काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादर थापा बादलले नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गर्दै म्याग्दीको तातोपानी कुण्डमा तिर्थोटघाटनका लागि पुगेका छन् ।
म्याग्दी र पर्वतका विभिन्न धार्मिक स्थल अवलोकन र भ्रमणमा जान प्रचण्डले सेनाको हेलिकप्टर दुरुपयोग गरेका हुन् । परिवारसहित गृहमन्त्री बादललाई लिएर सेनाको एमआई १७ हेलिकोप्टर लिएर प्रचण्ड तातोपानी कुन्ड पुगेका हुन् ।
प्रचण्ड, बादल, प्रचण्डपत्नी सीता दाहाल, छोरी गंगासहितले डबुल्की मारेका फोटाहरु अहिले मिडिया र सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विशेष कामबिना पारिवारिक र व्यक्तिगत भ्रमणमा सेनाको हेलिकोप्टरको दुरुपयोग गरेको भन्दै उनको आलोचना भइरहेको छ ।
निजी काम र व्यक्तिगत सयलका लागि नेताले सेनाको मात्र होइन, सरकारी रकमको दुरुयोग गरेको विरोध गरिरहेका बेला प्रचण्डलगायतको टोलीको यो कामको धेरैतिरबाट आलोचना भएको छ । केहीले भने बचाऊ पनि गरेका छन् । तर धेरैले यस्तो कामलाई सत्ताको दुरुपयोग भनेका छन् ।
म्याग्दीको सदरमुकाम बेनीको अवलोकन भ्रमण भनिए पनि प्रचण्डको व्यक्तिगत र पारिवारिक भ्रमणमात्र रहेको पारिवारिक स्रोतले बताएको छ ।
आफुलाई नास्तिक बताउँदै दशैंतिहारको टिका समेत नथापेका प्रचण्ड गोलेश्वर धामको अवलोकनमा समेत पुगेका थिए ।
बेलामौका विभिन्न ठाउँ घुम्न मन पराउने प्रचण्डले निजी भ्रमणका लागि सेना वा सरकारी सुविधाको प्रयोग नगरेको भए उचित हुने नेकपाका कतिपय नेताले पनि बताएका छन् । प्रचण्ड लगायत परिवारले भ्रमण गरेको राज्य कोषको रकम कस्ले तिर्ने ?