• जनकपुर २७ कात्तिक : छठ पर्वअन्तर्गत बर्तालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजार्चना गरेका छन् ।

    बर्तालुहरू यहाँका इतिहास वर्णित गङ्गासागर, अरगजालगायतका पोखरीमा अघ्र्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।

    यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका परिकारहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउँदो सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ ।

    छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद् ऋतुको कार्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महीनाको षष्ठीका दिन मनाइन्छ ।

    षष्ठी तिथिलाई विशेष खगोलीय अवसर मानिएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास पाइन्छ । छठको विधि विधानले शरीर र मनलाई सौर्य ऊर्जा अवशोषणका लागि तयार गर्दछ । छठ पूजाको यही प्रक्रियाका लागि प्राचीन ऋषिमुनिले खानपिन नगरी कठोर तपस्याको ऊर्जा प्राप्त गरेका थिए ।

    सूर्य उपासना लाभदायक र आरोग्य क्षमतामा वृद्धि हुने तथ्य रहेको बताइन्छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ ।

    छठ पर्वमा सूर्यलाई ‘छठी माई’ का रूपमा पूजा गर्ने चलन छ । जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूपले लोकमानसमा ठाउँ पाएको हुन सक्ने विश्वास पाइन्छ । छठ पर्वमा अघ्र्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ ।

    यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको सामग्रीको व्यवस्थान गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ ।

    महोत्तरीको गौशाला, जलेश्वर, बर्दिवाससहित ग्रामीण भेगमा रहेको इनार, पोखरी, नदीसहितका जलाशयको घाटमा पनि आज साँझ अस्ताउँदो सूर्यलाई बर्तालुले एकसाथ अघ्र्य दिएका छन् ।
    ––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…