कृतिक झाँकीसहित सुरु भएको र्यालीले बजार परिक्रमा गरी टुँडिखेलमा उद्घाटन कार्यक्रम गरेको थियो । दोस्रो सेसनमा समन्वय समितिको सभाहलमा विभिन्न ११ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।
    दोस्रो दिन कात्तिक १४ गते बिहानै भोजपुरको ऐतिहासिक क्षेत्र दिङ्गला पुगी विभिन्न कार्यक्रम तथा कार्यपत्र प्रस्तुत गरिएको थियो । पुनः सदरमुकाम फर्किएर कात्तिक १५ गते भोजपुर बहुमूखी क्याम्पसमा तेस्रो दिनको कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमपछि विभिन्न सेसनमा गरी कूल ४० वटा भन्दा बढी कार्यपत्रहरु प्रस्तुत भएका थिए ।
    यसैगरी सम्मेलनले विभिन्न ९ बुँदे भोजपुर घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा भोजपुर सदरमुकाम जोड्ने लगायत विभिन्न गाउँपालिकाका सडकहरु तत्काल निर्माण गर्नु पर्ने, षडानन्द–योगमाया विश्वविद्यालय तथा प्राज्ञिक प्रतिष्ठान स्थापना गर्नु पर्ने, लोकवार्ता विषयलाई त्रिभुवन विश्वविद्यालयले पठनपाठनमा ल्याउनु पर्ने, सुदुरपश्चिम विश्वविद्यालयले लोकवार्ता विषय पठनपाठन गरेकोमा धन्यवाद दिने तथा अन्य विश्वविद्यालयलाई पनि पठनपाठनका लागि आग्रह गर्ने, स्थानीय तहलाई लोकवार्ताको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि विशेष पहल गर्न अनुरोध गर्ने र आगामी नवौं सम्मेलन रोल्पामा गर्न संस्कृतिविद् बमकुमारी बुढालाई जिम्मेवारी दिने लगायतका विषय समावेश गरेको छ ।

    लोकवार्ता परिषद् नेपालको आठौँ राष्ट्रिय सम्मेलन (२०७५) भोजपुर घोषणापत्र
    लोकवार्ता परिषद नेपालको आठौँ राष्ट्रिय सम्मेलन प्रदेश नम्बर १ का धरान, भोजपुर, दिङ्ला आदि स्थानमा सम्पन्न गरियो । सम्मेलनको समापनका अवसरमा हामी निम्नलिखित प्रस्ताव पारित गर्दछौँ ।
    १) ‘हाम्रो परम्परा हाम्रो पहिचान’ मूल नाराका साथ २०७५ कात्तिक १३ गतेदेखि १५ गतेसम्म प्रदेश नम्बर १ का धरान, धनकुटा, अरुण एवम् पौवादुम्बा गाउँपालिका, भोजपुर र दिङ्गलाका विभिन्न ऐतिहासिक, पुरातात्विक, धार्मिक क्षेत्रको अवलोकन, निरीक्षण गरी विशिष्ट ज्ञान प्राप्त हुनु, उपलब्ध ८४ गोष्ठीपत्र मध्ये ६१ गोष्ठीपत्र प्रस्तुत हुनु, लोकवार्ताका संवाहकहरुको पहिचान गरी तत्तत् स्थानमा सम्मान गरिनु आदिलाई यस सम्मेलनका महत्वपूर्ण उपलब्धि मान्दछौँ ।

    २) यस्तो उपलब्धीमूलक सम्मेलन आयोजना गर्न संयोजन गर्नु हुने केन्द्रीय र स्थानीय संयोजक, सहयोगी नगरपालिकाहरु, क्याम्पस, सञ्चारकर्मी तथा कार्यपत्र प्रस्तोताज्यूहरु प्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ ।

    ३) भोजपुर जिल्लाका टक्सार, दिङ्गला, अरुण र पौवादुम्बा, मजुवाबेसी आदि क्षेत्रको बाटोघाटो तथा अन्य आवश्यक पूर्वाधार तयार पारि पर्यटन क्षेत्रको विकास, विस्तार गर्न सम्बन्धित निकायसमक्ष जोडदार अपिल गर्दछौँ ।

    ४) षडानन्द र योगमायाका योगदानको कदर गर्दै यस क्षेत्रमा षडानन्द–योगमाया विश्वविद्यालय वा कुनै उच्च शैक्षिक–प्राज्ञिक प्रतिष्ठान स्थापना गरी यस क्षेत्रको महत्व अभिवृद्धि गर्न पहल गर्नु पर्ने ठहर गर्दछौँ ।

    ५) हाम्रो प्रस्ताव र पहल बमोजिम लोकवार्ता विषय मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर तहमा पठनपाठन गर्ने गराउने निर्णय भएको हुँदा सो विश्वविद्यालयप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।

    ६) हाम्रो पहल अनुरुप त्रिभुवन विश्वविद्यालयमा लोकवार्ता विषयको पठनपाठन गर्न पाठ्यक्रम तर्जुमा भइसकेको भए तापनि पठनपाठन नभईरहेको हुँदा यथाशीघ्र पठनपाठन सञ्चालन गर्न पुनः जोडदार माग गर्दछौँ ।
    ७) साथै अन्य विश्वविद्यालयमा समेत लोकवार्ता विषयको पठनपाठनको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौँ ।
    ८) नेपालको संविधान २०७२ ले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण संवद्र्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको हुँदा लोकवार्ताका विभिन्न विदा र तीनका प्रतिभाको संरक्षण संवद्र्धनका निमित्त स्थानीय सरकारका रुपमा रहेका नगरपालिका र गाउँपालिकालाई सचेत रुपमा सक्रिय हुन आब्हान गर्दछौँ ।

    ९) पोखरादेखि आज भोजपुरसम्म आठवटा राष्ट्रिय संगोष्ठी÷सम्मेलन गरेजस्तै २०७६ सालमा रोल्पामा नवौं राष्ट्रिय संगोष्ठी सुसम्पन्न गर्न परिषद्का सल्लाहकार बमकुमारी बुढा मगरलाई संयोजकको जिम्मेवारी प्रदान गर्दछौँ ।
    मितिः २०७५ कात्तिक १५ गते भोजपुर ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…