प्यारी बहिनी
मुटुभरीको माया र आशीर्वाद !
महान पर्व तिहारको रमझम शुरु भइसकेको छ। फेसबुकका भित्ताहरुमा सजिएका रंगीचंगी तिहारका शुभकामना हरुले , तस्वीरहरुले झिमिमिली बत्तीहरुले , ढकमक्क फुलेका मखमली सयपत्री फुलहरुले, देउसी भैली गीतहरुले ती दिनहरुको यादलाई मुसलधारे बर्षा झै बर्साइरहेछ जब हामी साना थियौ। हामी कति खुसी हुन्थ्यौ, रमाउथ्यौ।
त्यो बेलाका एक एक रमाइला र उल्लासपुर्ण सम्झनाहरु मेरो मनमा ताजा अतित बनेर झक्झकाउदै गिज्याइरहेछ। कति रमाइलो थिए है ती दिनहरु जब तिमी भैलो खेलेर बटुलेको पैसाले मेरो लागि चिटिक्क परेको रुमाल किनिदिन्थ्यौ । बैनीले दिएको उपहार भन्दा धेरै मुल्यको केही उपहार दिनुपर्छ भन्ने मैले सानै भएपनी राम्रै बुझेको थिए त्यसैले त्यसको जोहो गर्न अलि अगाडि देखि नै धान उठाइसकेको खेतमा झरेका धान सिला खोज्न जान्थे र त्यो सिला खोजेर ल्याएको धान बेचेर आएको पैसा जोगाएर राख्थे । तिमीलाई दिने उपहार अझै राम्रो होस भनेर सिला खोजेर पाएको पैसामा बिहानदेखि राति अबेरसम्म खेलेको देउसीबाट उठेको पैसा पनि थप्ने गर्थे । अझै त्यतिमा पनि चित्त नबुझे आमासँग रोइकराइ गरेर भएपनी पैसा मागेर थपेर भएपनि राम्रै उपहार पैसाको जोहो गर्थे जुन तिमीले पनि खुशी भएर स्विकार्ने गर्थ्यौ ।
ती दिनहरु याद छ बुनु जब तिमी केही खाइरहेकी हुन्थ्यौ त्यो मैले पनि थोरै खान माग्दा नाइ दिन्न भन्थ्यौ , झर्किन्थ्यौ तर मैले मायाले यो दादाको माया लाग्दो रहेनछ तिमीलाई , अरुलाई चाहिँ दिन्छौ मलाई दिदैनौ , म तिमीसँग बोल्दिन कट्टी , अब अर्कैलाई बुनु भन्छु भनेर भन्दा तिम्रो भावमा जलन महसुस गर्थे र " जा अलिकति मात्र दिन्छु भनेर आधा नै दिन्थ्यौ " अनि म मेरो बुनु भनेर मायाले गालामा म्वाई गर्थे अनि तिमी मलाई छोडेर त्यसलाई बुनु नभन्नु भन्थ्यौ।
भाइटिकाको दिन कलिला ती हातहरुले मेरो दाजुको जीवनमा बाधा अप्ठ्याहरु कहिले नआउन भनेर दादा आखा चिम्म गरेर बस्नु यता नहेर्नु भनेर, मैले नदेख्ने गरि देख्नै नपाउने गरी ढोका बन्द गरेर ढोकामै ओखरका रुपमा ती बाधा अप्ठ्याराहरु फोडेर कुचोले बढारेर फालिदिन्थ्यौ ।
सात रंगको टीका नभइ नहुने मलाई तिमीले पुर्याउन नसके म पनि किनेर ल्याएर पूरा गर्थे । मालाको लागि फुलहरु घरमा कहिलेकाही ढिलो फुल्नाले , ढिलो फुल रोपिएकोमा पछुतो मानिन्थ्यो है बुनु। अनि मालाको लागि फुल जम्मा गर्न कति गाह्रो हुन्थ्यो तिमी भैलो खेल्दा अनि मैले देउसी खेल्दा सिदामा आशीर्वाद दिन दिएको फुल पनि जोगाएर ल्याउथ्यौ । साथीहरुको मागेर अनि थोरै किनेर भएपनि चाहिने फुल जम्मा गरेर सुन्दर माला तयार गर्थ्यौ। मेरो लागि भनेर ठुलो ठूलो फुलहरु छानेर कति राम्रो माला बनाउथ्यौ । त्यो माला कहिले छड्के त कहिले सिधा बनाउदै लगाएर हल्लाउँदै सबैलाई देखाउदै हिड्थे । यस्तो लाग्थ्यो तिमीले मलाई राजानै बनाइदिएकी छौ । तिमीले सप्तरंगी टीका लामो बनाएर मेरो निधारमा लगाइदिएर मेरो आयु लामो बनाइदिएकी छौ ।
कपालमा तेल ठोकिदिएर चिसो सर्दीबाट बचाइदिएकी छौ। ओखर फुटाएर मेरा अगाडि आउने बाधा अड्चनहरु टुक्राटुक्रा पारेर फालिदिएकी छौ । तेल देरै हालेर ननिभ्ने गरि बालिएको दियोले मेरो भविस्य उज्ज्वल बनाइदिएकी छौ । हसिलो मुहारले वरिपरि घुम्दै तेलको घेरा बनाएर स्वच्छ मनले पुजेर भगवानसँग मेरो उन्नति, प्रगति , समृद्धि ,आराम कुशलता अनि दिर्घायुको कामना गरेकी छौ । त्यो तेलको घेरा लगाएर शत्रुहरु त परै जाउन यमराजबाट पनि मलाई सुरक्षित राखेकी छौ । यति धेरै माया बिश्वासले मेरो लागि प्रार्थना गरेकी छौ कि मेरो खुसीको अगाडि तिम्रो खुशी केहि हैन । मेरो खुशी नै तिम्रो खुशी हो । तिम्रो यति धेरै माया, बिश्वास र आशीर्वाद पाएर म वरपर कोहि भन्दा कम महसुस गर्दिन थिए । मैले पनि मेरो बुनुको खुसीको लागि, सु-स्वास्थ्य, दिर्घायुको लागि निधारमा तिमीले जस्तै मैले पनि तिम्रो निधारमा लामो सप्तरंगी टीका लगाइ दिन्थे । टीका लगाइ सकेर मीठो मीठो खानेकुरा सेल रोटी , केराउको अचार , फलफुल अनि विशेष गरेर गुलियो त्यो छोकडा( खजुर ) आहा कति मिठो, हामी मिलेर खान्थ्यौ , रमाउथ्यौ अनि पर खेतको बीचमा लगाएको लिङ्गे पिङ खेल्न सँगै जान्थ्यौ ।
तिमीलाई पिङ खेलाउन अरुको पालो मिचेको अहिले जस्तो लाग्छ । तिहारका ती सम्झनाहरु जति पुरानो हुँदै गयो हरेक नयाँ तिहारहरु आउदा ताजा बनेर मानसपटलमा घुमेर आउदो रहेछ । परदेशिएको पिडामा अझ पिडा बनेर थपिदो रहेछ। जसोतसो सबै दुख पिडा भुलेर हास्न खोजिरहदा यी अचानक आइदिने अतितका यादहरुले फेरि उहीँ पीडा बल्झाइदिदो रहेछ।
सायद यी भावनाहरु आज उजागर हुन्थेनन होला यदि परदेशिनु नपरेको भए , घरको अवस्था बिदेशिनु नपर्ने गरी मजबुत भइदिएको भए , देशमै केहि गर्ने वातावरण भइदिएको भए, सच्चा देशभक्त नेताहरुले देशलाई समृद्ध बनाइदिएको भए, देशमै रोजगारीको अवसर सबैलाई मिलेको भए, परिश्रमको उचित ज्याला देशमै मिलेको भए। दिनभरी काम गर्यो खान धौधौ पर्ने त्यो परिस्थितिमा कसरी सन्तानको भविस्य बनाउने होला भनेर मलाई परदेशिन बाध्य बनायो।
सात समुद्रपारी रहेर आज तिमीलाई मिस गरिरहदा मन भारी भएर आएको छ। झिलिमिली छ सडक, चोक , बजार तर मनमा शान्तिको दियो बल्न सकेको छैन । आँखा रसाएका छैनन् तर मन नसुक्ने गरि भिजेको छ ।
यहाँ पल पल जिन्दगीलाई मृत्युुको धारमा राखेर काम गरिरहदा पनि तिमीले लगाइदिएको लामो सप्तंरगी टिकाको आशीर्वादले होला बाचेकै छु। तिमीले ओखर सँगै बाधा अप्ठ्याराहरु फुटाएर होला आत्महत्या गर्ने गरी जीवनमा बाधा अप्ठ्याराहरु आएका छैनन् । परिश्रम गरिरहेको छु नसुक्ने मखवली फुलहरु झै खुशी जीवनमा सधैभरीका लागि ल्याउनलाई । खटिरहेको छु ननिभ्ने त्यो चम्किलो समृद्धि र आशाको दियो जीवनमा जलाउनलाई । यहाँ अरुको जुठो भाडा माझिरहेछु किनकि हाम्रो लागि सबैले एकैचोटि बसेर खान पुग्ने भाडाकुडा किन्न सकियोस भनेर। सगरमाथा जत्रो घरको बाहिरी भित्तामा झुन्डिएर काम गरिरहेछु, किनकी हाम्रो लागि एउटा राम्रो झुपडी बनाउन सकियोस भनेर ।
बिदेशी घर र रोड चम्काइरहेछु ,गाली र बेइज्जती सहिरहेछु, भोलि त्यहा हामीले आत्मसम्मान रुपले बाच्न सकियोस भनेर । पसिनाले लगाएको कपडा धुदै मरुभूमिलाई हरियो बनाइरहेछु बस तिमीले लगाइदिने सप्तरंगी टीका जस्तै हाम्रो भविस्यलाई रंगीन र उज्यालो बनाउनलाई । मैले बर्ष दिनमा एकपटक खिचेका रंगीबिरंगी तस्वीरहरुले मेरो दैनिकी उजागर गरेको नसोच बुनु, मैले बर्ष दिनमा एकपटक खाने KFC पिज्जाहरु मेरो दैनिक खाना पनि हैन । यो त मलाई अपार माया गर्ने तिमी, सबै परिवार, र मित्रहरुमा मेरो बास्तबिकताले दुखी नबनाओस भन्ने मेरो चाहना मात्र हो । हरेक भिडियो कल अनि भ्वाइस कलहरुमा म तिमीसँग कति खुशी भएर र हासेर बोलिरहेको हुन्छु । तिहारको शुभकामना दिइरहेको हुन्छु । म नभएपनि भाइटिका पहिले जस्तै राम्रो मनाउन भनिरहेको हुन्छु । तर तिमीसँग कुरा गरिसकेपछि एक्लै रुन्छु, सम्झी सम्झी , रुन्छु , पीडा सबै पखालिने गरि रुन्छु । म यो सबै तिम्रो अगाडि गर्न चाहन्न किनकी म तिमीलाई कमजोर बनाउन चाहन्न , तिमीलाई दुखी बनाउन चाहन्न ।
यति रमाइलो खुसीको पर्वमा तिम्रो आसु झार्न चाहन्न । तिमी सधै खुशी रहनु, तिम्रो जीवनमा कहिले पनि बाधाहरु नआउन , दुख भन्ने शब्द तिम्रो शब्दकोषमा नरहोस, रोगबिमार सधै टाढा रहोस , तिम्रो जीवन फलोस, फुलोस , सुरक्षित र दिर्घायु रहोस् । भविस्य उज्ज्वल बनोस । यहि मेरो आशीर्वाद र भगवानसँग प्रार्थना छ बुनु। तिम्रो हातले सपतरंगी टीका नथापेको पनि धेरै बर्ष बितिसक्यो। यो बर्ष पनि यसै बित्ने भो खाली निधार , खाली गला ।भाइटिकाको दिन यो निधार अति नै सकसकाउछ सायद मेरो फोटोमा तिमी टीका लगाउदै हुन्छौ होला ।
मलाई सम्झिरहेकी हुन्छौ होला ! तर बुनु चिन्ता नगर म मात्र हैन म जस्ता ५० लाख दाजुभाइहरुको निधार मेरो जस्तै खाली रहेको बर्षौ भएको होला । उनिहरुका दिदीबहिनी पनि तिमी जस्तै तड्पिरहेका होलान । त्यसैले यो बर्ष त बितिहाल्ने भो अर्को बर्ष सम्म तिमीले फोडेको ओखर , लगाइदिएको लामो सप्तरंगी टीका , तेलले लगाइदिएको घेराले बाधा, अड्चनहरु अनि काललाई छेकेर राखेछ भने अवस्य आउनेछु। फेरि हामी रमाउनेछौ । माया सद्भाव साट्ने छौ। दुख सुखका कुराहरु गरेर रुने हास्ने छौ । प्यारी बुनु आशा गर्छु यो चिट्ठी तिहारको ब्यस्ततलाले गर्दा तिहार पछि मात्र पढ्ने छौ जसले गर्दा तिहार अघि यो परदेशी दाजुलाई सम्झेर दुखी हुने छैनौ। अन्त्यमा तिहार तथा भाइटिकाको लाखौ शुभकामना दिदै बिदा हुन्छु। उहीँ तिमीलाई धेरै माया गर्ने तिम्रो परदेशी दाजु !!
वीरेन्द्रकुमार श्रेष्ठ
हाल युयई