बाहुनडाँगी । मेचीनगर नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालन भइरहेको छ ।
साविकको बाहुनडाँगी–३ र ५ नम्बर वडालाई समायोजन गरी बनाइएको यस वडाको वडा कार्यालय सृजना बस्तीमा बनाइएको छ । स्थानीय व्यक्तिहरुले ५ कट्ठा जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गरेपछि नगरपालिकाले कार्यालय निर्माण गरेको थियो ।
स्थानीय भीमकुमारी पोखरेल सुवेदीले २ कट्ठा, मायादेवी फुयाँल, नेत्र फुयाँल र सुमित्रा भुजेलले १ कट्ठाका दरले वडा कार्यालयलाई जग्गा प्रदान गरेका थिए । सोही जग्गामा २१ लाख ९१ हजार रुपैयाँको लागतमा ४ कोठे भवन निर्माण गरिएको वडा अध्यक्ष हर्कबहादुर बस्नेतले बताए । जसमा नगरपालिकाबाट २० लाख ९० हजार, काठ विक्रिबाट ८८ हजार र वडा कार्यालयको बजेटबाट १३ हजार खर्च भएको अध्यक्ष बस्नेतले बताए ।
यस अघि वडा कार्यालय बडा गाउँमा एक घरमा भाडामा सञ्चालन हुँदै आएको थियो । असोज २४ गतेबाट आफ्नो कार्यालयमा सरेको थियो ।
साविकको मेचीनगरको सिमाना दोकानडाँडाको तल्लोभागदेखि इलामको जिर्मलेसम्म यसको सिमाना रहेको छ । भौगोलिक रुपमा समेत मेचीनगरकै सबै भन्दा असजिलो वडाका रुपमा यसलाई लिइन्छ । यस वडाभित्र निन्दा, तेलपानी जस्ता खोलाहरु रहेका छन् । जहाँ विकास निर्माणका कामहरु गर्न समेत निकै कठिन पर्ने गरेको छ । भौगोलिक विकटताका कारण अझै यस वडाले गति लिन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।