काठमाडौ,२८ कात्तिक । निष्क्रिय जीवनशैली र अव्यवस्थित खानपानका कारण शरीरमा सुगरको मात्रा बढ्छ। जसले शरीरका अन्य अंगलाई प्रभावित पारी विभिन्न समस्या निम्त्याउँछ। दक्षिण एसियाका नागरिकहरू डायबिटिज (मधुमेह) को उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाइसकेका छन्। त्यसैले यसबाट नेपाली पनि अछुतो रहेनन् । विशेषगरी पछिल्लो समय बढ्दो सहरीकरण र व्यस्तताले नेपालीलाई पनि यो समस्याले दिनप्रतिदिन गाँज्दै लगेको छ ।
डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ। टाइप वान इन्सुलिन हर्मोनको अत्यधिक कमीले हुने समस्या हो। टाइप टुमा इन्सुलिनको कमीका साथै त्यसले प्रभावकारी रुपमा काम गर्न नसक्ने हुन्छ। यी दुवै कारणले डायबिटिजको समस्या भइरहेको हुन्छ। अहिले धेरै देखिने गरेको डायबिटिज टाइप टु हो । यो जीवनशैलीका कारण हुने गर्छ। मोटोपन बढ्यो भने डायबिटिज हुने जोखिम उच्च हुन्छ। किनकि इन्सुलिनले सुगरलाई मानिसको शरीरको कोषभित्र पठाउने काम गर्छ। तर मोटो मानिसको शरीरमा इन्सुलिनले राम्रोसँग काम गर्न नसक्दा रगतमा सुगरको मात्रा बढ्ने हुन्छ। त्यसैले मोटोपन हुनु डायबिटिजको जोखिम बढाउनु हो।
टाइप वान वंशााणुगत हो। कतिपयलाई बाल्यावस्थामा देखा पर्छ । कतिपय किशोर र युवाहरूमा पनि यस्तो समस्या देखिन्छ। कतिपयले भने भाइरस इन्फेक्सनका कारण पनि टाइप वान डायबिटिज देखा पर्ने बताउँछन्। उपचारको दृष्टिकोणबाट हेर्दा टाइप वान कठिन हुन्छ। किनकि बिरामीलाई सामान्य अवस्थामा राख्न नियमित रुपमा इन्सुलिन दिनुपर्ने हुन्छ। यसमा बिरामीलाई इन्सुलिनले नै बचाउने हो।
दक्षिण एसियामा नै डायबिटिजलाई साझा समस्याको रुपमा हेरिएको छ। किनभने यो क्षेत्रका मानिसहरूको शारीरिक संरचना र अन्य कारणले डायबिटिजको समस्या दिन प्रतिदिन बढिरहेको देख्न सकिन्छ। बेलायतमा केही समय अघि गरिएको एक अध्ययनले स्थानीय नागरिकभन्दा दक्षिण एसियाली मुलका मानिसमा डायबिटिज लाग्ने सम्भावना ६ गुणा बढी भएको देखाएको थियो। हाम्रो खानामा कार्बोहाइड्रेटको प्रयोग बढी छ। मानिसको जीवनशैली पनि पहिलेको तुलनामा विलासी हुँदै गएको छ। अत्यधिक सुविधाका कारण मानिसहरूले शारीरिक परिश्रम पनि कम गरिरहेका छन् । यसले मोटोपनको समस्या निम्त्याएको छ। फलस्वरुप अन्यत्रको तुलनामा नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरूमा नै डायबिटिजको जोखिम बढिरहेको हो। अन्यत्र ५०–६० वर्षको उमेरपछि मात्रै डायबिटिज देखिने गर्छ भने नेपालमा भने ४०–४५ वर्षको उमेरमा नै यसको समस्या देखा परिरहेको छ।
औसतमा हेर्दा उचाइ कम तर मोटाउने क्रम ज्यादा भएकाले नेपालीहरू डायबिटिजका दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा छन्। चिकित्सकीय भाषामा ‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यस्तो लक्षण नेपालमा देखा परिरहेको छ। हामीकहाँ यसो तुलना गरेर हेर्ने हो भने नयाँ प्रवृत्ति देखापरेको छ। अध्ययन सकेर मानिसले नियमित रुपमा आफ्नो जागिर सुरु गर्नासाथ पेट पुक्क हुन सुरु भइहाल्छ। त्यही चरणबाट नै डायबिटिजको जोखिम सुरु हुने हो।
डायबिटिज भनेको रगतमा सुगरको मात्रा बढ्नु मात्रै होइन, यसले अरु समस्याहरू पनि निम्त्याउन सक्छ भनेर आम मानिसलाई सचेत गराउन जरुरी छ। डायबिटिजका विभिन्न जटिलताहरू हुन्छन्। डायबिटिज भए त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सोच्नु नै बुद्धिमानी हो। डायबिटिजको समस्या देखिएमा १० वर्ष र १५ वर्षसम्म पनि कस्तो असर हुन्छ भनेर अध्ययन गरिन्छ। मुख्य रुपमा डायबिटिज भइसकेपछि आँखा, मुटु, खुट्टा, नशा र मिर्गौलामा आघात पर्न सक्छ। डायबिटिज नियन्त्रणमा आउन सकेन भने दीर्घकालिन रुपमा त्यसले यी अंगलाई निकै असर गर्नसक्ने भएकाले अहिल्यै यसबारे सचेतता अपनाउन जरुरी हुन्छ।
डायबिटिज भएपछि मुख सुक्ने, प्यास लाग्ने, राति पिसाब लाग्ने लगायतका लक्षण देखा पर्छन्। सुत्ने समयमा ज्यादा पिसाब लाग्छ भने मानिसहरू दुब्लाउदै जाने हुन्छ। यस्ता लक्षण देखिएमा सबैभन्दा पहिले डाक्टरमा जानुपर्छ। रगतमा सुगरको मात्रा परीक्षण गर्नुपर्छ। रगत परीक्षणमा सुगर देखियो भने अरु परीक्षण सुरु गर्नुपर्छ। तर, डायबिटिजले पार्ने असर र देखिने लक्षण सबैमा एकनासको हुँदैन। कतिपयमा मिर्गौलामा खराबी आएपछि मात्रै डायबिटिज देखिन्छ। डाइबिटिजले पारेका असरका कारण रोगको पहिचान भएपछि बल्ल डायबिटिजको लक्षण देखिने पनि हुन सक्छ। डायबिटिजले शरिरका अंगहरूलाई गम्भीर आघात पारेपछि बल्ल त्यसको पहिचान भएका अवस्थाहरू पनि छन्।
खासगरी सहरी क्षेत्रमा जसको घरका सदस्यमा डाइबिटिजको समस्या छ, उनीहरूले स्वास्थ्य शिविर हुँदा वा अन्य मौकामा नियमित परीक्षण पनि गराइरहेका छन् भने कतिपयले भने समस्या देखिएपछि मात्रै परीक्षण गर्ने भएकले समस्या उस्तै छ। पक्कै पनि पहिलेको भन्दा सचेतना अपनाउने हिसाबले नियमित परीक्षण गर्नेहरू बढेका छन् । तर, पनि धेरैले समस्या देखिएपछि मात्रै आउँछन्। वंशाणुगत जोखिम पनि उच्च हुन्छ। परिवारमा बाबुआमालाई डायबिटिज भइसकेको छ भने सन्तान पनि उच्च जोखिममा हुन्छन्। बाबु आमालाई भयो भन्दैमा सन्तानलाई पनि डायबिटिज हुन्छ भन्ने होइन तर अहिलेको जीवनशैलीका कारण हामी उच्च जोखिममा छौं । अरु जोखिम बढेपछि उसलाई सहजै डायबिटिजले आक्रमण गर्न सक्छ।
त्यस्तो जोखिममा भएका मानिसहरूले अरु सतर्कता बढाउन आवश्यक छ । उदाहरणका लागि तौल नियमित राख्न सचेत हुने, शारीरिक क्रियाकलाप बढाइरहने, नियमित स्वास्थ्य परीक्षण गर्ने आदि । यति सावधानी अपनाउँदा पनि उसलाई डायबिटिज भएमा उसलाई बेलैमा थाहा हुन्छ र नियन्त्रिण गर्न सजिलो पर्छ । सामान्य अवस्थाकै मानिसले हरेक ३ वर्षमा नियमित स्वास्थ्य परीक्षण गर्नु उपयुक्त हो भने जोखिममा रहेकाहरूले १÷१ वर्षमा गर्नुपर्छ । प्रि–डायविटिज भएका मानिसहरूले शारीरिक परिश्रम बढाउन, सन्तुलित आहार खानुपर्छ । पहिलेदेखि नै सचेतना अपनाए उसलाई पछि डायबिटिज नहुन पनि सक्छ । पहिले नै ध्यान दिइयो भने डायबिटिज हुने जोखिमलाई निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
खानेकुरामा सलाद ज्यादा खाने, सागपात खाने, खानापछि हिड्ने गर्नुपर्छ । डायबिटिज हुनासाथ जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । शारीरिक परिश्रम बढाउनुपर्छ आराम घटाउनुपर्छ।चिकित्सकले सिफारिस गरेमा नियमित औषधि लिनुपर्छ । एकपटक देखिएर नियन्त्रण भएकाहरूमा भने सुगर मात्र नियन्त्रण नगरी युरिक एसिड, लिभर लगायतका नियमित परीक्षण गर्नुपर्छ ।
डायबिटिज भएपछि सुगर मात्रै नियन्त्रण नभई अरु पक्षबारे पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । नियन्त्रणमा आएपछि पनि उसले नियमित रुपमा स्वास्थ्यमा सचेतना अपनाउनुपर्छ। डायबिटिज र प्रेसर दुवैले किड्नीमा असर गर्न सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ। डायबिटिजलाई मुटुरोगको ठूलो जोखिम पनि मानिन्छ।