• काठमाडौं । नेकपा सचिवालय सदस्य वामदेव गौतम र पुष्पकमल दाहाल प्रचण्डले एउटाले सरकारको विरोध गर्ने र अर्कोले उग्रसमर्थन गर्न सहमति गरेका छन् ।

    जसअनुसार गौतमले गत शनिबार राजधानीको एक कार्यक्रममा पार्टीको घोषणापत्रअनुसार सरकारले काम गर्न नचाहेको भाषण गरिरहेकै बेला प्रचण्ड भने अब सरकार गुड्ने मात्र होइन, उड्छ भनिरहेका थिए ।

    आगामी माघसम्ममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने योजनाअनुसार दुवै नेताले एकै मिसनका लागि अलग अलग भूमिका निर्वाह गर्ने सहमति भएको बुझिएको छ ।

    सहमति भएको एक सातापछि आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गौतमले लबिङ सुरु गरेका छन् । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि चौतर्फी आक्रमण भएकाले त्यसको प्रतिवाद गर्न आग्रह गरिरहेका बेला पार्टीका प्रभावशाली नेता गौतमले भने सरकारकै विरुद्धमा लबिङ सुरु गरेका हुन् ।

    उनले नेकपाका केही नेतामा दुई तिहाइको दम्भ रहेको दाबी गर्दै आफू पक्षीय सांसदहरुलाई भित्रैदेखि सरकारविरुद्ध लबिङ गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । त्यसको संकेतस्वरुप यसै साता भएको एक कार्यक्रममा उनले दिएको अभिव्यक्तिबाट पनि पुष्टि गर्दछ ।

    दुई तिहाइको सरकार हुँदा सबै काम हुने र बहुमतको सरकार हुँदा केही नहुने भन्ने होइन, ०१५ सालमा नेपाली कांग्रेसको दुई तिहाइ थियो । त्यसपछि कुनै एक पार्टीको सरकार दुई तिहाइको छैन । काम गर्ने संख्याले होइन, पार्टीको भिजनले हो, उनले भने ।

    यो सरकारमा विकासको भिजनभन्दा पनि गफ गर्ने कला मात्रै भएको बताएर गौतमले सरकारविरुद्ध आफै पनि आक्रमक भएको संकेत गरेका थिए । उनले कांग्रेसले पनि पटक पटक बहुमत ल्याएको बताउँदै कालान्तरमा कांग्रेसभित्र देखिएको गुटबन्दीले सिध्याएको र नेकपामा त्यसको संकेत देखिएको दाबी गरेका थिए ।

    उनी पक्षीय सांसदहरु घनश्याम भुसाल, रामकुमारी झाँक्री, नवीना लामालगायतले यसको जिम्मेवारी पाइसकेका छन् । भुसाललाई रुपन्देहीमा भएको पार्टीको चियापान कार्यक्रममा समेत सहभागी गराइएको थिएन भने झाँक्रीलाई संसद् र पार्टीभित्र कुनै जिम्मेवारी दिइएको छैन ।

    त्यस्तै, केन्द्रीय सदस्य ठाकुर गैरे र प्रदेश सांसद किरण गुरुङ पनि यो टिममा सहभागी भएको स्रोतले जनाएको छ । खासगरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग झगडा परेपछि उनी सरकारविरुद्ध खुलेरै लाग्न सुरु गरेका हुन् ।

    उनले सरकारले पार्टीको चुनावी घोषणापभत्रअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । चुनावअघि उनकै नेतृत्वमा पार्टीको घोषणापत्र तयार भएको थियो । तर, सरकारको नीति कार्यक्रममा घोषणापत्रको एक अक्षर पनि परेन भन्दै त्यसबारे आफूलाई एक शब्द नसोधिएको दाबी गरेका छन् ।

    उनले पार्टीभित्र आन्तरिक निरंकुशता बढ्दै गएको भन्दै आफू निकटकालाई निवास भैंसेपार्टीमै बोलाएर छलफल गरेका थिए ।

    खासगरी ईश्वर पोखरेलले पार्टीको अर्का केन्द्रीय सदस्य सूर्य थापालाई प्रयोग गरी बद्नाम गर्न खोजेको विषयमा पनि गौतमले पार्टीभित्र सो बारेमा कुरा उठाउन निकट सदस्यहरुलाई आग्रह गरेका थिए । पार्टीका अध्यक्ष प्रचण्डले सरकारको बचाउ गरेको बेला गौतमले सरकारको विरोध गर्न थालेका हुन् ।

    प्रचण्डले नै उनलाई सांसद बनाउन खोजे पनि असफल भएको बेला सरकारविरुद्ध गौतमले पार्टी र सरकार दुवैतिर लबिङ सुरु गरेका छन् ।

    सरकारको कार्यशैलीप्रति पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, अमृत बोहरा, सोमनाथ प्यासी, जनार्दन शर्मालगायतका नेताहरु असन्तुष्ट भएकै बेला गौतमले पनि आफ्नो असन्तुष्टिलाई सतहमा ल्याएकाा छन् ।

    पार्टी एकताको समेत सूत्राधार मानिएका गौतमले यसअघि पनि आफ्ना असन्तुष्टिहरु व्यक्त गर्दै आएका थिए । अहिले केपी ओली र सरकारको समर्थनमा भने प्रचण्ड मात्रै देखिएका छन् । तरुणका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…