न कसैको पक्ष न कसैको विपक्ष, मात्र निष्पक्ष कलम चलाउने पूर्वी मोरङका क्रियाशिल पत्रकार हुन,रुपेन्द्र शेर्मा ।
विवेचना ,राससमा काम गर्नुभएका शेर्माले झण्डैं दुई दशक समय पत्रकारितामा खर्चिनुभएको छ । हाल झापाको प्रतिदिन दैनिक र उर्लाबारीस्थित रेडियो ईन्द्रेणीमा कार्यरत शेर्माको कलमले यस क्षेत्रका गतिविधीहरु निक्कै समेटेको छ । निजामती कर्मचारी हुने सपना बोकेपनि शेर्मा कसरी पत्रकारितामा आउनुभयो,कस्ता कस्ता समस्या झेल्नुभयो,उहाँको आरोह अवरोह हामीलाई बताउनुभएको छ । उर्लाबारीस्थित सञ्चार क्लव नेपालको पूर्व अध्यक्ष समेत रहनुभएका शेर्मासँग गरिएको कुराकानी जस्ताको तस्तै-
तपाई कहाँ जन्मीनुुभयो ?
मोरङको राजघाट–८ छिन्ताङ्गे टोलमा ।
कस्तो परिवारमा ?
मध्यम बर्गीय किसान परिवारमा ।
बाल्यकाल कसरी बित्यो ?
विद्यालयको पढाई, साथीहरुसँग गुच्चा, खोप्पी, भाले जुधाई र फुटबल खेलेर बित्यो । बाँकी समय घरमा गाई, गोरु, भैंसीको स्याहार गरेर बित्यो ।
सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
२०५७ साल माघ महिनाको कुरा हो । गते चाँही याद छैन । म झापा, दमकमा मेरो माइली दिदी भद्रको डेरामा गएको थिँए । मेरी कान्छी बहिनी उर्मिला पनि त्यहीँ बस्थिन् । त्यसरात म त्यहीँ वास बसे । भोली पल्ट बिहान बहिनीले ब्लाष्ट दैनिक पत्रिका किनेर ल्याई । ब्लाष्टमा विवेचना दैनिकका लागि दमक समाचारदाता आवश्यक परेको विज्ञापन छापिएको रहेछ । बिए सम्मको पढाई सकेपछि म रोजगारीको खोजीमा थिएँ । मेरो दिदीबहिनीसँगको सरसल्लाहमा मैले उक्त पत्रिकामा दरखास्त दिएँ । विवेचनाका लागि दमक समाचारदातामा काम गर्न दरखास्त दिने अरु पनि थिए । तर कतिजना थिए भन्ने मलाई थाह छैन । भद्रपुरस्थित तत्कालिन विवेचना दैनिकको कार्यालयमा परीक्षा दिएँ । विवेचनाका तत्कालिन प्रधानसम्पादक नकुल काजीले मलाई छनौट गरे । यसरी मैले पत्रकारिता सुरु गरेँ ।
सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
सुरुमा समाचार लेख्न गाह्रो भयो । सुरुमा सबैलाई भइनै हाल्छ । बिस्तारै बानी बस्दैगयो । सुरुदेखि नै पत्रिकाको मार्केटिङ पनि गरेँ । ग्राहक बनाएँ । पत्रिकाको पैसा उठाएर अफिसमा पठाएँ । विज्ञापन खोँजे । विज्ञापनको पैसा उठाएर अफिसमा पठाए । पारीश्रामिक लिँए । यसरी पत्रकारितालाई निरन्तरता दिँए ।
अरु केही बन्ने सपना थियो की ?
मेरो सपना निजामती कर्मचारी हुने थियो । सुरुमा अल्पकालिन रोजगारका लागि पत्रिकामा काम गरेको थियो । तर, बिस्तारै पत्रकारितामा रस भिज्दै गयो । अझ समाजमा पत्रकारको रुपमा परिचित भइसकेपछि यसलाई छाड्न मन लागेन । त्यैपनि पत्रकारिताको कमाईबाट घर खर्च चलाउन नसकेपछि एकपटक लोकसेवाको परीक्षा दिँए । तर नाम निस्केन ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
पत्रकारिताका लागि मैले निकै संघर्ष गरेँ । अझैपनि संघर्ष जारी छ ।
आफ्नै नजरमा रुपेन्द्र शेर्मा के हो र को हो ?
म एउटा सामान्य पत्रकार हुँ । म आफ्नो इमान्दारिता प्रति प्रतिबद्ध छु । नाम र दाम कमाउन वेइमान गर्न मन पर्दैन ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
आत्मविश्वास, इमान्दारिता र सबैसँग समान व्यवहार ।
अनि कमजोर पक्ष चहि नी ?
ममा सहनशीलता त्यति छैन । अरुले गाली गर्दा चुप लागेर बस्न सक्दिन । सहने बानी त्यति छैन ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
उसको नियत, व्यवहार, बोलीचाली र कार्यसम्पादन हेरेर मेरो धारणा बन्छ ।
तपाईलाई कतिखेर रिस उठ्छ ?
मलाई त्यति रिस उठ्दैन । तर, कसैले बारम्बार नराम्रो व्यवहार गर्न थाल्यो भने, हेप्न थाल्यो भने, डोमिनेट गर्यो भने रिस उठ्छ ।
अनि कतिखेर भावुक हुनुहुन्छ ?
अरुले अनावश्यकरुपमा नराम्रो व्यवहार गर्यो भने भावुक हुन्छ । प्रायजसो प्रसन्न रहने मेरो आदत छ ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
ठीक ठीकै मात्र ।
अनि कतिखेर खुुशी हुनुहुन्छ ?
साथीभाई र आफन्तबाट राम्रो व्यवहार पाउँदा म खुशी हुन्छु ।
तपाईका दुःखहरु के हुन् ?
समाजमा नैतिकता, इमान्दारिता र क्षमताले प्रश्रय नपाउँदा । विवेकहिन, स्वार्थी र अवसरवादीहरुको बोलबाला हुँदा । मानिसहरु अनावश्यकरुपमा अरुको नकरात्मक कुरा गरेको देख्दा र समाजको सकरात्मक परिवर्तनमा गतिरोध सिर्जना हुँदा म दुःखी हुन्छु ।
अनि तपाईको खुशी र सुख चाहि नी ?
शान्ति, मेलमिलाप, विकास र व्यक्तिगत स्वतन्त्रताले मलाई सुखी र खुशी बनाउँछ ।
तपाईको जीवनको सबैभन्दा दुखद क्षण ?
२०५० साल चैत महिनादेखि एक÷डेढ बर्षसम्म म मृगौलासम्बन्धी विमारी भएँं । वैशालु उमेरमा अथवा साथीहरुसँग हिँड्ने, खेल्ने र रमाइलो गर्ने बेलामा विमारी परेर थन्किनुपर्दा निकै दुःखी भएँ । तर संघर्ष, धौर्यता र आत्मविश्वासका कारण स्वास्थ्यपोचारपछि म निको भएँ ।
अनि खुशीको क्षण चहि नी ?
एसएलसी पास गर्दा म निकै खुशी भएको थिएँ ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
मृगौलासम्बन्धी रोग लागेको बेला आफू अप्ठ्यारो मोडमा पुगेको महशुस भयो ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
तत्कालिन वीर अस्पतालका नेफ्रोलोजी युनिटका चिफ डा.पिआर सत्याल र फिजिसियन नेफ्रोलोजिस्ट डा.ऋषिकुमार काफ्लेले स्वास्थ्य परीक्षण गरेर दिएको औषधि सेवन गरेपछि म निको भएँ ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
सबैभन्दा सही निर्णय छुट्टयाउनै गाह्रो भयो । यही नै सबैभन्दा सही निर्णय गरेँ भनेर छुट्टयाउन गाह्रो छ ।
अनि गलत चहि नी ?
विद्यालय पढ्दा पढ्न छाडेर साथीभाईसँग खेल्न जाने निर्णय गर्दा गलत निर्णय गरेँजस्तो लाग्छ ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
२०६४ सालमा बुबा स्वर्गवास हुँदा सबैभन्दा बढी रोएँ ।
तपाईलाई कस्तो मान्छे म पर्छ ?
असल, इमान्दार, मिहनेती र सहयोगी मान्छे मलाई मन पर्छ ।
अनि कस्तो मन पर्दैन ?
बेइमानी, स्वार्थी, धोकेवाज र अरुको नराम्रो कुरा मात्रै गरिरहने मान्छे मलाई मन पर्दैन ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
इन्टरनेट चलाएर ।
पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?
कृषि र व्यापार ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
कथाकार गुरुप्रसाद मैनालीको ‘बसाईं’ ।
दोहोर्याएर पढ्नुु भएको पुुस्तक ?
टिन एजमा प्रेमकथामा आधारित उपन्यासहरु दोहोर्याएर पढ्थें । तर, ती उपन्यासहरुको नाम भने अहिले सम्झना छैन ।
कस्ता फिल्म हेर्नुुहून्छ ?
मनोरञ्जन (गीत र नृत्य) समावेश गरिएको तर, कारुणिक कथाबस्तुमा आधारित चलचित्र मन पर्छ ।
तपाईलाई मनपर्ने फिल्म ?
अमिताभ बच्चन हिरो भएको भारतीय चलचित्र ‘अन्धा कानुन’ ।
दोहोराएर हेर्नुभएको फिल्म ?
धेरै छन् । टिन एजमा धेरै फिल्म दोहोर्याएर हेरेँ । आफू १६ बर्षको हुँदा अमरिश पुरी भिलेन भएको, धर्मेन्द्र, शत्रुघन सिन्हा र करण कपुर हिरो भएको भारतीय चलचित्र ‘लोहा’ आठपटकसम्म दोहोर्याएर हेरेको छु ।
तपाईलाई म पर्ने हिरो हिरोइन ?
हिन्दी हिरोमा सञ्जय दत्त, हिन्दी हिरोइनमा क्याट्रिना कैफ । नेपाली हिरोमा राजेश हमाल र नेपाली हिरोइनमा दिपिका प्रसाई ।
तपाईलाई रुवाएको फिल्म ?
फिल्म हेर्दा रुको चाहीँ छुइन । सबै एक्टिङ मात्र हो, किन रुने ?
मनपर्ने गायक–गायिका ?
गायक उदितनारायण झा र गायिका रजिना रिमाल ।
मनपर्ने ठाउँ ?
पोखरा ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
खासै छैन । त्यैपनि नामै लिनुपर्दा बिपि कोइराला ।
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
अब्राहम लिंकन
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
गगन थापा
जीवन के रहेछ ?
आमाको गर्भदेखि चिहानसम्मको यात्रा । त्यसअवधिको अनुभव ।
बाँकी योजना र सपना कस्ता छन् ?
पत्रकारितासँगै शेयर बिजनेस र आधुनिक कृषि तथा पशुपालन गर्ने । विदेश भ्रमण ।
पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
समाजलाई हेर्ने, बुझ्ने, अध्ययन गर्ने र नागरिकहरुलाई सूचना प्रवाह गर्ने ।
अनि के गुमाउनु भयो ?
व्यक्तिगत समय गुमाएँ ।
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
बजार महँगीले गर्दा आधुनिक जीवनशैलीमा जीउन गाह्रो छ । तर, विगतको तुलनामा सजिलो बन्दैगएको छ ।
नयाँलाई के सुझाव दिनुहुन्छ ?
पत्रकारितालाई दुरुपयोग नगर्ने प्रतिबद्धताका साथ यस क्षेत्रमा लाग्न सुझाव दिन्छु ।