• काठमाडौं  : सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारक चालकको लापर्वाही रहेको पाइएको छ ।
    चाडबाडका बेला भएका सवारी दुर्घटनाको अध्ययन गर्दा ७२ प्रतिशत घटनामा चालकको लापर्वाही भेटिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । चाडबाडका बेला देशमा कूल ७०७ सवारी दुर्घटना भएकोमा ५१२ दुर्घटनामा चालकको लापर्वाही भेटिएको छ । उक्त दुर्घटनामा कूल १५१ को मृत्यु र ९७९ घाइते भए ।

    नेपालीको मुख्य चाड दशैँ र तिहारको अवधिमा भएका सवारी दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अध्ययन गरेको थियो । “सबैभन्दा बढी दुर्घटना सवारी चालकको लापर्वाही पाइयो”, प्रवक्ता सुवेदीले भन्नुभयो, “अन्य कारणमा ओभरटेक, तीव्रगति र मापसेलगायत छ ।”

    प्रहरीले विभिन्न सचेतनामूलक कर्यक्रमसहित दुर्घटना न्यूनीकरणका उपाय अपनाएर कारवाहीलाई तीव्र बनाए पनि चालकको लापर्वाही भने घट्न सकेको छैन । तिहारका बेला मलुकभर कूल २०५ सवारी दुर्घटना भएको थियो । त्यसमध्ये १५४ दुर्घटनामा चालकको लापर्वाही पाइएको प्रहरीले जनाएको छ । जुन कूल दुर्घटनाको झण्डै ७५ प्रतिशत हो । ओभरटेक गर्दा पाँच, तीव्र गतिका कारण ३३, मापसेका कारण पाँच तथा यात्रुको लापर्वाहीले पाँच दुर्घटना भएका छन् ।

    दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न छ । त्यसपछि जीप, कार बढी दुर्घटनामा परेको पाइएको छ । कात्तिक १९ देखि २४ सम्म तिहारका बेला विभिन्न दुर्घटनामा ३९ को मृत्यु भएको र २३० घाइते भएका छन् ।

    यस्तै दशैँको अवसरमा भएको दुर्घटनाको अध्ययन गर्दा पनि झण्डै ६८ प्रतिशत दुर्घटनामा चालकको लापर्वाही देखिएको छ । कूल ३५५ दुर्घटनामध्ये २४२ दुर्घटना चालकको लापर्वाहीका कारण भएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । तीव्रगतिका कारण ५८, मापसेका कारण आठ, यान्त्रिक गडबडीले १० र यात्रुको गल्तीले २४ दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । गएको असोज २४ देखि कात्तिक ५ गते दशैँको अवधिमा भएको दुर्घटनामा ११२ को मृत्यु तथा ७४९ घाइते भएका छन् ।

    सडकको दूरावस्था र निजी सवारीको अत्यधिक चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको निष्कर्ष छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त सडकको स्तरोन्नति गरी निजी सवारी आयातलाई कडाइ गर्नु जरुरी रहेको आँैल्याउनुहुन्छ ।

    काठमाडाँैका उपत्यकामा भने अन्य जिल्लाको तुलनामा सवारी चाप बढ्दो छ । वाग्मती अञ्चलमा चल्ने सवारीमध्ये ९४ प्रतिशत गाडी काठमाडौँ उपत्यकामा गुड्ने ट्राफिक प्रहरीको भनाइ छ । एकजना प्रहरीले डेढ किलोमिटर सडकको ट्राफिक व्यवस्थापन हेर्नुपर्ने अवस्था रहेकाले पनि दुर्घटना न्यूनीकरण गर्न प्रहरीलाई समस्या छ ।

    महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापाक्षेत्री यसपटक चाडबाडका बेला उपत्यकामा सात हजार बढी प्रहरी परिचालन गरिएकाले ठूला आपराधिक घटना नभएको बताउनुहुन्छ । प्रहरीका अनुसार चाडबाडका बेला कूल ७०७ सवारी दुर्घटनामध्ये उपत्यकामा मात्रै ३३३ दुर्घटना भएका छन् । सो दुर्घटनामा उपत्यकामा १५ को मृत्यु तथा १७७ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…