विश्व प्रसिद्ध व्यक्तिहरुको १ हजार मुर्ति राष्ट्रलाई उपहार दिने अभियानमा होमिएका युवा हुन्,मन्जुल मितेरी । हाल जापानको खामिआमाकुसा शहरको विशाल पहरामा बिश्वको अग्लो बुद्धको मुर्ति कुँदिरहेका मन्जुल अहोरात्र खटिरहेका छन् ।
मितेरीले २०६२ सालमा १० वर्षको अवधिमा १ हजार मुर्ति प्रदान गर्ने घोषणा गरेका थिए । तर घोषणासँगै पारिवारिक जिम्मेवारी र आर्थिक बोझले आफ्नो सपना पुरा गर्न सकेनन्,तर पनि उनी त्यो सपना पुरा गरेरै छाड्ने भनेर लागिरहेका छन् ।
२०७२ सालमा युवा प्रतिभा पुरस्कारबाट सम्मानित मन्जुल मुर्तिकलामा मात्र नभएर साहित्य श्रृजना र गायन क्षेत्रमा पनि क्रियाशिल छन् ।
उनको कथा संग्रह ‘अर्काको देशमा’ यसअघि प्रकाशन भएको थियो । उनले आफ्नै स्वरमा गीत रेकर्ड पनि गरिसकेका छन् भने उनको गीत अन्य प्रतिभाहरुले पनि गाएका छन् ।
आगामी २०८४ फागुनभित्र राष्ट्रलाई १ हजार मूर्ति उपहार दिने लक्ष्यका साथ आफू अघि बढेका मन्जुलको यहाँ सम्म आईपुग्दाको आरोह अवरोह रातोकलमले जान्ने प्रयास गरेका छौ ।
तपाई कहाँ जन्मिनुु भयो ?
☞ जन्म त झापाको ढुकुरपानी दुम्सेमा भएको हो तर बालखकालदेखि नै मेरो हुर्काई, बढाई र पढाई मिक्लाजुङ (साबिक टाँडी)मा भएको हो ।
कस्तो परिवारमा ?
☞ अत्यन्तै बिपन्न परिवारमा ।
बाल्यकाल कसरी बित्यो ?
☞ गरिबी र अभाव भएपनि बुबाआमाको माया ममताको छत्रछहारीमा बाल्यकाल बित्यो ।
मूर्तिकला कसरी आउनुभयो ?
☞ ११ बर्षको उमेरमा कक्षा ६ को आफ्नो पाठ्यपुस्तकमा अरनिकोको जिवनीबाट प्रेरीत भएर मूर्ति बनाउन शुरु गरेको हो ।
सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
☞ मूर्ति बनाउने सामग्रीको अभाव र बाल्यकालको अधैर्यतामा मूर्तिकलाको शुरुवाती दिनहरु गाह्रो भएपनि उमङ्ग र उत्सुक्ताले भरीपूर्ण थियो ।
यो क्षेत्रलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
☞ साधना, सिर्जना र चेतनाको सुन्दर सम्मिश्रणको आकार हो मूर्तिकला ।
अरु केही बन्ने सपना थियो की ?
☞ १४ बर्षको उमेरमै एस.एल.सी. पास गरेको हुँ, यत्तिकै सरासरी पढ्दै गएर पि.एच.डी. गर्ने अनि मूर्तिकलामार्फत अरनिको जस्तै बन्ने सपना थियो तर गरिबीका कारण मेरो पढाईलाई त्यहाँसम्म पुर्याउन सकिन, मूर्तिकलामा चाहिं निरन्तर साधनारत छु ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
☞ म आफै यो कलामा लागेको हो तर त्यतिबेलाको म फूच्चे मूर्तिकारलाई यस क्षेत्रमा लागिरहन मेरो बुवाले मलाई धेरै टेवा दिनुभयो ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
☞ धेरै नै संघर्ष गरियो र अझैपनि गरि नै रहेको छु ।
आफ्नै नजरमा मञ्जुल के हो र को हो ?
☞ मञ्जुल एक आम श्रमीक हो जसले आफ्नै जिन्दगीलाई खानी सम्झेर अझ धेरै हिरामोतीहरु भेटिन्छ भन्ने विस्वासमा दिनरात खोतलिरहेको छ ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
☞ एक सरल, आफ्नो पौरखमा विश्वास गर्ने परिश्रमी ब्यक्ति ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
☞ एक आम मानिसका सबल पक्षहरु सायद मसँग पनि थोरै त होला ।
अनि कमजोर पक्ष चहि नी ?
☞ त्यो चाहिं नभनौं की ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
☞ उसको ब्यबहार र बोलीमा कत्तिको तादाम्यता छ, त्यसमा भर पर्छ ।
तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
☞ म जस्तो छु त्यस्तै देखिन्छु ।
तपाईलाई कति खेर रिस उठ्छ ?
☞ नकारात्मक परिणाम निस्कने नकारात्मक कामहरु दोश्रोचोटी, तेश्रोचोटी देख्दा, भोग्दा रीस उठ्छ र यो स्वभाविक पनि हो ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
☞ जब ममा अरु कसैको दुःख, समस्यामा आफूले मद्दत गर्न सक्ने हैसियत हुदैन, त्यतिबेला मलाई ज्यादै नै भावुक तुल्याउँछ ।
तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
☞ म बारम्बारको अन्याय सहन सक्दिन ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
☞ मेरो संयमताको सिमानालाई हदैसम्म लचिलो राख्ने कोशिस गर्छु तर धेरै भार पर्यो भने त्यो टुटेको पनि छ ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
☞ कठोर परिश्रम गरेपछि निस्केको सुखद परिणाममा अथाह खुशी मिल्छ ।
तपाईका दुःखहरु के हुन् ?
☞ मेरा दुःखहरु मेरो लागि उर्जा हुन् ।
अनि तपाईको सुख चाहि नी ?
☞ मैले गर्ने सिर्जनशील साधना मेरो सुख हो ।
तपाईको जीवनको सबैभन्दा दुखद क्षण ?
☞ बुवाले अलिकति ऋण समयमा तिर्न नसक्दा साहूले मैले भर्खरै पाएको एस.एल.सी.को प्रमाणपत्र लगिदिनु भयो जसले गर्दा म एकबर्ष पढाईबाट बञ्चित हुनुपर्यो । त्यस्तै द्वन्दकालमा मेरो दाजुको बेकसुर हत्या हुँदाको क्षण अत्यन्तै दुखी थिए ।
अनि खुसीको क्षण चाहि नी ?
☞ राष्ट्रलाई उपहार दिन भनी जब मैले पहिलो मूर्ति बनाउन शुरु गरें, त्यो क्षणको आनन्द अवर्णनीय छ ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
☞ उर्लाबारीमा मूर्तिकला ब्यवसाय शुरु गर्दाका दिनहरु अत्यन्तै कष्टमय थियो ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
☞ मेरी श्रीमती कौशिलाको अदम्य साथमा हामीले त्यो काल पार गर्यौं ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
☞ सायद, ती कठोर दिनहरुमा मैले मूर्तिकलालाई छोडिन ।
अनि गलत चाहि नी ?
☞ गलत निर्णय सायदै गरेको छैन होला ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
☞ गलत निर्णय सायदै कम भएकोले होला, पछुतो पनि छैन ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
☞ ताप्लेजुङ्गबाट २ दिन पैदल हिंडेपछि हिमाली भेगको एक घरमा बास बस्न पुग्दा राती अबेर एक बालकले जङ्गलमा हराएका भेंडाबाख्राको बथान लिएर घर आईपुगे । त्यस घरमा उनै नाती र हजुरबुवामात्रै बस्दारहेछन् । तमोर र घुन्सा नदीको बाढी र पहिरोको बाटोको कारण २ घण्टा परको विद्यालय जानु सम्भव नभएकोले ती बच्चाले नपढी बसेका रहेछन् । यो कुराले मेरो मन चिमोटियो, त्यो रातभर एक्लै रोएको छु ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
☞ र, आज फेरी उनै बच्चाको याद आयो र रोईरहेको छु ।
तपाईलाई कस्तो मान्छे मन पर्छ ?
☞ सरल, मेहनती र दृढविस्वासी ।
अनि कस्तो मन पर्दैन ?
☞ ढोंगी, धोकेबाज र खुट्टा तान्ने प्रवृति भएका मानिसहरु ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
☞ कतिपय मानिसहरु मन नपरेपनि घृणासम्म चाहिं म पुग्दिन ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
☞ फुर्सदको समयमा जे गरिन्छ त्यो पनि कामै त होला ।
मूर्तिकला बाहेक तपाईको रुचीको क्षेत्र ?
☞ साहित्य र संगीत
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
☞ बि पी कोईरालाका पुस्तकहरु
अहिले कस्ता पुस्तक पढिरहनु भएको छ ?
☞ हिजोआज कुनै पनि पुस्तक पढिरहेको छैन ।
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
☞ म प्राय दोहोर्याएर पढ्दिन किनकी पहिलो पढाईको अनुभूतीले दोश्रो पढाई खल्लो भएको महशुस हुन्छ । कुनैपनि पुस्तक पहिलो चोटीमै म सय प्रतिशत लगाव लगाएर पढ्ने कोशिस गर्ने गर्छु ।
कस्ता फिल्म हेर्नुुहून्छ ?
☞ परिवर्तनकामी र सन्देशमूलक फिल्महरु हेर्ने गर्छु ।
तपाईलाई मनपर्ने फिल्म ?
☞ धेरै छन्, त्यसमध्ये ‘बलिदान’ एउटा हो ।
तपाईलाई पर्ने हिरो हिरोइन ?
☞ नेपालका प्राय सबै नायक नायिकाहरु मलाई मन पर्छ ।
तपाईलाई रुवाएको फिल्म ?
☞ धेरै छन्, त्यसमध्ये ‘बलिदान’ एउटा हो ।
मनपर्ने गायक–गायिका ?
☞ भक्तराज आचार्य, अरुण लामा
मनपर्ने ठाउँ ?
☞ मिक्लाजुङ्ग टाँडी — मेरो प्यारो गाउँ ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
☞ जिवितमा सयप्रतिशत मन पर्ने नेता कोही हुनुहुन्न ।
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
☞ बाराक ओबामा
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
☞ सायद जनार्दन शर्मा, गोकर्ण बिष्ट, लालबाबु पण्डित र गगन थापाहरुमा देशका लागि केही गरौं भन्ने प्रयत्न देखिन्छ ।
तपाईको आदर्श को हो, किन ?
☞ लियोनार्दो दा भिञ्ची । वहाँ बहुमुखी प्रतिभाशाली ब्यक्तित्व हुनुहुन्थ्यो ।
नेपालका मन पर्ने साहित्यकार ?
☞ बि पी कोईराला
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
☞ छैन । जे जति छु, खुशी छु ।
अनि यो समाजप्रति चाहि नी ?
☞ यो समाज पाएर म भाग्यमानी भएको छु । यो समाजले मलाई धेरै गुन लगाएको छ ।
जीवन के रहेछ ?
☞ जिवन एक अनुपम, अद्वित्तीय र फेरी कहिल्यै नदोहोरिने महान अवसर हो ।
बाँकी योजना र सपना कस्ता छन् ?
☞ एकहजार मूर्ति बनाएर राष्ट्रलाई उपहार दिने सपना छ, यो जिन्दगी त्यसैमा लगानी गरिरहेको छु ।
कला क्षेत्रमा जगतमा लागेर के पाउनुभयो ?
☞ यो समाजबाट माया, सम्मान अनि यो देशको गौरवका लागि केही गर्छ भन्ने मप्रतिको अपेक्षा र विश्वास पाएको छु ।
अनि के गुमाउनु भयो ?
☞ यसो गर्दैगर्दा मैले के गुमाएँ, कहिल्यै हिसाब गरिन ।
बाँच्न सकिने वातावरण बनेको हो ?
☞ एक्लै बाँच्न त कहाँ सकिन्छ र, समाजको सुन्दर सदभावले यो सम्भव भईरहेको छ ।
नयाँलाई के सुझाव दिनुहुन्छ ?
☞ तपाईंभित्र प्रचुर कला र सम्भावनाले सुसज्जित एउटा मान्छे छ, मात्रै खोज्न प्रयत्न गर्नुस् ।