• काठमाडौं, १८ कात्तिक । देशलाई स्वदेशमै सिमेन्ट उत्पादन गरेर आत्मनिर्भर बनाउने भन्दै सरकारसँग सहुलियत लिँदै सिमेन्ट उत्पादन गर्दै आएका अधिकांश कम्पनीबाट उत्पादित सिमेन्टहरु गुणस्तरहीन भएको पाइएको छ ।

    अधिकांश सिमेन्टहरु गत तीन वर्षअघि गएको भूकम्पको झट्का थेक्न नसकेर घरहरु भत्किन पुगेका थिए । स्वदेशी उत्पादनको लोगो र ट्याग लगाएर बजारमा बिक्रीका लागि पुगेका अधिकांश सिमेन्टहरुबाट उपभोक्तामात्र हैन व्यवसायीले सरकारसम्मलाई ठगी गरेको फेला परेको छ ।

    केही महिनाअघि लगानीकर्ताहरुलाई मुर्ख बनाउन कम्पनीहरुले प्राथमिक सेयर बिक्री गर्ने र प्रिमियम थपेर लगानीकर्ताबाट पैसा थुत्ने क्रममा नयाँ श्रृंखलामा शिवम् सिमेन्ट नामको कम्पनीबाट ठगी धन्दाको कार्य सुरु भएको पाइएको छ ।

    एकातर्फ गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको छ भने अर्कोतर्फ सेयरको नाममा ठगी धन्दा चलाएको आरोप सो कम्पनीमाथि लागेको छ । शिवम्ले सेयरबजारमा चलाइने ठगी धन्दाको चरण गत साउन १३ गतेबाट सुरु गर्दै पहिलो निशाना मकवानपुरबासीलाई बनाएको छ ।

    शिवम् सिमेन्ट्सले उद्योग प्रभावित मकवानपुरवासीहरुका लागि प्रतिकित्ता ३ सय रुपैयाँका दरले प्रिमियमसहितको मूल्यमा साधारण सेयर बिक्री सुरु गरेर ठगी गरेको खुलेको छ । कम्पनीले उच्च प्रिमियम राखेर तीन वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने सेयर उद्योग प्रभावित मकवानपुरवासीहरुलाई बेचेर ठगी गरेको भेटिएको हो ।

    मकवानपुरको हटियाबासीले आफ्नै गाउँमा स्थापित उद्योगमा प्रतिकित्ता एकसय रुपैयाँमै सेयर पाउने आशामा रहेकाहरुमाथि सो कम्पनीले दुई सय रुपैयाँ प्रिमियम थपेर तीन सय रुपैयाँमा सेयर बेचेर, तीन वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने सेयर दिने तयारी गरेको छ ।

    विद्यमान ऐनअनुसार उद्योग प्रभावितहरुका लागि बिक्री गरिएको सेयर तीन वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाइने र त्यसलाई धितो राखेर कर्जा पनि नपाइने धितोपत्रसम्बन्धी नियममा उल्लेख छ ।

    यसको प्रत्यक्ष मारमा अहिले शिवम्ले महंगो मूल्यमा बिक्रीमा राखेको आठ लाख ८० हजार कित्ता सेयर किन्ने मकवानपुरबासीहरु ठगिन पुग्नेछन् । शिवम्ले स्थानीयबासीहरुलाई बेच्न लागेको प्रतिसेयर नेटवर्थ न्यूनतम १ सय ५९ रुपैयाँ रहेको सेयरलाई कम्पनीले तीन सय रुपैयाँमा बेच्न लागेको छ ।

    यसैबीच, गुणस्तरहीन सामान उत्पादन गरेको भन्दै सरकारको सम्बधित निकायबाट कारबाहीमा समेत परिसकेको उद्योग हो शिवम् सिमेन्ट । गुणस्तर तथा नापतौल विभागले सरकारी मापदण्डभन्दा कम गुणस्तरको सामान उत्पादन गरेको भन्दै कारबाही गरेको थियो ।

    तत्कालीन समयमा विभागले सबैभन्दा बढी सिमेन्ट र डण्डी उद्योगमाथि कारबाही गरेको थियो । जसमा हिमाल आइरन एन्ड स्टिल्स, रिलायन्स सिमेन्ट, नेपाल सिलिण्डर उद्योग, शिवम् सिमेन्टलगायतका कम्पनीहरुबाट उत्पादन भएका समानहरु गुणस्तरहीन भएको भन्दै कारबाही गरिएको थियो ।

    त्यसैगरी, ओम, बुटवल र घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टमा खराबी फेला परेपछि त्यस ब्याजका सम्पूर्ण सामान बजारबाट फिर्ता लिन र बिक्रीवितरणका रोक लगाइएको थियो ।

    विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएको अभियोगमा शुभश्री जगदम्बालाई समेत कारबाही गरेको थियो । त्यसैगरी, नेपाल गुणस्तरले तोकेभन्दा कम गुणस्तरका सिमेन्ट उत्पादन गरेको भन्दै सिद्धार्थ सिमेन्टको उत्पादनमा रोक लगाए पनि अहिले फुकुवा गरेको छ ।

    त्यस्तै, अरनिको सिमेन्ट, सुप्रिम सिमेन्ट, सर्वोत्तम सिमेन्टमाथि पनि विभागले कारबाही गरेको कम्पनी हुन् । यसरी कम गुणस्तरका सिमेन्ट उत्पादन गर्ने विशाल, अम्बे, इस्टर्न कसमस, बुटवल सिमेन्ट, आरएमसी, कलश ब्रान्डको सिमेन्ट उत्पादन गर्ने श्री सिमेन्ट, शिवम् सिमेन्ट, चितवन सिमेन्ट र जय मंगलम् सिमेन्टमाथि पनि कारबाही गरिएका कम्पनीहरु हुन् ।

    यसरी पटक–पटक गुणस्तरहीन रहेको भन्दै सरकारले कारबाही गरेका कम्पनीबाट विना अवरोध सिमेन्टहरु उत्पादन हुँदै आएको छ । सरकारले अनुगमन गरेर कारबाहीमा परेको शिवम् सिमेन्टले आम उपभोक्ताहरुलाई झुक्काउने योजना नै बनाएर ‘गुणस्तरमा नो कम्प्रोमाइज’ भन्दै विज्ञापन गरेर उपभोक्तामाथि ठगी धन्दा चलाएको पाइएको हो । (आर्थिक दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…