काठमाडौँ, २७ कात्तिक । काठमाडौँ बागबजारकी बुद्धलक्ष्मी श्रेष्ठले छठ मनाउन थालेको लामो समय भयो । उहाँ हरेक छठ पर्वमा विभिन्न तलाउ पुगेर सूर्यलाई अघ्र्य दिँदै पूजा आराधना गर्नुहुन्छ ।
“म सादा पूजा गर्छु छठीमाईको श्रद्धा गर्न मन लाग्छ, ज्यानले सकुन्जेल कहिल्यै छुटाउँदिन,” श्रेष्ठले भन्नुभयो, “जुनसुकै जातिको पर्व भए पनि आत्मैदेखिको श्रद्धा जाग्छ ।” चाडपर्वले एकतामा बाँध्न सहयोग गर्ने श्रेष्ठको भनाइ छ ।
काठमाडौँ घट्टेकुलोमा बस्दै आउनुभएकी काभ्रेकी निमा लामाले डिल्लीबजारकी कन्नक जैनसँगै आज कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो । बुधबारको उदाउँदो सूर्यलाई पनि उहाँ अघ्र्य दिने तयारीमा हुनुहुन्छ । छठीमाईको दर्शन गर्दा चिताएको कुरा पुग्छ भनेर पूजा गर्न आएको लामाले बताउनुभयो । उहाँ जस्तै भगवती पाण्डे र संगीता पाण्डेले पनि आजै दियोमा बत्ती बालेर साँझ ५ बजे अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।
तलाउका किनार फलफूल, नैवेद तथा पूजाका सामग्रीले भरिएका छन् । भोगटे उखु, केरा, नरिवल, मिठाईलगायत विभिन्न परिकारसहित छठीमाईको पूजामा भक्तालु मग्न छन् । आ–आफ्नो समूहमा आएका उनीहरु तलाउमा स्नान गरी पूजा आराधना गरेर आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिए । बुधबार बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिइने तयारी गरिएको छ ।
परिवारको सुखशान्ति समृद्धिको कामना गर्दै मनाइने छठ विगतमा काठमाडौँ रानीपोखरीमा भव्य रुपमा मनाइन्थ्यो । तर अहिले रानीपोखरी जीर्णाेद्धार नभइसकेकाले छठ मनाउनेको भीड कमलपोखरीमा पुग्यो । तराईका समुदायले मनाउँदै आएको चाड अहिले राष्ट्रिय एकता र सद्भावको प्रतीकका रुपमा विकास भएको बताउनुहुन्छ, कमलपोखरी छठपूजा समितिका अध्यक्ष राजेन्द्र सिंह । उहाँ भन्नुहुन्छ, “तराईका केही शहरमा मनाइने छठ, अहिले सबै नेपालीलाई एक सूत्रमा बाँध्ने साझा पर्व भएको छ, यसलाई अझै भव्य बनाउन हामी लागेका छौँ ।”
अहिले काठमाडौँका रैथाने नेवार समुदायदेखि विभिन्न जातजातिका व्यक्ति छठलाई विशेष पर्व नै बनाउनका लागि तल्लीन छन् । छठका लागि सबै समुदाय मिलेर कमलपोखरीलाई सजाइएको छ । पूजाआजामा सहभागी २६० स्टलमा मिश्रित समुदायको सहभागिता रहेको मेला आयोजक समितिले जनाएको छ ।
कमलपोखरीमा छठ मनाउन थालिएको आठ वर्ष भयो । त्यसअघि कुरुप झैँ रहेको पोखरी अहिले झकिझकाउ पारेर सजाइएको छ । त्यसो त काठमाडौँ गुह्वेश्वरीको गौरीघाट, थापाथली, कालीमाटी, बल्खु, नागपोखरीलगायत क्षेत्र छठ पूजाका लागि रङ्गिएको छ । पायक पर्ने ठाउँमा झक्तजन पुगेर पूजाआजामा व्यस्त छन् । ती क्षेत्रमा भजनकीर्तनसहित साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिएका छन् । मुलुकका विभिन्न जिल्लामा समेत यसैगरी छठको रौनक छाएको छ । नेपालका अन्य पर्व जस्तै छठलाई पनि महत्वपूर्ण पर्वका रुपमा मानिँदै आएको छ ।
अग्रवाल सेवा समाजका महेशकुमार अग्रवाल साझा पर्वका रुपमा छठ पर्व मनाउन थालिएकामा खुशी व्यक्त गर्नुहुन्छ । मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो । यो पर्व अहिले पहाडी र मधेसीको सम्बन्ध जोड्ने पुलका रुपमा विकास हुँदै गएको छ ।
छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कार्यक्रममा सरिक भएर सूर्यलाई अघ्र्य दिई पूजाअर्चनासमेत गर्नुभएको छ ।
आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वको सम्पूर्ण शक्तिको स्रोत सूर्य हो । यस पर्वमा उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।
छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, प्रयोग हुन्न । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइन्छ भने बुधबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सकिन्छ । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक सुख समृद्धिका लागि छठको पूजा आराधना गर्ने गरिन्छ ।