२ मंसिर, काठमाडौं ।
संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नेविसंघ विवाददेखि राष्ट्रपतिलाई बिलासी गाडी खरिदका लागि १८ करोड रुपैयाँ निकासा भएकोसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
पत्रपत्रिकाकै पहिलो पृष्ठमा वीरले अनियमित तरिकाले ५ सय जनालाई नियुक्ति दिएको, कांग्रेस शीर्ष नेता नेविसंघको घेरामा परेको, रेल सम्भाव्यता अध्ययनका लागि भारतसँग एमओयू भएको, नेकपामा एकता टुंग्याउन महासचिवको नेतृत्वमा गठित कार्यदल नै अलमलमा परेकोलगायत समाचार हेडलाइन बनेका छन् । विकृत बन्दै गइरहेको सामाजिक सञ्जालबारेको रिपोर्ट पनि आजको पत्रिकाले छापेको छ
भक्तपुरमा सैनिक आवासीय महाविद्यालय परिसरको खेल मैदानसँगै रानीपोखरी छ । तर, यहाँ रानीपोखरी छ भन्ने धेरैलाई थाहा छैन ।
नेविसंघले कांग्रेसमा विवाद बढेकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार नेविसंघमा तदर्थ समिति बनाउने–नबनाउने विवाद चर्किंदा कांग्रेस केन्द्रीय समिति बैठक स्थगित हुन पुगेको छ । विद्यार्थी संगठनको कार्यसमितिलाई अधिवेशनसम्म लैजाने कि तदर्थ समिति बनाउने भन्नेमा नेताहरुबीच मतभेद छ ।
कान्तिपुरले वीरगञ्ज महानगरपालिका १८ की दलित महिलाको सामूहिक बलात्कार गरेको समूहले भिडियो बनाएर बार्गेनिङ गरेकोलाई एंकर बनाएको छ ।
अन्नपूर्णमा राष्ट्रपतिका लागि विलासी गाडी खरिद गर्न १८ करोड निकासा भएकोसम्बन्धी खबर छ ।
अन्नपूर्ण लेख्छ– सरकारले सेनामार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलासी गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रुपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित ८ गाडी किन्ने तयारी छ ।’
०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको थियो । राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो । सरकारले त्यतिबेला गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो ।
अन्नपूर्ण अगाडि लेख्छ– सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै ४ करोडले नपुग्ने बताएको थियो । उसले १६ करोड मागेको थियो । सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो ।
गाडी खरिदका लागि १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा रहेको समाचारमा उल्लेख छ ।
अन्नपूर्णमै अनुदानको नुनमा कालोबजारी भएकोदेखि कांग्रेस बैठक बस्न नसकेकोसम्मका खबर छन् ।
सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र यसले पारेका असर केलाएको नयाँ पत्रिकाले पहिलो पृष्ठमै चिसो छल्न मुस्ताङका विद्यालय पोखरा झरेको छापेको छ ।
नागरिकमा नेपालले म्यानमारको मानव अधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघको प्रस्तावमा मतदान बहिष्कार गरेको समाचार छ भने नेपाल समाचारपत्रले विप्लवको जनअदालतमा १ हजार मुद्दा दर्ता भएको लेखेको छ ।
नेपाल समाचारपत्रमै पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतीले एकल जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएको समाचार पनि छ । व्यापारको सिलसिलामा काठमाडौं गएको बेला ०७२ को भूकम्पले छोरा अच्युतको मृत्यु भएपछि एक्लो बनेकी जेठी बुहारी मालती शर्मालाई सुवेदीले छोरीकै रुपमा अन्माएर पठाएकी हुन् ।
राजधानीले सतर्कताको प्रतिवेदनलाई आधार बनाउँदै वीरमा ५ सय कर्मचारी चोरबाटोबाट नियुक्त भएको लेखेको छ । गोरखापत्रले हट एयर बेलुनले पर्यटकीय आकर्षण बढाउँदै लगेकोलाई एंकर बनाएको छ ।
आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले निष्प्रभावी देखिएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबारे चिरफार गरेको छ भने हिमालले खस्कँदो प्रहरी मनोबलमाथि आवरण रिपोर्ट लेखेको छ । हिमालमै नेपालमा लागेको आप्रवासीको लर्कोबारेको रिपोर्ट पनि छ ।