काठमाडौ,२८ कात्तिक । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजाअर्चना गरेसँगै मिथिलाञ्चलको महान पर्व छठ समापन भएको छ । यसअघि छठको मुख्य दिन मंगलबार बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै पूजार्चना गरेका थिए । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।
यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका परिकारहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघेर्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास गरिन्छ ।
छठको विधि विधानले शरीर र मनलाई सौर्य ऊर्जा अवशोषणका लागि तयार गर्दछ । छठ पूजाको यही प्रक्रियाका लागि प्राचीन ऋषिमुनिले खानपिन नगरी कठोर तपस्याको ऊर्जा प्राप्त गरेका थिए । सूर्य उपासना लाभदायक र आरोग्य क्षमतामा वृद्धि हुने तथ्य रहेको बताइन्छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ ।
छठ पर्वमा सूर्यलाई ‘छठी माई’ का रूपमा पूजा गर्ने चलन छ । जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूपले लोकमानसमा ठाउँ पाएको हुन सक्ने विश्वास गरिन्छ ।
छठ पर्वमा अघ्र्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ ।
यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको सामग्रीको व्यवस्थान गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ ।