काठमाडौं, २० कात्तिक । तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो । तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो ?’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा सजिएका युवायुवती भड्किला अंग्रेजी गीत बजाएर नाच्छन् । आपसमा हाँसखेल, रमाइलो र ठट्टा गर्ने बानी छुट्दै गएको छ । इन्टरनेटमा उपलब्ध सामग्रीले आत्मीयता खोसेको छ । पुस्तान्तरणसँगै चाडबाड मनाउने शैली पनि बदलिएको छ । यसलाई स्वाभाविक रूपमा हेर्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । ‘समाजलाई विविध पक्षले प्रभाव पारेको हुन्छ । विज्ञानप्रविधिमा भएको चामत्कारिक विकासले नयाँ पुस्तालाई प्रभावित गरेको छ । त्यसैको परिणाम अहिले देखिएको हो ।’
अचेल देउसीभैलोको महत्व खेल्नेले नै भेउ पाउँदैनन् । आशीर्वाद दिँदाको शब्दभाव, लय, शैली र बजाइने बाजागाजा लोपजस्तै भइसकेका छन् । ८४ वर्षीय ग्वंग भन्छन्, ‘परम्परा र शैली सांस्कृतिक परम्परावादबाट सांस्कृतिक गतिशीलतामा रूपान्तरण भएको छ ।’ प्रविधि मात्र होइन, सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक पक्षले पनि नयाँ पुस्तालाई मनोवैज्ञानिक प्रभाव पारेको उनी बताउँछन् ।