उर्लाबारी । लिम्बू समुदायले तिहारको समयमा आफ्नै भाषा र लयमा खेल्ने देउसी र भैलो अर्थात लारीङ्गे र नाम्लिङ्गे पछिल्लो समय जोगाउनै मुस्किल भएको छ । बलिहाङको आयुको पुकार गर्दै देउसी र भैलो भन्ने ठाउँमा यो समुदायमा लारीङ्गे र नाम्लिङ्गे भन्ने भन्ने गरिन्छ । दिन–रात तथा समयअनुकूल लारीङ्गे र नाम्लिङ्गे शब्दको प्रयोग गरिन्छ । तर, पछिल्लो समय युवापुस्ताले यो संस्कृतिलाई बेवास्ता गरेकाले संस्कृति नै लोप हुन लागेको भन्दै यो समुदायका अग्रजले चिन्ता व्यक्त गरेका हुन् ।
पहिला–पहिला गाउँका घरघरमा गई लामो समयसम्म लारीङ्गे र नाम्लिङ्गे खेली संस्कृतिको संरक्षण गर्ने गरिएपनि पछिल्लो समय युवाहरु पाश्चात्य संस्कृतिमा तानिएको लिम्बूवानी नेता असोक चेम्जोङ बताउनुहुन्छ । अहिले यसको संरक्षणका लागि किराँत याङ्थुङ चुङ्लुङलगायतका केही संस्थाले सहरकेन्द्रित देउसी खेले पनि गाउँका युवा र लिम्बू समुदायले भुल्दै गएको उहाँको भनाइ छ ।