वीरेन्द्रकुमार श्रेष्ठ
कार्तिक १० गते शनिबार नेकपाले चियापान कार्यक्रम गर्यो । चियापानमा पचास हजार शुभचिन्तक कार्यकर्ता तथा अन्यलाई निमन्त्रणा गरिएको कुरा समाचारमा आयो र त्यही अनुरुप सहभागिता भएको दाबी पनि नेकपाले गर्यो । आफ्ना कार्यकर्ता शुभचिन्तक प्रदर्शन गर्न गरिएका यस्ता कार्यक्रमले हाम्रा मान्छे यति छन भनेर देखाउन त सफल भयो होला तर जिम्मेवार राजनीतिक पार्टीहरुले गर्ने यस्ता कार्यक्रमहरुले देश र जनताको लागि के फाइदा पुर्यायो त? यसको जवाफ ती राजनीतिक पार्टीहरुले दिन जरुरी छ ।
राजनीतिक पार्टीहरुले गर्ने यस्ता बेतुकका कार्यक्रममा हुने ठूलो धनराशिको खर्च यदि एउटा कुनै सामाजिक तथा बिकासको कार्यमा लगाइन्थ्यो भने त्यसले लाखौ जनता लाभान्वित हुन सक्ने थिए । नेकपाले सम्पन्न गरेको उक्त चियापान कार्यक्रममा भएको खर्च त सार्वजनिक गरेको छैन तर मोटामोटी हिसाब गर्ने हो भने एक ब्यक्तिका लागि नास्ता चिया पानी मिलाएर रु.१०० राख्दा,
नास्ता ५०,०००×१००= रु. ५०,००,०००/-
यातायात खर्च बापत गरेको खर्चलाई टाढा नजिक मिलाएर प्रतिब्यक्ती रु. ३०० ले राख्ने हो भने पनि
५०,०००×३००= रु. १,५०,००,००० /-
कार्यक्रम तयारी खर्च, सजावट , साउन्ड सिस्टम , प्राथमिक उपचार लगायत अन्य बिबिध खर्च = रु. ५०,००,०००/- जति राख्ने हो भने पनि लगभग रु. २,५०,००,०००/- अक्षरुपी दुई करोड पचास लाख जति खर्च गरेर नेकपाको कार्यक्रम सम्पन्न भएको देखिन्छ ।
त्यस्तै गरेर कार्तिक १६ गते आज अर्को ठुलो राजनीतिक दल नेपाली काङ्ग्रेसले पनि नेकपालाई माथ खुवाउने गरि दोब्बर ठूलो चियापान तथा मेलमिलाप कार्यक्रम सम्पन्न गर्यो । नेकपाले ५० हजार जनालाई निमन्त्रणा गरेको थियो भने काङ्ग्रेसले १ लाख जनालाई निमन्त्रणा गर्यो र त्यति नै संख्यामा उपस्थिति रहेको पनि नेता कार्यकर्ताहरुले दाबी गरिरहेका छन र त्यही नेकपाकै खर्चलाई आधार मान्ने हो भने काङ्ग्रेसको खर्च दोब्बर हुन जान्छ । यसको मतलब काङ्ग्रेसले लगभग रु. ५,००,००,०००/- अक्षरुपी पाँच करोड खर्च गरेर चियापान कार्यक्रम सम्पन्न गरेको अनुमान लगाउन सकिन्छ । अनुमानित रुपमा आएको यो खर्च मेल नखान पनि सक्छ , यो भन्दा बढी खर्च भएको पनि हुनसक्छ ।
अब कुराले यहाँ आएर गम्भीर मोड लिन्छ कि यति ठुलो कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक रकम कहाँबाट संकलन गरियो ?
नेताले आफ्नो पकेटबाट निकाले कि? ब्यापारीबाट उठाए कि? कार्यकर्ताबाट चन्दा उठाए कि? एनजीओ आइएनजिओ बाट सहयोग लिए कि? यी प्रश्नहरूको जवाफ सम्बन्धित पार्टीहरुले जनतालाई दिन आवश्यक छ कि छैन ? जनतालाई नै सर्बशक्तिमान मान्ने देशका यी ठुला पार्टीहरुले यसको जवाफ अवस्य दिनेछन ।
देशमा शान्ति , समृद्धि र जनतामा खुशीका लहर ल्याउन लागिपरिरहेको बताउने देशका ठुला राजनीतिक दलहरुले यस्ता देश र जनतालाई एकरत्ति पनि फाइदा नहुने कार्य र कार्यक्रममा कसले बढी गर्ने भनेर पैसाको खोलो बगाउन प्रतिस्पर्धा गर्ने, अनावश्यक रुपमा हजारौं मान्छे भेला गर्न प्रतिस्पर्धा गर्ने, आन्दोलन गर्न, तोडफोड गर्न , बन्द हडताल गर्न प्रतिस्पर्धा गर्ने, आफ्ना अपराधी / भ्रष्टाचारी नेता कार्यकर्ता बचाउन प्रतिस्पर्धा गर्ने, कार्यकताहरुलाई एकर्कामा भिडाउन लडाउन प्रतिस्पर्धा गर्ने , एउटाले अर्कोलाई होच्याउन चिढ्याउन प्रतिस्पर्धा गर्ने, सरकार गिराउन प्रतिस्पर्धा गर्ने, देशलाई अस्थिर बनाइराख्न प्रतिस्पर्धा गर्ने । यस्तो प्रकारको अस्वस्थ प्रतिस्पर्धा कहिलेसम्म गर्ने?
देशका जिम्मेवार र ठुला दलहरूले देश र जनताको समृद्धि र खुशीका लागि राजनीति गरेका हुन्थे भने यस्ता कार्यक्रमहरुमा हुने खर्चहरु जनताको स्वास्थ्य उपचार , बस्ती निर्माण , शिक्षा तथा बिकासका कार्यहरुमा लगाउन प्रतिस्पर्धा गर्थे होला । आफ्ना कार्यकर्ता शुभचिन्तकहरुसँग ठाउँ ठाउँमा बिकासका कामहरु गर्न ,उद्योग कलकारखाना स्थापना गर्न चन्दा उठाउन प्रतिस्पर्धा गर्थे होला ।
फलानो पार्टीले त आफ्नो अगुवाइमा यति ओटा अस्पताल बनायो रे यतिओटा जलविद्युत आयोजना सम्पन्न गर्यो रे अब हाम्रो पार्टीले त्यो भन्दा बढी गर्नुपर्छ भनेर प्रतिस्पर्धा गर्थे होला । फलानो पार्टीले ५० हजार कार्यकर्ता बाटो, बिद्यालय निर्माण तथा सरसफाइमा परिचालन गर्यो रे हाम्रो पार्टीले १ लाख परिचालन गर्नुपर्छ भनेर प्रतिस्पर्धा गर्थे होला ।
यो पार्टी सरकारमा पुग्यो रे राम्रो कामको थालनी गरिरहेको छ यसलाई साथ सहयोग दिनुपर्छ भनेर प्रतिपक्षमा रहेर सरकारलाई चौबीसै घण्टा गिराउन हैन सफल बनाएर देश बिकास गर्न हातेमालो गर्थे होला । तर बिडम्बना यहाँ जिम्मेवार पार्टीहरुले कहिले पनि देश र जनताको समस्यालाई गम्भीर भएर लिएको पाइएन । आफ्नो समस्या , पार्टीको समस्या, आफ्नो कार्यकर्ताको समस्यालाई मात्र समस्याको रुपमा हेरियो । देश बिकासको लागि कहिले पार्टीहरु बीच मेलमिलाप भएन बरु खुट्टा तान्ने काम मात्र भयो । भयो त केवल देश लुट्ने काममा मात्र मेलमिलाप ।