भीम देवान
सङ्खुवासभा, कार्तिक २०
“सत्ययुगको कुरो, एक समय बलि राजा सिकिस्त बिरामी परेछन् रे । उपचारका अनेक बिधि गर्दा पनि राजालाई ठिक भएनछ । जनता साह्रै चिन्तित भए । उनीहरुले राजाको स्वास्थ्य लाभको कामना गर्दै देवीदेवता भाके, पूजा गरे । नभन्दै केही समयपछि राजालाई ठिक पनि भयो । राजालाई सन्चो भएको थाहा पाएपछि दरबारमा जनताहरु भीड लागे । राजाले हुकुम दिए, ‘तिमीहरुको आशिर्वादले म बाँचे, यो खबर सबैलाई सुनाईदिनु’ । उपस्थित भएकाहरु यो शुभ खबर लिएर नाचगान गर्दै घरघर पुगे । राज्यभरि दीपावली भयो ।”
याक्खा समुदायमा तिहार र देउसी–भैलोको उत्पत्तिबारे यो लोकोक्ति प्रचलित छ । भैलेनीहरु अझै गाउँछन्, ‘हामी त्यसै आएनौ, बलिराजाले पठा’को, औंसीको दिन गाईतिहार भैलो’ । देउसेहरुको देउसीरेले पनि यस्तै व्यहोरा बोल्छ ।
संखुवासभा जिल्लालाई मुलभूमि मान्ने आदिवासी याक्खा जातिमा तिहारको महत्व बिशेष छ । परापुर्वकालदेखि तिहार मान्दै आएका याक्खाहरु अहिले पनि उत्तिकै उल्लासका साथ तिहार मनाउँछन् । जबकि नेपालीहरुको महान चाड भनिने दशैं भने सुनसान हुने गर्दछ । २०५० सालताका मार काट्ने र टिका लगाउने प्रचलन छोडिएसँगै दशैंमा आफन्त भेटघाट गर्ने क्रमसमेत घट्दै गएको छ ।
याक्खा समाजमा तिहारकै अवसरमा ‘तेन्ताम्मा’ जस्ता मौलिक पूजाहरुसमेत हुने गर्दछ । अन्नबाली र गाउँको सह (लच्छिन) माग्दै गरिने यस्तो पूजा याक्खा गाउँपिच्छे सम्पन्न हुन्छ । याक्खा जातिले आफ्नो मौलिक पहिचान मान्ने ‘डोकेनी नाच’ ले पनि यो समुदायमा तिहारको रौनक थप बढाउँछ । महिलाहरु मात्र सहभागी हुने यो नाच लक्ष्मी पुजाको रात घर–घर डुलेर नाच्ने गरिन्छ । तिहारमा घरको काम बिर्सदै पुरुषहरु आफुमात्र जुवातासमा भुलेपछि यस बिकृतिविरुद्ध महिलाले बिद्रोह गर्ने क्रममा डोकेनी नाचको उत्पत्ति भएको किंवदन्ती छ ।
यसरी समाजका पहिचानको रुपमा रहेको सँस्कार र सँस्कृतिको ईतिहास नै तिहारसँग गाँसिएको भएर पनि हुनसक्छ याक्खा समाजमा तिहारको रौनकमा कमी आएको छैन । यमपञ्चकको पहिलो दिन कागको पूजादेखि पाँचौं दिन भाईटीकासम्म गरिने सबै रीतिमा परिवर्तन भएको छैन, एकनास छ । अझ लक्ष्मीपूजाको साँझदेखि हुने देउसी, भैलो र डोकेनी जस्ता नाचगानले गाउँघरमा तिहारको रमझम थप उल्लासपूर्ण हुनेगर्छ । परदेश गएकाहरुसमेत तिहारकै बेला घर फर्कने गरेका छन् । जसले गर्दा तिहारको माहौल अझ पर्वमय हुन्छ ।
देशकै महान र बिशेष भनिएको दशैं सुनसान हुँदै जाँदा तिहारको रौनकता भने कायमै किन त ? याक्खा सँस्कार र सँस्कृतिका खोजकर्ता मागमान जिमी यसबारे दुई तर्क अघि सार्छन् । भन्छन्, ‘याक्खा समाजमा दशैंको नाईके तत्कालीन जिम्मावालहरु हुन् । राज्यद्धारा केही प्रशासनिक अधिकारसमेत पाएका जिम्मावालहरुको अगुवाईमा दशैैं विधिवत हुन्थ्यो । जब त्यो जिम्मावाल प्रथाको अन्त्य भयो, दशैंको महत्व र रौनक पनि हराउँदै गएको हो’ । हिन्दु चाड भनिने गरेकाले पनि याक्खालगायत किरात समुदायमा दशैंप्रति वितृष्णा बढ्दै गएको र बहिष्कारसमेत हुन थालेको उनको भनाई छ ।
‘तिहार भने जिम्मावाल र रैती (जनता) नभनी जनस्तरबाटै मनाईयो । यसमा धार्मिक आस्था गाँसिएन । अझ बिशेष, तिहारसँगै सम्बन्धित सँस्कृतिहरु भएकाले पनि याक्खा समाजमा तिहारको लोकप्रियतामा कमी नआएको हो’ जिमीको तर्क छ ।
याक्खा समाजमा तिहारको महत्व र उल्लास यथावत रहेको चलचित्रकर्मी देउकृष्ण देवान बताउँछन् । ‘दशैंमा फुर्सद हुने मात्र हो । देउसी–भैलो, डोकेनी र भाईटिकाले तिहार भने चाडपर्वझैं लाग्छ । चेलीबेटीको हातबाट निधारमा टिका र गलामा सयपत्री, मखमलीको माला लगाउँदा आत्मैदेखि रोमाञ्चित भईन्छ । रमाईलो लाग्छ,’ उनले तिहारको रौनकता वर्णन गरें । ‘याक्खा जातिको सामाजिक संस्था किरात याक्खा छम्माका सहमहासचिव सोनाम याक्खाको अनुभवमा याक्खा समुदायले दशैं मान्न छाडेपनि तिहार भने धुमधामकासाथ रमाईलो गरेर मनाउने गरेका छन् ।
केही गाउँहरुमा सेतो टिका लगाउनेबाहेक याक्खाहरुले दशैंको विधि छाडिसकेका छन् । तिहारमा भने माईतीहरु पनि भाईटिका लगाउन टाढा रहेका चेलीकहाँ पुग्ने गर्छन् । टोल–टोलमा लिङ्गेपिङ, पाँचै दिन हुने तिहारको विधिवत पूजा, रातभर देउसीभैलो र नाचगानले पनि याक्खा समाजमा तिहारको महत्व कायमै रहेको सङ्केत गर्दछ । अर्थात् तिहारको उत्पत्तिबारे प्रचलित किंवदन्ती अनुसार, याक्खा समाजमा ‘बलि राजाको हुकुम’ अझै चल्दैछ ।