देबु बानियाँ
धुलावारी । धुलाबारीका जुझारु युवाहरुले आयोजना गरेको धुलावारी रोड सो अब हरेक वर्ष आयोजना हुने भएको छ । शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको रोड सो ले अत्याधिक दर्शकको सहभागिता सहित उत्साहित बनेका आयोजकले हरेक वर्ष रोड सो सञ्चालन गर्ने उद्यघोष नै गरेका छन् । मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरुले ३ वर्ष सम्म निरन्तर रोड सो गर्ने र त्यसमा वडा कार्यालयको पूर्ण साथ र सहयोग रहने बताउनु भयो । साथै उहाँले अर्काे वर्षदेखि रोड सोमा फुड फेस्टिबलको स्टलहरु समेत राख्ने बताउनु भयो ।
विश्व बन्धुत्व समाज नेपाल धुलावारीको आयोजनामा भएको उक्त रोड सो मा राष्ट्रिय कलाकार गायिका मेलिना राई, निसान भट्टराई, ताराप्रकाश लिम्बू, कमल रसाइली, गायक तथा मोडल नारायण कडरिया विकाल श्रेष्ठ, कविता शर्मा, भीम थापाले आफ्नो गायन प्रस्तुती दिनु भएको थियो । मेलिना राईले ८ वटा गीत प्रस्तुत गरेकी थिइन् । उनका गीतमा सहभागि दर्शकले रात कटेको कुनै भेउ नै पाएनन् । नेपाल आइडल सिजन वानका फस्ट रनरप निसान भट्टराईले भुन्टी गीत गाउँदा दर्शक पसिना झरिञ्जेल नाचेर मनोरञ्जन लिएका थिए । उनले आफुलाई नेपाल आइडलमा त्यो स्थान सम्म पुर्याउन साथ र सहयोग गर्ने सबै धुलावारी बासीलाई धन्यवाद दिए । ताराप्रकाश लिम्बूले पनि ६ वटा गितमा भरपुर मनोरञ्जन दिए । उनले उनका चर्चित ६ वटा गीत गाए ।
धुलावारी क्याम्पस रोडमा आयोजना भएको रोड सो मा हजारौँ दर्शकको सहभागिता रहेको थियो । स्वयम सेवक र प्रहरीलाई दर्शकलाई नियन्त्रण गर्न धौ धौ नै भएको थियो । डिजिटल प्रविधिद्धारा सञ्चालन भएको रोड सो हेर्ने छिमेकी जिल्लाबाट समेत दर्शक आएका थिए । कार्यक्रमको संचालन प्रस्तोता नारायण कमडरियाले गर्नु भएको थियो ।
नोभेम्बर नेम्बाङ, मनोज घिमिरे, भीम थापा, सुदय पनेरु, भूमि पौडेल, दिनाना भट्टराई, विवेक खवास लगायत स्थानीय युवाहरुको नेतृत्वमा रोड सो समापन भएको थियो ।