बागलुङ,२९ कार्तिक ।
धौलागिरीका चार जिल्लालाई केन्द्रित गरेर स्थापित धौलागिरी अञ्चल अस्पताल बागलुङमा १५ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, अहिले मुस्किलले मेडिकल सुपरिटेन्डेन्ट एक र अर्का एक गरी दुईजना स्थायी र तीनजना करारमा कार्यरत छन्।
अन्य १० जनाको रिक्त दरबन्दी परिपूर्ति गर्न अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई निकै सकस छ। कारण दरबन्दी अनुसार धौलागिरी अस्पतालमा खटाइएका डाक्टर सरुवा भएकै दिन रमाना लिने र फिर्ता हुने गरेका छन्।
स्त्री रोग विशेषज्ञ डा. अनुपा थापा, फिजिसियन डा. कल्याण सापकोटा र बालरोग विशेषज्ञ डा. प्रज्वल पौडेल धौलागिरी अञ्चल अस्पतालमा हाजिर भएर २४ घन्टा नबित्दै फिर्ता भएका हुन्।
धेरै मेहनत र दबाबपछि अस्पतालमा खटाइएका तीन विशेषज्ञ डाक्टर अस्पतालको रमाना बिना केन्द्रीय तहबाटै फिर्ता भएको जानकारी आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए।
सरुवाको २४ घण्टा नबित्दै फर्केका डाक्टरहरु मध्ये डा. थापा बुटवलस्थित लुम्बिनी अस्पताल, डा. सापकोटा भरतपुर अस्पताल र डा. पौडेल वीर अस्पतालमा छन्। अस्पताल व्यवस्थापन समितिमा नयाँ नेतृत्व आए पछि जिल्लाबाट प्रतिनिधित्व गर्ने १५ जना सांसदलाई बोलाएर ध्यानाकर्षण गराइएको थियो। त्यसपछि प्रदेश र संघमा मन्त्रालयबाट ढिलासुस्ती भएको तीव्र आरोप र दबाबपछि डाक्टर खटाएको थियो।
कतिपयले सरुवा भएर आउने बेलामै काज र फिर्ताको कागज बनाएर आउने गरेको समेत अस्पताल स्रोतले खुलासा गरेको छ। कतिपयले हाजिर गराएकै बेला कार्यालय प्रमुखसँग रमानापत्रमा पनि हस्ताक्षर गराउने गरेका छन्।
यसअघि धौलागिरी अञ्चल अस्पतालमा दरबन्दी भएका कन्सल्टेन्ट डा. सुशीलमोहन भट्टराई र कन्सल्टेन्ट फिजिसियन डा.अमर पौडेलले पनि नियुक्ति र सरुवाको कागज मन्त्रालयबाटै एकैपटक बनाएका थिए। वीर अस्पतालमा कार्यरत रहेका उनीहरु दुवैले बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा एकपटक आउनसम्म पनि परेन। मन्त्रालयबाटै सरुवा भए र काजको कागज बनाएर वीर अस्पतालमै फर्किएका थिए।
सचिव स्तरीय निर्णयले धौलागिरी अस्पतालमा खटाइएका उनीहरुलाई मुख्य सचिवको आदेशले पुरानै स्थानमा फर्काइएको अस्पतालको भनाइ छ। सामान्यतया कर्मचारीहरु सरुवा भएर आएपछि २ वर्ष कार्यालयमा काम गर्ने सरकारी प्रावधान छ।
केही सुरक्षा अधिकारीबाहेक अधिकांश कर्मचारीको त्यस्तो प्रावधान लागू पनि हुन्छ। तर धौलागिरी अञ्चल अस्पतालमा हाजिर भएको २४ घन्टा नबित्दै डाक्टर र चिकित्सक फिर्ता हुने प्रवृत्तिले अस्पतालको सेवा प्रवाह, गुणस्तर र विश्वसनीयतामा ठूलो समस्या पैदा भएको धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए।
लामो समयसम्म अस्पताल विकास समिति, जिल्लाको प्रतिनिधित्व गर्ने सांसद र सामाजिक अगुवाको दबाबपछि धौलागिरी अञ्चल अस्पतालमा मन्त्रालयले विशेषज्ञ डाक्टर खटाएको थियो। ‘सरकारी जागिर खाएर सरुवा भएको स्थानमा म जादिन भन्ने ? हाजिर पनि हुन नपर्ने यो कस्तो व्यवस्था परिपाटी हो ?’ अध्यक्ष रानाले भने, ‘जसले जे गरे पनि हुने, कारबाही गर्नुको साटो यस्ता डाक्टरले माथिबाट संरक्षण र पुरस्कृत गर्ने प्रवृत्तिले दुर्गम जिल्लाका सेवाग्राहीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने अवस्था अझै विद्यमान हुनु बिडम्बना हो।’
सरुवा भएर तत्कालै फिर्ता भएका डाक्टरको रमाना भने अस्पतालले अझै रोकेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सागर राजभण्डारीले अर्को वैकल्पिक व्यवस्था नभए सम्म अस्पतालले रमाना नदिने दाबी गरे। डाक्टरले वर्षौसम्म धौलागिरी अञ्चल अस्पतालको नामबाट तलब खाएर राजधानी र सुविधा सम्पन्न अस्पतालमै बस्ने गरेकोसमेत अस्पताल स्रोत बताउँछ। अन्नपुर्ण पोष्टबाट ।