• विरेन्द्रकुमार श्रेष्ठ

    लगभग ४ बर्ष पहिले संसारभरका नेपाली युवाहरूमा एउटा घटनाले तरंग पैदा गरिदियो । सबै युवाहरुलाई सोच्न बाध्य बनाइदियो र एकजुट हुन प्रेरित गरिदियो । अनिल खालिङ नाम गरेका नेपाली युवा एक पाकिस्तानी नागरिकको हत्या आरोपमा दुबईमा जेलमा परे र उनलाई मृत्युदण्डको सजाय सुनाइयो र यसमा एउटा बिकल्प पनि देखियो कि उनलाई यदि बचाउने हो भने वा मृत्युदण्डको सजायबाट मुक्त गराउने हो भने मृतकको परिवारले माग गरे अनुसारको ब्लड मनी स्वरुप लगभग नेपाली १ करोड रुपैयाँ क्षतिपूर्ति स्वरुप मृतकको परिवारलाई उपलब्ध गराउनुपर्ने । गरिब परिवारका अनिल दुबईमा सामान्य रोजगारीका लागि गएका थिए । उनको कमाइले त्यति धेरै रकम जम्मा गर्नु असम्भव थियो । उनले उपयुक्त रकम जम्मा गर्न नसके फासीमा चढ्नुपर्ने पनि निश्चित थियो । तर सामाजिक सन्जालमा उनको यो घटनाको एक कान दुई कान मैदान हुँदै यसरी फैलियो कि उनको यो समाचार भाइरल भयो । समाचार भाइरल भएपछि युवा समाजसेवी सहयोगी हातहरु यसरी एकजुट भए कि, अनिल बचाउ अभियान मार्फत छोटो समयमै देश बिदेशमा रहेका युवाहरूबाट आवश्यक भन्दा लगभग तेब्बर रकम जम्मा भयो । चाहिने रकम पूरा भइसक्दा पनि थप रकम आइरहेको थियो अन्तिममा रकम पुग्यो भनेर सुचना बिज्ञप्ति नै निकाल्नुपर्यो ।

    यो घटनालाई युवाहरुको सहयोगी भावको पहिलो उदाहरण भनेर प्रस्तुत गर्न खोजिएको हैन यसलाई एउटा प्रतिनिधि उदाहरणका रुपमा मात्र पेश गर्न खोजिएको हो । बास्तवमै युवाहरू बिगतको तुलनामा भन्दा अहिले समाजसेवामा बढी सक्रिय हुन थालेको हामी प्रष्टै देख्न सक्छौ । विभिन्न किसिमले अप्ठ्यारोमा परेका ब्यक्ति तथा परिवार जसको घरमा कसैलाई कुनै ठुलो रोगबिमार लागेको छ । मृगौला फेल भएको छ फेर्नु पर्ने स्थिति छ तर आर्थिक हैसियत छैन । क्यान्सर भएको छ , उपचार गर्ने आर्थिक अवस्था छैन । यस्तै उपचारका लागी धेरै खर्च गर्नुपर्ने रोगहरु लागेको छ तर घरबारी बेच्दा पनि उपचार सम्भव छैन । समस्या परेको छ । जब यस्ता समस्याका कुरा बाहिर आउँछ एउटा छिमेकी / गाउले भएको नाताले होस वा एउटा साथी वा नेपाली भएको नाताले होस । उसको उपचारका लागि पुर्व, पश्चिम , उत्तर , दक्षिणको नभनी, नजिक टाढाको पनि नभनी, जात धर्म पनि नभनी आज युवाहरु आफ्नो छाक काटेर भएपनि सहयोग गर्न तम्तयार देखिन्छन् ।

     

    जब आफुजस्तै साथीभाइ , दाजुभाइ तथा दिदीबहिनीहरु यस्तो समस्यामा परेको मार्मिक चित्र युवाहरुको आखाले देख्छ त्यसलाई आफ्नै समस्या सम्झी सकेको सहयोग गर्न लागिपरिहाल्छन । पिडामा छट्पटाइरहेको अनुहारले जब सकेको सहयोग गरेर बचाउनको लागि हारगुहार गरिरहेको आखाले हैन युवाहरुको भित्री मनले देख्छ तब युवा मन पग्लिन्छ र त्यो दिनको खाजा, मनोरञ्जन खर्च वा त्यो दिनको आफ्नो कमाइनै भएपनि सहयोग गर्न खुशीले राजी हुन्छन् र पीडितले तुरुन्त राहत पाउछन् र नयाँ जीवन पनि । यस्ता प्रशस्त उदाहरणहरु आजभोलि हामीले देख्दै भोग्दै आइरहेका छौ। रोगबिमार लागेका हरुको उपचारमा सहयोग गर्न मात्र केन्द्रित छैनन् युवाहरु अशक्त , अशहाय जो घरबार बिहिन छन् , जसको शिर लुकाउने छानो छैन , छोराछोरीहरु वा आफै अपांग छन् , आर्थिक अवस्था दयनीय छ । यस्ता ब्यक्तिहरुलाई बस्न खान सजिलो होस भनेर घर बनाइदिने, आवस्यक खानाको जोहो गरिदिने जस्तो मानवीय र समाजसेवाले ओतप्रोत भएका कार्यहरु गर्न युवाहरू हिजो आज एकदमै उत्साहित देखिन्छन् ।

    एउटा पत्रकार होस वा शिक्षक, एउटा सामान्य श्रमिक होस वा कलाकार , डाक्टर , इन्जिनियर वा अन्य कुनै पेशाकर्मी त्यस्तै देशमै पसिना बगाउने होस वा परदेशमा । समाज र देशको लागि केहि राम्रो गर्नुपर्छ , भन्ने बिचार सबै युवाहरुमा ह्वात्तै बढेर आएको छ। धेरै युवा जमातमा आजभोलि आफ्नो स्वार्थ मात्र हेर्ने हैन, आफ्नो सानो प्रयास र सहयोगले अरु कसैको मुहारमा पनि खुशी ल्याउन सकियोस भन्ने सामुहिक सोचको बिकास वृद्धि हुँदै गइरहेको छ । एकजनाको अगुवाइमा अरुहरुले साथ दिएर हुन्छ कि, फेसबुक ह्वाट्सएप ग्रुप बनाएर हुन्छ , फेसबुक, इन्स्ट्राग्राम, युट्युबहरुमा भिडियो अपलोड गरेर हुन्छ कि, क्लब फाउन्डेसनहरु सन्चालन गरेर हुन्छ आजका युवाहरु बढी भन्दा बढी सहयोग जुटाएर सामाजिक तथा परोपकारी कार्य गर्न शसक्त रुपमा आतुर र तल्लीन देखिन्छन् । यसरी सामाजिक तथा परोपकारी कार्य गर्न अभियान नै चलाएर ठूलो धनराशि संकलन गरेर अप्ठ्यारोमा परेकाहरुको उद्दार गर्ने, आर्थिक अवस्थाले दयनीय बिरामीहरुको उपचार गरिदिने, गरिब जेहन्दार विद्यार्थीहरु जो परिवारको गरिबीका कारण पढाई छोड्ने स्थितिमा हुन्छन् तिनीहरूलाई छात्रवृत्ति प्रदान गर्ने, ठाउँ ठाउँमा पुस्तकालयहरु खोल्ने , कम्प्युटर शिक्षाका लागि बिद्यालयलाई कम्प्युटरहरु प्रदान गर्ने, गाउँ गाउँमा खेलकुदको बिकासमा हिस्सेदार बन्ने जस्ता कार्यहरूमा युवाहरु अग्रसर भएको पाइन्छ।

    प्रसंग जोडौ चर्चित हास्यकलाकार जोडी धुर्मुस सुतलीको धुर्मुस सुन्तली फाउन्डेसनद्वारा भुकम्प पीडितहरुका लागि गिरान चौरमा निर्मित एकीकृत नमुना बस्ती होस वा एकीकृत नमुना मुसहर बस्ती होस यसको निर्माणमा देश बिदेशमा रहेका नेपाली युवाहरुको सहयोगी हातहरुको मुख्य भुमिका रहेको छ । उपस्थित हुन सक्नेले प्रत्यक्ष श्रमदान पनि गरे भने भौतिक रुपमा उपस्थित भएर श्रमदान गर्न नसक्नेले आर्थिक सहयोग गरेर बस्ती योजनाको निर्माणलाई सम्पन्न गराइछाडे। त्यस्तै अहिले सिधाकुरा जनतासँग कार्यक्रम चलाउने चर्चित र लोकप्रिय पत्रकार रबि लामिछाने तथा न्युज २४ को संयुक्त प्रयासमा पनि सप्तरीमा बाढीपीडित दाजुभाइ दिदीबहिनीहरु जसले आफ्नो सर्वस्व श्रीसम्पत्ती बाढीको कारणले गुमाउनु पर्यो र घरबार बिहिन हुनुपर्यो उनिहरुको लागि घर निर्माण गर्दै तिलाठीमा नमूना बस्ती बनाएर भर्खरै पुर्व रास्ट्रपति रामवरण यादवको उपस्थितिमा हस्तान्तरण कार्यक्रम पनि सम्पन्न गरियो । यो बस्ती निर्माणमा पनि युवा सहयोगी समाजसेवीहरुको शतप्रतिशत हात, साथ र सहभागिता रहेकोे छ भन्दा अत्युक्ति नहोला ।

    यस्तै अरु धेरै उदार र निस्वार्थ हृदय भएका महानुभावहरुले एकल वा सामुहिक प्रयासमा धेरै यस्ता उदाहरणीय कामहरू गर्नुभएको छ । धुर्मुस सुन्तली , रबि जस्ता योग्य असल छबि भएकाहरुले योजना बनाएर अगुवाइ मात्र गर्ने हो त्यसपछि हुने युवाहरुको सहयोगको बर्षाले मात्र यी कामहरु सम्पन्न हुने हुन। देशमा एउटा पनि गतिलो स्टेडियम नभएकोमा जहिले दुखेसो पोख्ने युवाहरुले स्टेडियम बनाउन लागिपर्ने अगुवाइलाई आर्थिक तथा भौतिक सहयोग गर्न तयार रहेको पटक पटक बताइरहेका छन । धुर्मुस सुन्तलीकै नेपाललाई बिश्वमा चिनाउने हेतुले बनाउन लागिएको "नमुना नयाँ नेपाल" को योजनालाई पनि खुलेर आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन ।
    यसरी गाउँ टोलका साना साना सामाजिक कार्यहरु खानेपानी धारा निर्माण , फलैचा/चौतारी निर्माण , बृक्षारोपण , बिद्यालयमा विद्यार्थीहरुका लागि खेलकुद सामाग्री उपलब्ध गराउने, कक्षाकोठाहरुमा पंखाहरु जडान गरिदिने, पठनपाठनका सामाग्रीहरु खरिद गरिदिने देखि लिएर स्वास्थ्यचौकीहरुमा बिरामीका लागि बेड थपिदिने, ह्वील चेयर खरिद गरिदिने हुँदै देशको प्रत्यक्ष बिकासमा देखिन आउने स्टेडियम निर्माण , अस्पताल निर्माण , सडक निर्माण , बिद्यालय निर्माण जस्ता सामाजिक तथा बिकासका कार्यहरुमा अर्थदान श्रमदान गर्न युवाहरु कम्मर कसेर अगाडि बढेको देखिन्छ ।
    अहिले देशमा जताततै युवाहरुमा कसरी हुन्छ आफ्नो गाउँ समाज, देशलाई कसरी राम्रो र सभ्य बनाउने भनेर होडबाजी जस्तै गरेर अभियानमा लागेको देखिन्छ ।
    युवाहरु सहयोग गर्न सकिने सानो अवसरलाई पनि खेर जान दिन चाहन्नन यहासम्म कि केहिदिन अगाडि तिहार सकिएको छ । अत्यन्तै रमाइलो चाड तिहार के केटाकेटी , के युवा , के बृद्ध सबैमा अतिनै लोकप्रिय चाड हो । त्यसको मुख्य कारण हो देउसी भैली । घरघरमा देउसी भैली खेल्न जादा घरबेटीले थोरबहुत दक्षिणा पैसा देउसे भैलेलाई दिने गर्छन । आजकाल युवाहरु त्यो देउसी भैलोबाट संकलित रकम समेत समाजसेवा र परोपकारी काममा लगाउन थालेका छन ।

    यसरी संकलन भएको रकम क्षणिक रमाइलोको लागि पिकनिक जाने, पार्टी खाने भन्दा सामाजिक कार्यहरुमा लगाएर समाजमा मुस्कान ल्याउन पाउँदा आफुलाई सन्तुष्ट भएको महसुस गर्न थालेका छन । आफ्नो जन्मदिन मनाउन दिनमा केक काट्न , पार्टी आयोजना खर्च गर्न लाग्ने खर्च होस वा बिवाह गर्दा बिवाहको पार्टी आयोजना गर्न लाग्ने फजुल खर्च होस । यी खर्च बाल आश्रम , बृद्ध आश्रममा दान दिने वा समाजसेवा परोपकारमा लगाउने क्रम उच्च रुपले बढिरहेको छ । यसरी नै छठ पर्वमा पनि युवाहरु सामाजिक तथा परोपकारको कार्यमा सक्रिय रुपमा सहभागी हुँदै आइरहेका छन् ।

    युवाहरू किन समाज सेवातर्फ आकर्षित हुदैछन त ?

    देशको जनसंख्याको अधिकांश हिस्सा ओगटेको युवा बर्गहरु देश र समाजप्रति चिन्तित रहनु । सभ्य समाज र देशको बिकासको लागि अग्रसर हुनु एउटा बिकासोन्मुख देशको लागि गर्वको बिषय हो । यदि युवाहरुको यो जोश जागर अनि देशप्रतिको चिन्ता र सकारात्मक भावनालाई अझ बुलन्द रुपमा उजागर गराउदै देश बिकासतर्फ मोड्ने हो भने देश समृद्ध हुन बेर लाग्दैन । तिलस्मीरुपमा देशले काचुली पनि फेर्ने छ । तर यसका लागि जसरी धुर्मुस सुन्तली अनि रबि जस्ता हस्तीहरुले युवाहरूलाई उत्प्रेरित गरे त्यस्तै उत्प्रेरणाको जरुरी अझै धेरै छ। संसार हिजो जस्तो फराकिलो छैन आज, सागुरिएको छ । युवाहरूले देश बिदेश देखेका छन चाहे प्रत्यक्ष उपस्थितिबाट होस या सामाजिक संजाल ईन्टरनेट बाटै होस । कोठामा बसेर संसार नियाल्न सकिन्छ । उनिहरुले ठुला-ठुला फराकिला बाटाहरु देखेका छन् , झिलिमिली बत्ती र हरिया बगैंचाहरुले झकिझकाउ सुन्दर , सफा र स्वच्छ गाउँ शहर देखेका छन् , राम्रा स्टेडियम, ब्यबस्थित घरहरु पनि देखेका छन समग्रमा उनिहरुले समाज देशको बिकासका झलकहरु देखेका छन । जब यी कुराहरु देखेपछि आफ्नो पिछडिएको समाज र देशको स्थिति सम्झिन्छन तब उनीहरुको मन दुखेर आउँछ , भित्रभित्रै खटपटी भएर आउँछ , परिवर्तनका लागि केही त गरौ भनेर मनमा हुटहुटी जागेर आउँछ , फलस्वरूप युवाहरु आफ्नो समाज र देश बिकासका लागि सकेको सहयोग गर्न तयार हुन्छन् । केहि युवाहरू यो सब हुनुमा सरकारको दोष र कमिकमजोरी रहेको र यो सरकारले नै गर्ने काम हो भनेर पन्छिने वा तर्क नगर्ने पनि हैनन । नेताहरूले देश बिगारेको बिकास नगरेको भनेर आरोप प्रत्यारोप लगाउने र गाली गरेर बस्ने केही युवा जमात पनि छन । तर अधिकांश युवाहरु अब सरकार र नेताहरुले देश र समाज बिकास गरेनन् भनेर आरोप लगाएर पन्छिनु भन्दा देशमा जातीय, धार्मिक र राष्ट्रिय एकतालाई कायम राख्दै त्यसको जिम्मेवारी आफै लिदै देशलाई समृद्ध बनाउन आफै कम्मर कसेर अगाडि बढ्नुपर्नेमा सजग देखिन्छन् ।

     

    नेताहरु र सरकारलाई खबरदारी गर्दै पारदर्शी ढंगले बिकासका कामहरु सम्पन्न हुनुपर्नेमा सचेत छन । एउटा गाउँ टोल देखि लिएर राष्ट्रिय गौरवका बिकासका कार्यहरुमा कतिको पारदर्शिता भइरहेको छ, काम कतिको सहि ढंगले भइरहेको छ । ती कामहरुमा आफुहरुले गर्नसक्ने आर्थिक तथा भौतिक सहयोग के हुनसक्छ भनेर युवाहरु जानकार हुन थालेका छन् ।
    देशमा युवाहरू र समृद्ध देशको परिकल्पना एकअर्काका परिपुरक हुन यी दुई बीच अन्योन्याश्रित सम्बन्ध रहेको छ त्यसैले पार्टीका उच्च पदहरु देखि लिएर सरकार र अन्य सरकारी बिभागहरुमा युवाहरूलाई नेतृत्व दिनुपर्ने आवाजहरु बुलन्द रुपमा उठ्न थालेको छ। भ्रष्टाचार रहित समाज देश निर्माण गर्न र पारदर्शी ढंगले देशको बिकास गर्न युवाहरु सक्षम रहेको प्रमाणित गर्न युवाशक्ती तयार देखिन्छ ।केहि युवाहरु स्वतस्फूर्त रुपमा समाजसेवामा समर्पित छन । केहि युवाहरु उनिहरुले आदर्श मान्ने ब्यक्तिहरुबाट प्रभावित छन् भने केहि युवाहरू सामाजिक संजालमा आउने समाजसेवा सम्बन्धि सचेतनामुलक अनुकरणीय कार्यहरुबाट पनि प्रभावित छन् ।

     

    अहिले युवाहरुमा नसोच समाज र देशले मलाई के दियो, सोच मैले समाज र देशलाई के दिए भन्ने महानवाणीबाट प्रभावित देखिन्छन । मै खाउ मै लाउ सुख सयल या मोज मै गरु , मरुन अरु सब दुर्बलहरु भन्ने सोचबाट आफुलाई मुक्त गर्दै सबैले खुसीले हासेर बाचुन त्यसमा मैले गर्ने सहयोग सक्दो म गर्ने छु भनेर युवाहरु अगाडि बढेको देखिन्छ । दशै र तिहार लगायत विभिन्न चाडबाडहरुमा गरिब परिवारहरुमा खाद्य सामाग्री , ग्यासका सिलिन्डर चुल्हो बाडेर होस कि जाडोको बेलामा सिरक डसना, लत्ताकपडा बाडेर होस युवाहरुले यो कुरा प्रमाणित गरिरहेका छन् । पहाडमा भुकम्प पहिरोले संकट निम्त्याउदा तराईका युवाहरूको म दुख्छ अनि तराईमा बाढीले दुख दिदा पहाडका युवाहरुको आँसु झर्छ ।त्यसैले उनिहरु तन, मन , धनले सहयोग गर्न तम्तयार हुन्छन् । बिगतमा भुकम्प अनि बाढीले धनजनको ठुलो क्षति हुदा भएको सहयोग र सहानुभूति आदानप्रदानले यसलाई प्रमाणित गरिसकेको छ ।उनिहरुले गर्ने यस्ता सामाजिक तथा परोपकारी कार्यहरुमा सम्पुर्ण जनताहरुको प्रसंसा र साथ रहने गर्दछ अनि सामाजिक संजालहरुमा गरिने प्रसंसा, कदर, सम्मान र माया सद्भाव जस्ता उत्प्रेरणाले झन उनिहरुमा समाजसेवा र परोपकारका कार्य गर्न प्रोत्साहित गरिरहेको छ। समाजसेवा , परोपकार तथा देशको बिकास कार्यमा सकेको सहयोग गर्दा जुन प्रकारको सम्मान र प्रेम समाजबाट मिल्छ त्यसले अझै बढी केही गरौ भन्ने हौसला पनि मिल्छ । यो कुरालाई स्विकार्दै युवाहरूको अर्को एउटा धारणा के छ भने यी सब माया, स्याबासी र सम्मानका साथै समाजसेवा गर्दा आफैलाई मिल्ने आत्मसन्तुष्टि नै उनिहरुको लागि थप काम गर्ने उर्जाको स्रोत हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…