खिलानाथ ढकाल नेपाली पत्रकार जगतमा सुपरिचित नाम हो। कडा लेखन शैली र निडर पत्रकारिता स्वभावका कारण चिनिन्छन्। ढकालले समाचार लेखेकै कारण ज्यान जोखिममा राखेर अनेकन समस्या झेलेका छन्। आफूले लेखेका हरेक समाचारले समाज तरंगित होस् भन्ने चाहन्छन्। उनी कति पनि बिचलित नभई पत्रकारिता यात्रामा अहोरात्र सक्रिय छन्। पत्रकारिताबाट नै उनको गुजारा चलिरहेको छ।
उर्लाबारीबाट प्रकाशन हुने अलकापुरी साप्ताहिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका ढकालले पूर्व सन्देश, जन–संसद दैनिक हुँदै नागरिक दैनिक, अन्नपूर्ण पोष्ट , सेतोपाटी अनलाइन,शुभदिन डटकम लगायत आधा दर्जन सञ्चार माध्यममा काम गर्दै डेढ दशकको पत्रकारिता अनुभव संगालिसकेका छन्। अहिले सेतोपाटी डटकममै कार्यरत ढकाल पत्रकारितामा कसरी आए, कस्ता समस्यासँग पौंठेजोरी गर्दै लेखे? उनको जीवन भोगाई के हो? रातोकलम डटकमले जान्ने प्रयास गरेको छ। उनीसँगको कुराकानी जस्ताको तस्तैः
तपार्इं कहाँ जन्मिनुभयो?
मेरो जन्म तेह्रथुम जिल्लाको ओख्रे गाविस वडा नं. २ (हाल ओख्रे गाउँपालिका)मा भएको हो।
कस्तो परिवारमा ?
म सामान्य परिवारमा जन्मेको व्यक्ति हुँ। किसान परिवारमा। थोरै जग्गा जमिन थियो। हामीलाई हुर्काउन आमा–बुबा बनिबुतो÷खेतालो गर्नुहुन्थ्यो।
बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल अत्यन्तै कठिन तरिकाले बितेको छ। हात मुख जोर्न नै मुस्किल हुन्थ्यो सानो उमेरमा। दुःख गरेर बुबा–आमाले हुर्काउनुभयो, पढाउनुभयो। जस्तोसुकै गरिबी थेग्नु परे पनि छोराछोरीलाई पढाउनुपर्छ, शैक्षिक चेतना दिनुपर्छ भन्नेमा बुबा सचेत हुनुहुन्थ्यो। मेरो बुबाले आठ कक्षा पास गर्नुभएको थियो।कम्युनिस्ट पार्टीको राजनीतिक कार्यकर्ता हुनुहुन्थ्यो। गरिबी र शिक्षाका लागि धेरै संघर्ष गर्नुपरेकाले उहाँले आफ्नो पढाइलाई निरन्तरता दिन सक्नुभएन। आफ्नो अधुरो पढाइबारे बारम्बार भन्ने गर्नुहुन्थ्यो। बुवा बित्नुभयो। अहिले उहाँले भनेको सम्झँदा सपनाजस्तो लाग्छ। पढाइमा हामीलाई प्रोत्साहित गर्नुहुन्थ्यो। प्राथमिक शिक्षासम्म मलाई घरमा आफैं बिहान बेलुका पढाउनु हुन्थ्यो।
सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
२०६२ सालमा एसएलसी परीक्षा दिएर म आफ्नो मावल मोरङ उर्लाबारी आएको थिएँ। यतै एसएलसी परीक्षाको रिजल्ट हेरेँ। पहाडी क्षेत्रमा दुःखजिलो गरी एसएलसीसम्म पढेको थिएँ। मावल आएपछि तराईको समथर भू–भागमा बसेर उच्च शिक्षा हासिल गर्ने सपना जागृत भयो।
२०६३ सालमा उर्लाबारी बहुमुखी क्याम्पस भर्ना भएँ। मावलको पनि आर्थिक पृष्ठभूमि दर्बिलो थिएन। मामा ज्यामी काम गर्नुहुन्थ्यो। उहाँकै भरथेगले मावलको परिवार चलेको थियो। जसोतसो पढाइ खर्च टार्थें। बेला–बेला धान, गहुँ फापर, आलस उलेल्न गाउँमा जान्थेँ। मैले गरेको कमाइ मामा–माइजुले माग्नु हुँदैनथ्यो।कापी–किताब र डटपेन किन्न पैसा हुन्थ्यो।
कहिलेकाहीँ माइजुको पूजा कोठाबाट पैसा चोर्थें। कक्षा ११ मा पढ्दै गर्दा उर्लाबारी क्याम्पसमा पत्रकारिता तालिम आयोजना हुने भयो। कात्तिकको महिना थियो। आवेदकले तीन सय रुपैयाँ तिरेपछि तालिममा सहभागी हुन पाउने आयोजकले बताएका थिए। त्यसबेला मसँग पैसा थिएन। मामाले धान बेचेर पैसा जुटाइदिनुभयो। त्यो पैसाले तालिम लिएँ। तालिम सकिएपछि उर्लाबारीबाट प्रकाशित हुने अलकापुरी साप्ताहिकमा समाचार लेख्न थालेँ।
सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
अलकापुरी साप्ताहिकमा त मैले प्रशिक्षार्थी पत्रकार भएर काम गरेको थिएँ। काम गरेबापत रुपैयाँ पैसा केही प्राप्त हुँदैनथ्यो। तीन महिनापछि म राष्ट्रिय समाचार पत्र साप्ताहिकमा आवद्ध भएँ। त्यहाँबाट पकेट मनी आउँथ्यो। खाजा नास्ताप्रकाशकले आफैं व्यवस्था मिलाइदिनुहुन्थ्यो। विस्तारै म दमकबाट प्रकाशित हुने पूर्वसन्देश दैनिकमा आवद्ध भएँ। त्यसपछि मावल छोडेर उर्लाबारी चोकमै बस्न थालेँ। खान र बस्न मुस्किलले पनि पैसा पुग्दैनथ्यो।
पत्रिका आफैं बाँड्नुपथ्र्यो। विज्ञापन संकलन पनि आफैं गरेर पठाउनुपथ्र्यो। त्यही पत्रिका बाँडेको, ग्राहक बनाएको र विज्ञापन संकलन गरेकोबापत कमिसन आउँथ्यो। एकदमै कम कमिसन आउँथ्यो कार्यालयबाट। बिहान बेलुका छाक टार्न नै मुस्किल हुन्थ्यो। चाउचाउ मात्र खाएर धेरै रात बिताउँथेँ।
कोठा लथालिंग थियो। ओछ्यानमा झुल थिएन। लामखुट्टेको टोकाइ सहेर रात बिताउँथेँ। ओढ्ने ओछ्याउने कपडा थिएन। मलाई उर्लाबारीकै एक जना पत्रकार दाइले ओढ्ने ओछ्याउने लुगा दिनुभएको थियो। उहाँको पत्रिकामा काम गर्न छोडेपछि त्यो पनि फिर्ता माग्नुभयो। साह्रै दुःख लागेको थियो त्यसबेला।
उर्लाबारीमा झन्डै तीन वर्ष पत्रकारिता गरेपछि म झापा गएँ। काँकडभिट्टाबाट प्रकाशित हुने जन–संसद दैनिकमा काम गर्न थालेँ। बस्नको लागि दैनिक पत्रिकाले कोठा उपलब्ध गराएको थियो। त्यसबेला को पत्रकारको पारिश्रमिक बढी थियो र? त्यही तीन हजार, पैंतीस सय हुन्थ्यो। केही समयपछि बढेर साढे पाँच हजार पुग्यो। दैनिकी अलि राम्रोसँग चल्न थालेको थियो।
२०६५ साल फागुनतिरको कुरा हो। म जन–संसद्मै काम गरिरहेको थिएँ। त्यहीबेला काठमाडौंबाट नागरिक दैनिक पत्रिका प्रकाशित हुने हल्ला चल्यो। अन्तर्वार्ता लिन र रिपोर्टर खोज्न नागरिक पत्रिकाबाट पत्रकारहरू झापा आएका थिए। म अलि ढिलो भएँछु। ती अन्तर्वार्ता लिने पत्रकारहरू विर्तामोडमा केही पत्रकारको अन्तर्वार्ता लिएर विराटनगर पुगेका रहेछन्। चेतन अधिकारी दाइले फोन नम्बर दिएर अन्तर्वार्ता दिन सुझाव दिनुभयो। उहाँ त्यतिबेला कान्तिपुर दैनिकमा काम गर्नुहुन्थ्यो। उहाँले दिएको नम्बरमा सम्पर्क गरेर विराटनगरमै भेट्न पुगेँ। २०६६ वैशाख ११ गतेबाट पत्रिका बजारमा आउन थाल्यो। मलाई भदौ १ गतेदेखि लागू हुने गरी इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला हेर्न इलाम जिल्लामा पठाइयो। म गएँ। नागरिक दैनिकको उच्च सफलतामाथि मैले आफ्नो लेखन शैली तिखार्ने मौका पाएँ। इलाम गएको आठ महिनापछि बढुवा भएर विराटनगर सरुवा भएँ। विराटनगर आएपछि भने निकै ठूलो सफलता हात पर्यो।
नेपाली पत्रकारितालाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
नेपाली पत्रकारिताले अहिले व्यावसायिक सफलताको सिँढी चढेको छ। अवसरहरु थुप्रै छन्। हातमा सिप, मेहनत, लगनशील भएका र क्षमतावान् पत्रकारहरूको बाहुल्यता छ मिडिया हाउसहरुमा। मिडिया हाउस विकासित भएका छन्। सञ्चारमाध्यमहरु अत्यधिक खुलिरहेका छन्। अहिले त अनलाइन मिडियाको बर्चश्व छ। छिनमै ताजा–ताजा समाचारहरु देश विदेश पुग्छन्।
तर, सँगसँगै समस्या पनि छन्। समयमा पारिश्रमिक नपाउने धेरै पत्रकार छन्। क्षमता भएर पनि अवसर र आर्थिक रुपमा पत्रकारहरुलाई राम्रो छैन। तर, हामीले यसैभित्र संघर्ष गर्ने हो। आफ्नो क्षमता प्रदर्शन गरेर अवसर सिर्जना गर्नुपर्छ। पत्रकारिता गरेरै आफू बाँच्ने र परिवारलाई पनि पाल्नसक्ने हैसियत बनाउनुपर्छ। आँटिलो र साहसिलो भएर पत्रकारिता गर्नुपर्छ। लोभलालच त्यागेर सही, सन्तुलित र वस्तुनिष्ठ सामग्रीहरू ल्याउनुपर्छ। नेपालमा ओझेलमा परेका थुप्रै विषयवस्तु छन्। निमुखाहरूको जीवनस्तरमाथि कलम चलाउनुपर्छ। भ्रष्टाचार, कूरीतिहरुविरुद्ध कठोर बन्नुपर्छ। हाम्रो पत्रकारितामा यस्तो विषय उठान हुन छोडेका छन्, हामीले सामाजिक उत्तरदायित्व बुझेर काम गर्नुपर्छ। पेशामा धेरै विकृतिहरु छन्, तिनीहरुलाई निरुत्साहित गर्दै व्यावसायिक पत्रकारिताको बाटो समात्नुपर्छ।
अरु केही बन्ने सपना थियो कि?
एउटा गरिब परिवारमा हुर्किएको हुनाले खासै ठूलो केही सपना थिएन। पढेर डाक्टर, इन्जिनियर बनुँला भन्ने थिएन। पुर्खाहरुले जे गरे त्यसभन्दा केही भिन्न हुनुपर्छ भन्ने सोचाइ चाहिँ थियो। सानैदेखि विकृति विसंगतिको बिरोध गर्थें। हामीहरुजस्तो गरिबीको रेखामुनी रहेका व्यक्तिहरु समाजमा हरेक तप्काबाट हेपिनुपरेको यथार्थ मसँग थियो। म यी यावत् विसंगतिमाथि धावा बोल्छु भन्ने लाग्थ्यो। ठ्याक्कै यही बन्ने सपना थिएन। परिस्थितिवश् म पत्रकारितामा आएँ। यतै भविष्य बनाइरहेको छु। ब्ल्याकबेल्ट कराँते खेलाडी बन्ने सपना थियो। तर परिस्थितिवशः म त्यता जान सकिनँ।
कसैले ल्याएको हो या आफैं आउनुुभयो ?
म आफैं आएको हो। पत्रकार भनेको ठूलो मान्छे हो भन्ने भ्रम परेको थियो। तालिम दिनेहरुले पत्रकार भनेको राष्ट्रको चौथो अंग हो, ठूलो मान प्रतिष्ठा र इज्जत भएको पेशा हो भन्थे। म त्यही मान, प्रतिष्ठा र इज्जत हात लाग्छ भनेर आएँ। तर, यहाँ त भनेजस्तो सजिलो रहेनछ। धेरै संघर्ष गरेँ। पछि पाइला–पाइलामा साथ पनि पाएँ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
संघर्षबाटै म स्थापित भएको हुँ। मेरो पृष्ठभूमि नै संघर्षको भएकाले म संघर्षमा कहिल्यै थाकिनँ। अहिले पनि संघर्षै गरिरहेको छु। फेरि पत्रकारितामा बिना संघर्ष स्थापित हुन पनि सकिन्न रहेछ।
आफ्नै नजरमा खिला के हो र कोहो ?
म एउटा साधारण पत्रकार÷रिपोर्टर हुँ। मलाई अन्याय, अत्यचार, भ्रष्टाचार, विकृति, विसंगति मन पर्दैन। अन्यायले थिचिएका जनताको पक्षमा लेख्छु। मेरो पहिचान एउटा असल, साहसी र आत्मविश्वासले भरिएको पत्रकार हो। जति लेख्छु, ती समाचारहरुले कुनै न कुनै रुपमा देश र समाजलाई तरंगित पारिरहेका हुन्छन्। जे पायो त्यही लेख्दिनँ। कसैको चरित्र हत्या गर्दिनँ। खराब र समाजमा नकारात्मक चरित्र बोकेका पात्रहरुको भण्डाफोर गर्छु। लेख्दा हात कहिल्यै कामेको छैन। शक्तिकेन्द्रहरूसँग जहिल्यै आमने–सामने भिडन्त गरियो।
मान्छेहरुले तपाईंलाई कसरी चिनोस् जस्तो लाग्छ ?
सच्चाइ दुनियाँको वकालत गर्ने पत्रकार हो भनेर जनताले चिनुन्। यसले गलत काममा हात हाल्दैन, गल्ती गर्नेलाई छोड्दैन भनेर चिनिनँ चाहन्छु। गल्ती गर्ने धेरै मान्छे झुकेका छन् मसँग।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ?
म आत्मविश्वासी छु। जुनसुकै क्षेत्रको समाचार लेख्न सक्छु। खोजमूलक र दमदार समाचार लेख्दा आनन्द आउँछ। भ्रष्टाचार, अन्याय, अत्यचारी, गुन्डालाई यो समाजमा स्थान छैन, म लेख्न छोड्दिनँ। लेखाइमा शुद्धता छ। भाषामा म निपूर्ण छु। बाँकी मेरो सबल पक्ष मेरै सम्पादकलाई सोध्नुहोला।
अनि कमजोर पक्ष चाहिँनि?
म जसरी लेख्छु त्यसबाट चिढिएका पात्रहरूले विभिन्न समयमा दुःख दिन्छन्। मिडिया हाउसबाटै आक्रमण हुन थाल्छ कहिलेकाहीँ। म यस्तोमा आफूलाई व्यवस्थापन गर्न सक्दिनँ। भावुक हुन्छु। भावनामा आएर कहिलेकाहीँ निर्णय पनि गरेको छु।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ?
शंकालु। पत्रकार भनेको अनुसन्धान गर्ने व्यक्ति पनि हो। राम्रै पक्षलाई पनि शंकालु नजरले हेर्यो भने थप नयाँ जानकारी हासिल हुन्छ।
तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन्?
मेरो आँट, साहस र आत्मविश्वास छ। पेशामा शुद्धिकरण विश्वास गर्छु। यति भए स्वभाव आफैं निर्माण हुँदै जान्छ।
तपाईंलाई कति खेर रिस उठ्छ ?
भ्रष्टाचारी र गुन्डा पुरस्कृत भएको देख्दा रगत तातेर आउँछ। जुत्तै खोलेर हिर्काइदिन मन लाग्छ।
अनि कतिखेर भावुक हुनहुन्छ?
म आफैंमाथि अन्याय भयो भने। बिनाकारण गलहत्याइँदा भावुक हुन्छु। बारम्बार यस्तो भएको पनि छ म माथि।
तपार्इंलाई कस्तो स्थितिले उत्तेजित तुल्याउँछ?
भ्रष्टाचारीले आफू एकदमै शुद्ध भएको भन्दा।यसमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको उदाहरण छ म सँग। उनी आफूलाई खुबै निष्कलंक न्यायाधीश भन्थे। तर, उनी त भ्रष्टाचारको नमूनै भएर परिचित भए। उनका हरेक निर्णय विवादास्पद हुन्थे। उनलाई मैले उनकै कार्यकक्षमा हप्काएको थिएँ। एउटा समाचारको रिपोर्टिङको सिलसिलामा मलाई बोलाएका थिए। म गएँ। उनले समाचार नलेख्न मलाई हरेक तरहबाट बिन्ति गरे। उनको कुरा सुनिरेँ। जब मलाई ‘अफर’ गरे, अनि कन्सिरी तातेर आयो। त्यसबेला मेरो नाकको अप्रेसन भएको पाँच छ महिना भएको थियो। नाकबाट रगत आउँथ्यो घरीघरी। उहाँले मलाई उपचार खर्च र व्यक्तिगत आर्थिक प्रलोभन देखाउनुभयो। मैले ‘तपाईंको सहयोग तपाईं नै राख्नुहोस्, मेरो उपचारमा तपाईंले चिन्ता गर्ने हैन’ भनेर उहाँको कार्यकक्षबाट निस्केको थिएँ।
तपाईं कतिको संयमित हुनुहुन्छ?
धेरै नै संयमित छु। भावुक पनि छु। पत्रकारितामा संयमता अपनाउँछु। तर, जब अतिले खति गर्न थाल्छ, त्यतिबेला मेरो संयमता रहँदैन।
अनि कतिखेर खुुसी हुनुहुन्छ?
पारिश्रमिक बढेको दिन। बढुवा भएको दिन।अनि आफूले कलम चलाएका सकारात्मक पक्षमाथि न्याय हुँदा, भ्रष्टहरूमाथि कारबाही हुँदा खुसी हुन्छु। मेरो सम्पादकले मलाई ‘हिरो’ भनेर बोलाउनुहुन्छ। राम्रो समाचार लेखेको दिन धाप मारेर स्याबासी दिनुभएको क्षणमा चंगा नै हुन्छु।
तपार्इंका दुःखहरु के हुन् ?
भनिसाध्य छैन। साधारण पत्रकारले खपेका दुःख जे–जस्ता हुन्छन्, ती सामान्य त लाग्छन्। आर्थिक संकट जीवनको सबैभन्दा ठूलो दुःख हो। दायाँ–बायाँ नगरी काम गर्दा आर्थिक संकट लाग्छ। त्यसबाहेक समाचार लेख्दा पिटाइ खाएको छु, अदालतमा मुद्दामामिला खेपेको छु। अहिले पनि एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
अनि तपार्इंको सुख चाहिँनि?
खोजमूलक समाचार लेखेपछि सुख प्राप्त भएको अनुभूति हुन्छ। राम्रो काम गरेको भनेर सम्पादकले स्याबासी दिँदा सुखद् महसुस गर्छु। समाचारका स्रोतहरू धेरै बनाएको छु। नाम कमाएको छु, साथीभाइबनाएको छु। नेपालमा नाम चलेका ठूला मिडिया हाउसका सम्पादकहरूबाट स्नेह पाएको छु।यही हो सुख।
तपाईंको जीवनको सबैभन्दा दुखद् क्षण?
नागरिक दैनिकमा काम गर्दाताका २०६८ सालमा अपहरणपछि ज्यान लिन खोजियो। म १९ दिन अस्पताल बसेँ। अप्रेसन गर्नुपर्यो। ठूलो आन्दोलन भयो, धाक धम्कीको सामना गर्नुपर्यो। महेश बस्नेतले ‘हिसाब किताब लिन्छु’ भनेर धम्क्याएका थिए सार्वजनिक भाषणमै।
अनि खुसीको क्षण चाहिँनि?
राम्रो काम गरेको भनी नागरिक दैनिकले मेरो दुःखमा साथ दियो। मलाई पिटाइ खाँदा संस्था नै खनिएर अपराधीहरूविरूद्ध लाग्यो। यस्तो साथ कमै पत्रकारले पाउँछन्। तर, संस्थामा सम्पादक को हुन्छ, त्यसअनुसार पनि भर पर्दो रहेछ। पत्रकार महासंघ र आम देशी विदेशी पत्रकारिताका संस्थाबाट अपराधविरुद्ध लड्न प्रेरणा पाएँ।संस्थाबाट बढुवा पाएँ, बिरामी हुँदा औषधी उपचार पाएँ। त्यो भन्दा ठूलो खुसी के हुन्छ र?त्यसबेला मलाई अस्टे«लियन दूतावासबाट अस्ट्रेलिया जानका निम्ति अफर थियो। मैले सिधा इन्कार गरेँ। ज्योति संघेराको मानवअधिकारवादी संस्था नेपालमा क्रियाशील थियो, त्यसले विराटनगरमै आफ्नो रिपोर्ट सार्वजनिक गरी मेरो कदमको खुलेर प्रशंसा गर्यो। पछि त्यो संस्थालाई नेपालबाटै अलप गरियो।
तपाईंको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो?
पिटाइ खाएको बखत। महेश बस्नेतले त खुलमखुल्ला भाषणमै हिसाब किताब लिन्छु भनेका थिए। पर्शुराम बस्नेत र उनको समूहले जहाँ भेटे पनि मारिदिन्छौं भनेका थिए। तर, मैले फिक्री मानिनँ। प्रहरी र प्रशासन मेरो पक्षमा थियो। तत्कालीन एसपी प्रद्युम्न कार्की मेरो संघर्षपूर्ण जीवनका लागि विधाता भएर आए।
नागरिक दैनिकले मलाई सुरूमा जसरी साथ दियो, सम्पादकहरू फेरिएपछि दुःखका दिन सुरू भए। किशोर नेपाल नागरिकको सम्पादक भएपछि नारायण वाग्लेको मान्छे भनेर मलाई अन्यायपूर्वक हटाउन खोजे। त्यसरी हटाउन राजनीतिक रुपमा नागरिक दैनिक मिडियाका मालिकसँग लबिङ गरिएको रहेछ।तैपनि मैले संघर्ष गरेँ। तर, पछि राजीनामा नदिई धर पाइनँ।
किशोर नेपालले शृंखलाबद्ध तरिकाले मलाई मात्र नभएर नागरिकका तत्कालीन सह–सम्पादक सुदीप श्रेष्ठ, राजनीतिक ब्युरो किरण भण्डारी, सामाजिक ब्युरो गिरीश गिरी, डेस्क प्रमुख मनोज दाहाल र अरु माधव ढुंगेल, नवीन अर्याल, गोविन्द परियारलगायतलाई हटाएका थिए। उनीहरु मुद्दामामिलामा गए।
नागरिकले मेरो सेवा सुविधा खोस्यो, समाचार पनि छापेन। कलिली बहिनीलाई पढाउन विराटनगर ल्याएको थिएँ, आधा वर्षसम्म बिना तलब, पारिश्रमिक दुःखपूर्वक दिन काट्नुपर्यो। किशोर नेपाल नेपाली पत्रकारिताको ‘क्यान्सर’ थिए त्यसबेला।
त्यसलाई के को बलमा पार गर्नुभयो?
नागरिकबाट राजीनामा दिएपछि वरिष्ठ पत्रकार तथा म काम गर्दाताका प्रधान सम्पादक नारायण वाग्ले, अमित ढकाल, सुदीप श्रेष्ठ, गिरीश गिरी र किरण भण्डारीबाट साथ पाएँ। उहाँहरूले मेरो दैनिकी चलाउन सहयोग गर्नुभयो। हामी अन्यायको बिरोध गर्ने एउटा टिममा थियौं। अदालती रिपोर्टिङ गर्ने विनिता दाहाललाई मेरो अन्यायमा ट्वीट गरेको भनेरै निकाले किशोर नेपालले।
गोजीमा पैसा नहुँदा नारायण, अमित, किरण, सुदीप दाइहरुले दुई चार हजार त पर्सबाट निकालेर दिनुहुन्थ्यो। नेपालय पब्लिकेसनबाट महिनाको १५ हजार रुपैयाँ निरन्तर प्राप्त हुने वातावरण मिलाइदिनुभयो। पछि सेतोपाटी अनलाइन खुल्यो, म फेरि जागिरमा फर्केँ।
अहिलेसम्म तपार्इंले गर्नुभएको सबैभन्दा सही निर्णय?
विराटनगरमा अपराधविरुद्ध कलम चलाउँदा पिटाइ खाएँ। देशभरि आम पत्रकार आन्दोलनमा उत्रिएका बखत मलाई अपराधीहरूसँग सम्झौता गर्न पचास लाख रुपैयाँ, घर अनि गाडी दिने अफर आयो। मैले त्यसलाई सिधै इन्कार गरेँ र पत्रकारिताको मान प्रतिष्ठा र इज्जत बढाउनेमा अडिग रहेँ। त्यसबेला मलाई नारायण र अमित दाइले भयंकर साथ दिनुभएको थियो। नागरिकको राजनीतिक ब्युरो किरण भण्डारी र अपराध रिपोर्टिङ गर्ने सुन्दर खनाल दाइलाई विशेष रिपोर्टिङ गर्न विराटनगर नै पठाउनुभएको थियो। उहाँहरूले पर्शुराम बस्नेतको आपराधिक सञ्जालको भण्डाफोर गर्नुभएको थियो।
पत्रकारिता जीवनमा अन्याय पर्दा लडेँ, भिडेँ। आफू आवद्ध संस्थाविरूद्ध नै लडेँ। अन्याय पर्दा लडेन भने के पत्रकारिता गर्नु? आफैंमाथि अन्याय हुँदा लड्न नसक्ने पत्रकार कायर हो। लाचार भएर पत्रकारिता नगरेकै राम्रो।
अनि गलत चाहिँनि?
व्यक्तिगत समस्या छोडेर पेशागत रुपमा आजसम्म जे गरेँ, केही गलत गरेको जस्तो लाग्दैन।
सबैभन्दा पछुुतो लागेको क्षण?
पेशागत जीवनप्रति कहिल्यै पछुतो लागेको छैन।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण?
अन्नपूर्ण पोस्टबाट राजीनामा दिँदा अत्यधिक रोएको थिएँ।मलाई किरण भण्डारी र मनोज दाहालले धेरैबेर सम्झाउनुभएको थियो।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
अन्तिमपटक त्यही अन्नपूर्ण पोस्ट छोड्दा रोएको थिएँ। त्यसयता रोएको छैन। अँ .. व्यक्तिगत रुपमा चाहिँ म रोएको छु। अन्नपूर्ण पोस्टमा काम गर्दा सम्पादकले बीचमै मलाई बिनाकारण राजीनामा दिन भन्नुभयो। लोकमानसिंह कार्की विरूद्ध रिपोर्टिङ गरेपछि अन्नपूर्ण पोस्ट ममाथि लागेको थियो। लोकमानको भजन गाउँथ्यो अन्नपूर्णले त्यसबेला। मैले त पूर्वमा सुपारी तस्करी लोकमान कार्की आएपछि सुरू भएको भनी समाचार लेखेको थिएँ। समाचार त डम्प भो। सम्पादकले राजीनामा दे भनेपछि म भावुक भएँ। अन्नपूर्ण पोस्टको लागि मैले के गरिनँ? जीवनमा कसैलाई घुस ख्वाएर काम गर्नुपरेको थिएन। मैले अन्नपूर्ण पोस्टका लागि १० हजार घुस ख्वाएर मालपोत कार्यालय इनरुवाबाट इटहरीको प्रेस भएको जग्गा पास गर्न सहयोग गरिदिएँ। मलाई त्यो दिन सम्झँदा अहिले पनि आँशु आउँछ। यस्तो काम जीवनमा कहिल्यै गर्नु नपरोस्, मैले घुस ख्वाएर जग्गा पास गरेबापत नेपाल इन्भेस्टमेन्ट बैंकबाट अन्नपूर्णका मालिक रामेश्वर थापाले १६ करोडको लोन पास गरेछन्। लोकमानको केस उठाउनेवित्तिकै म माथि जाइलाग्यो अन्नपूर्ण। अहिले तत्कालिन कान्तिपुरको दैनिकको सम्पादक हरिवहादुर थापा अन्नपूर्णपोष्टको प्रधान सम्पादक हुनुहुन्छ । उहाँ कान्तिपुरमा हुँदा लोकमानको कर्तुतबारे सबैभन्दा धेरै समाचार,विचार लेख्ने मान्छे हो । मैले समाचार लेखेको बेला गुणराज लुईटेल सम्पादक हुुनुहुन्थियो ।
तपाईलाई कस्तो मान्छे म पर्छ?
आँटिलो, साहसिलो। पेशा, समाज र देशप्रति जिम्मेवार व्यक्ति मन पर्छ।
अनि कस्तो मन पर्दैन?
भ्रष्टाचारी, गुन्डा र अनुत्तरदायी नेताहरू मन पर्दैन।
तपाईं कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ?
देश र समाजमारा, जनता चुस्ने जोकोही मन पर्दैन।
फुर्सदको समय कसरी बिताउनुहुन्छ?
केही लेख्छु, नत्र पुराना नेपाली फिल्म हेरेर बस्छु।
पत्रकारिता बाहेक तपाईंको रुचीको क्षेत्र?
समाजसेवा मन पर्छ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक?
पल्पसा क्याफे।
अहिले कस्ता पुस्तक पढिरहनु भएको छ?
अहिले कुनै पुस्तक पढिरहेको छैन। कामले फुर्सदै पाउँदिनँ। काममात्र गरेको भनेर घरमा श्रीमती रिसाउँछिन्, उनलाई कतै घुमाउन लैजान पाएको छैन।
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
पल्पसा क्याफे। चार पटक पढेको छु।मेरो पत्रकारिताको गुरुवाग्ले हो। यसमा मेरो दृष्टिकोण असन्तुलित पनि हुन सक्छ।
कस्ता फिल्म हेर्नुुहुन्छ ?
अन्याय अत्यचारविरुद्ध आवाज उठाउने।
तपाईलाई मनपर्ने फिल्म ?
भैरब।
दोहोराएर हेर्नुभएको फिल्म?
त्यस्तो त धेरै छन्। राजेश हमाल भएको चक्रब्यूह फिल्म धेरै पटक हेरेको छु। अपराधसँग सम्बन्धित कुनै फिल्म छुटाएको छैन।
तपाईलाई म पर्ने हिरो हिरोइन ?
राजेश हमाल, करिश्मा मानन्धर, निखिल उप्रेती, गरिमा पन्त।
तपाईलाई रुवाएको फिल्म ?
तकदिर।
मनपर्ने गायक–गायिका ?
उदितनारायण झा, दीपा झा, इन्दिरा जोशी, दीपक लिम्बू।
मनपर्ने ठाउँ ?
पोखरा, जहाँ म एक पटक पनि गएको छैन। इलाम जिल्ला। अनि म जन्मेको ठाउँ मन पर्छ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
स्व. सुशील कोइराला। सुशील कोइराला बितेको दिन अत्यधिक पीडा भएको थियो। माधवकुमार नेपाल मन पर्छ। अहिलेका नेतामा गगन थापा, गोकर्ण विष्ट, डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा।
अनि विदेशका मनपर्ने नेता चहिँ नि?
म्यानमार नेतृ आङसाङ सूची। अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। बाराक ओबामा पनि मन पर्छ।
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
गगन थापा, गोकर्ण विष्ट, योगेश भट्टराई।
तपाईको आदर्श को हो, किन ?
मेरो आदर्श मेरो स्वाभिमान हो। स्वाभिमानले मान्छेको जीवन संघर्ष सिकाउँछ।
नेपालका मन पर्ने साहित्यकार ?
नारायण वाग्ले, झमक घिमिरे, अमर न्यौपाने।
आफैंप्रति तपाईलाई केही गुनासो छ कि?
केही छैन।
अनि यो समाजप्रति चाहिँनि?
हाम्रो समाज अन्धो छ। परिस्थितिअनुसार चल्दैन। जब परिस्थिति उल्टो बन्छ, अनि समाज तात्छ।
जीवन के रहेछ?
जीवन संघर्ष हो।
बाँकी योजना र सपना कस्ता छन्?
पत्रकारितालाई निरन्तरता दिने। पुस्तक लेख्ने। आफ्नै जीवन–संघर्षको कथावस्तुमा पुस्तक लेखिरहेको छु।
पत्रकारिता जगतमा लागेर के पाउनुभयो?
आत्मसम्मान पाएँ। समाजबाट माया पाएँ।
अनि के गुमाउनु भयो?
भौतिक सुख गुमाएँ। मलाई देशविदेशमा लगेर ठूलो सुखभोगको सपना देखाइएको थियो। तर, नेपाल छोड्न मन लागेन। जीवनमा मैले आफ्नो प्रेम गुमाएको छु।
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त?
निश्चय नै। यो पेशाबाहेक सोच्न पनि सक्दिनँ।
नयाँलाई के सुझाव दिनुहुन्छ?
संघर्ष गर्नुहोस्, आत्मसम्मान बटुल्नुहोस्। पेशागतजीवनमा सधैं विश्वास गर्नुहोस्। अन्याय, अत्यचारको सधैं बिरोध र भण्डाफोर गर्नुहोस्। संघर्ष गर्नुहोस्। विकृति विसंगतिलाई साथ नदिनुहोस्। आलोचना सहनुहोस्। यति भए राम्रो पत्रकार भइन्छ। अहिले सिंहदरबार, प्रहरी, प्रशासन, पत्रकारितादेखि राज्यका हरेक अंगमा पत्रकार दलाल भएर नियुक्ति खाई बाँचिरहेका छन्। यी दलालहरूले सच्चाई दुनियाँलाई दिग्भ्रमित गरिरहेका छन्। पत्रकार महासंघमा दलाल छन्। होसियार रहनुहोस्।