देबु बानियाँ
धुलावारी । जनप्रिय वचत तथा ऋण सहकारी संस्थाको ९ वर्षको अवधीमा ५ करोड ६ लाख १४ हजार ६ सय ६३ रुपैया ३३ पैसाको कारोबार गर्न सफल भएको छ । २०६६ सालमा स्थापना भएको यस सहकारीले आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तसम्ममा आइपुग्दा यति धेरै कारोबार गर्न सफल भएको हो । संस्थाको असार मसान्तसम्मको अवधीमा सेयर पुँजी ९५ लाख २९ हजार ७ सय २५, जगेडा कोष ५८ लाख ४५ हजार ६ रुपैँया, निक्षेपतर्फ ३ करोड ३७ लाख८७ हजार ६ सय २५ रुपैयाको कारोबार गर्न सफल भएको शुक्रवार धुलावारीमा सम्पन्न नवौँ वार्षिक साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष चुडामणि बरालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्यक्ष बरालको प्रतिवेदन अनुसार नगद मौज्दात २९ लाख ९४ हजार ८ सय २१, बैंक मौज्दात १० लाख ५८ हजार ८ सय ४ रहेको छ ।
यस अघि मेचीनगरलाई मात्र कार्य क्षेत्र बनाइरहेको यस संस्थाले गत असार देखि बुद्धशान्तिमा समेत कार्य क्षेत्र बढाएको छ भने निकट भविष्यमा जिल्लाभर क्षेत्र विस्तार गर्ने संस्थाका व्यवस्थापक सुन्दरबहादुर मगरले जानकारी दिए ।
संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो । यसरी सम्मानित हुनेहरुमा जेष्ठ सेयर सदस्यतर्फ जलिल महमद, उत्कृष्ट बचततर्फ नरबहादुर दर्जी र शंकर भगवान पण्डित, उत्कृष्ट ऋणीतर्फ जितबहादुर लिम्बू र खोइ महमद मिया तथा उत्कृष्ट कर्मचारीमा सविना लामा रहेका छन् । उनीहरुलाई नगदसहित सम्मान पत्र, दोसल्लाले सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष चुडाँमणि बरालको सभापतित्व तथा जिल्ला सहकारी संस्थाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरु, महालक्ष्मी महिला कृषि सहकारीकी सदस्य मञ्जु खनाल, पूवीद्धार बचत तथा ऋण सहकारीका अध्यक्ष चेतन विष्टलगायतले संस्थाले गरेको प्रगतिको प्रशंसा गरेका थिए । व्यवस्थापक सुन्दरबहादुर मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुभाष गुरुङले गरेका थिए ।