मन्जु आचार्य
आज त उसको विवाहको दिन मेरो मनले उसलाई सम्झदै थियो, नचाहँदा नचाहँदै, तर उसले मलाई बोलाएन वा बोलाउन चाहेर पनि बोलाउन सकेन त्यो त उसैले जानोस् तर बोलाएको भए पनि त म जान्न थेँ होला, तर गएर उसलाई शुभकामना दिएर आउन पनि त सक्थेँ। यस्तै सोचेर म कोठामा घोरिएर बसिरहेकी थिएँ। ढोका घरक्क खुल्यो। बिन्दु आईपुगिछ।
ओए, आज तेरो सुदिपको बिहे होईन तँलाई बोलाएन? तर बोलाओस् पनि कसरी तीनतीन वर्ष देखिको प्रेमलाई टुक्र्याएर आज अर्कै केटीलाई सिन्दुर हाल्दैछ। ऊ एकोहोरो बोल्न थाली म चुपचाप सुनिरहेँ प्रतिकृया बिहीन भएर। तँ के चुपचाप घोरिएर बसेकी, तँलाई एकचोटी पनि भेटेन सोधेन त्यसले, विहे गर्नु अगाडि म विहे गर्दैछु भनेर कस्तो मान्छे रहेछ। त्यस्ता धोकेबाज ले त धोकैधोका सहनु परोस्, त्यसलाई कहिल्यै सुख भए पनि सन्तुष्टी नहोस् त्यसकी बुढीले त्यसलाई कहिल्यै माया नगरोस्, के–के, के–के भनेर सरापिरही, म चुपचाप मौन बसेँ। टेलिभिजन हेर्दाहेर्दै लाइन गएकोले टेलिभिजन अफ पनि गरेकै थिइन। लाइन आयो र म टेलिभिजनको रिमोटमा हात चलाउन थालेँ। उसलाई सायद म धेरै पिरमा छु जस्तो लागेर होला धेरै बेर बसिन उसलाई सरापेर मात्र गई, मलाई केही भनिन। म पनि ऊ गएपछि टेलिभिजन अफ गरेर एकछिन निदाउने चेस्टा तर्फ लागेँ। अतितका क्षणहरु सम्झन थालेँ।
म भर्खर कलेज जान थालेकी थिएँ। घरबाट कलेज अलि टाढै भएकोले म कलेज बसको प्रयोग गर्थेँ । ऊ पनि म चढेको ठाउँ भन्दा केही अगाडिबाट बसमा चढ्थ्यो। ऊ म भन्दा सिनियर बिद्यार्थी थियो। म भर्खर सत्र पुगेर अठार लागेकी थिँए। सायद म मा पनि जवानीको रंग चढ्न थालिसकेको थियो होला। म त्यति नराम्री पनि त होइन आखिर, राम्रै पनि त छु आखिर, त्यतिबेला पनि त थिँए। त्यही बसमा आवत जावत गर्ने क्रममा उ सँग परिचय भएको थियो, कलेजमा त ऊ कहाँ म कहाँ। म अलिक रौसी खालको मान्छे थिएँ भने ऊ गम्भीर प्रकृतिको थियो। कस्तो कस्तो उसलाई विश्लेषण गर्नै नसकिने। आउँदा जाँदा बसमा म सबैलाई रेला गरेर सबैलाई हँसाई रहन्थेँ। ऊ सायद त्यही मेरो खुलापनले मप्रति आकर्सित हुँदै गयो होला, मसँग हरेक दिन केही न केही बोलिरहन थाल्यो। केही महिना पश्चात उसैले हो प्रेम प्रस्ताव राखेको।
ढोकाको ढकढकले फेरि मेरो तन्द्रा भंग भयो। उठेँ र ढोका खोलेँ, बिन्दु र मनु आईपुगेछन्। आलस्यताले त्यसै जिउ भारी भईरहेको थियो। निदाउन नसकेकोले होला आँखा पनि रातो भएको थियो। यद्यपि मेरो मन चंङ्गा भईरहेको अनुभूति भईरहेको थियो। मनुले पहिले मुख खोली “रोईरहेकी थिइस कि केहो? हेर त्यस्तो धोकेबाजलाई सम्झेर रुनुभन्दा अब नयाँ जिन्दगीको बारेमा सोच। हैन म रोएकी छैन अलि अलि मुस्कुराउन खोज्दै मैले भनँे। हेर हरेक पीडालाई मूस्कानले छोप्नुपर्छ। उसले तँलाई बिर्सन सक्छ भने बिर्सिदे तँ पनि उसलाई। बिन्दुले भनी । मलाई उनीहरूको आदर्शताले भरिएको बोली सुन्दा रमाइलेै लागिरहेको थियो। जो आफ्नो प्रेमीले धोका दिँदा पटकपटक म कहाँ आएर रोएका थिए, उसको राम्रो र नराम्रो दुबैका कामना गरेका थिए। थुप्रै बेर खै के के भनिरहे। आदर्शता ले भरिएको बोली बोलिरहे, मलाई उनीहरूको त्यस्तो बोली सुन्दा रमाईलै लागिरहेको थियो। म उनीहररूको कुरामा वास्ता नभएझै पुरानो नारी पत्रिका झिकेर पढ्न थालेँ। म कति गर्दा पनि नबोलेपछि उनीहरू गए। मलाई अतितमा डुब्न मन लागिरहको थियो। म फेरि अतितमा हराउन थालेँ।
त्यो दिन भ्यालेनटाइन डे को दिन थियो। म केही साथिहरूसँग सिमसार क्षेत्र घुम्न गएकी थिएँ। जहाँ प्रकृतिको सौदर्य बिछ्ट्टै राम्रो थियो। बेतका झ्याङहरु सुन्दर सालघारीको जंगल बीचमा पोखरी, चराहरूको चिरविर, यस्तै सुन्दरतामा हामी हराउँदै थियौँ। उसलाई कुनै प्रोगाम मिलाउन भन्दा आमा बिरामी हुनुहुन्छ भनेको थियो। मैले साथीहरूलाई भनेर त्यहाँ घुम्ने योजना बनाएको थिएँ। मलाई धेरै साथीहरूसँग घुम्न, समुहमा हिँड्न एकदमै रमाइलो लाग्थ्यो म मनमनै खुसी भएकी थिएँ। मलाई आजकल ऊ सँग हिँड्न त्यति मन पर्दैनथ्यो तर म उसलाई छाड्न पनि सक्दिनथेँ। अकस्मात उसलाई मैले बेतको झ्याङमुनी एउटी केटी सँग देखेँ। तर उसले मलाई देखेन मैले साथीहरूलाई देखाएँ। उनीहरूले “ तँलाई उसले धोका दिएछ जा गएर गाली गर त्यो केटीलाई पनि भुत्याईदे, त्यसले त्यसरी धोका दिन पाउँछ र?” भन्दै धेरै भने तर मैले मानिन। त्यो केटी ले के सोच्ला जस्तो लाग्यो। उसलाई त्यस अवस्थामा देख्दा मलाई रमाईलो पो लाग्यो। उसलाई गिज्याउने अर्को शीर्षक भेटेजस्तो लाग्यो। साथीहरूले भनेजस्तो गर्न त्यस केटीको पो माया लाग्यो जसमा मैले आफुलाई पाएँ र लाखौ नारीको प्रतिबिम्व देखेँ।
अब त मलाई भेट्न पनि ऊ आनाकानी गथ्र्यो, फोन गर्दा ब्यस्त छु भन्थ्यो। मलाई भने उसले यसो गर्दा स्वतन्त्रताको अनुभुति हुन्थ्यो। नत्र कोही केटा सँग वोल्दा पनि को के हो? को जवाफ दिनुपथ्र्यो। मलाई आफ्नो कुरामा अरूले हस्तक्षेप गरेको मन पर्दैनथ्यो। उसले मलाई यसो गर त्यसो नगर भनेर बारम्वार भनेको मन पर्दैनथ्यो। मलाई उसले यसो गर्दा एकदमै खुसी लाग्थ्यो।
अरू धेरै साथीहरुसँग समय बिताउन ऊ एक्लैसँग समय बिताउनु भन्दा मलाई रमाइलो लाग्थ्यो। मलाई उसको अभाव पनि कहिल्यै महसुुस भएन। पछिल्ला दिनहरूमा उसलाई सोच्दा मैले उसलाई प्रेम गरेकै थिइन कि जस्तो लाग्थ्यो। तर उसलाई र अरू कसैलाई पनि यो कुरा भन्न पनि सक्दिनथेँ। एकै छिनमा त्यो कुरा बिर्सी पनि हाल्थेँ।
उसको विवाहको मिति तय भएछ। त्यै हामीले देखेको केटीसँग सुनिताले घरमै आएर मलाई सुनाई। ए होर मैले हाँस्दै जोक गरेझै गरी भनेँ। साँच्चै भनेको के उडाएकी भन्दै थिई खै के काममा हो म बाहिर जान ठिक्क परेकी हुनाले थप कुरा सुन्नै भ्याईन केके केके त भन्दै थिई । भरे घर फर्केर आएँ। सुनिता को कुरा सम्झिएँ विश्वासै लागेन केही क्षण त तर यथार्थ नै रहेछ उसको विवाह हुने। तर म त दुःखी हुनु पर्ने कति सोच्दा पनि अहँ पटक्कै दुःख लागेन । खुसी र रमाइलो को पो अनुभूत गर्न पुगेँ। उसको जीवन सुखी होस् अझ त्यो केटी सुखी होस मैले कामना गरेँ। उसँग भेट भए देखिका कुरा सम्झेँ, उसँगका प्रेमका कुरा सम्झेँ त्यतिखेर त मैले बिर्सेको रहेछु भोली उसँग विवाह हुन्छभन्ने त्यसै पो सबैको लहडमा पो बोलेको रहेछु, अँह मैले प्रेम नै गरेको रहेनछु। उसलाई त म केवल साथी को माया गर्दो रहेछु। यस्तै सोचेर म आफ्नो काम तर्फ लागेँ।
तीन दिन पश्चात मैले उसलाई उसकी नवदुलहीसँग दुलन फर्काएर आउँदै गरेको देखेँ। साँच्चै मलाई एकदमै खुसी लाग्यो। आखिर मैले प्रेम नगरे पनि धोकेबाज त ठहरिन नि। म उ भए ठाउँ गएँ र उसलाई बधाई तथा शुभकामना दिँए। उ अकमकायो तर मलाई उसलाई त्यसरी देख्दा एकदमै खुसी लागेको थियो। म केही कुरा ऊ र उसकी दुलही दुबै सँग कुरा गरेर फर्कीए। लाग्यो साच्चै मैले उसलाई प्रेम गरेकै रहेनछु।
उर्लाबारी गजल मञ्ज