• रमेशजंग रायामाझी, राष्ट्रिय सभा सांसद, नेपाली कांग्रेस


    ० नेपाली कांग्रेसले जसरी प्रभावकारी रूपमा प्रतिपक्षीय भूमिका निभाउनुपथ्र्यो, त्यतिसकेन भनिँदै छ, त्यस्तो लाग्छ कि लाग्दैन ?
    – कसैलाई त्यस्तो लाग्न सक्छ । वास्तवमा त्यो सत्य होइन । हिजो सदनमा हाम्रो पार्टीका नेताहरू हुनुहुन्थ्यो । आफू संसद्मा हँुदा धेरै कुरा उठाएको जस्तो उहाँहरूलाई लागेको हुन सक्छ । तर आज पनि हामीले पर्याप्त रूपमा संसद्मा प्रतिपक्षको आवाज उठाएका छौ । संसद्मा हाम्रो जति उपस्थिति छ, त्यो हिसाबबाट हामीले प्रभावकारी आवाज उठाएका छौं ।

    ० राष्ट्रिय सभामा पनि  ?
    – राष्ट्रिय सभामा पनि हामीले पर्याप्त आवाज उठाएका छौं । जिम्मेवार प्रतिपक्षको भूमिका निभाएका छौं ।

    ० तर राष्ट्रिय सभामा नेपाली कांग्रेसको प्रतिनिधित्व त निकै कम छ नि ?
    – राष्ट्रिय सभामा ५९ मध्ये हामी १३ जना छौं । १३ जना भए पनि हामीले मुद्दाको सवालमा प्रतिनिधिसभाको भन्दा बढी उठाएका छौं । कम संख्या भएकाले मुद्दामा धेरै लामो समय बोल्ने समय पनि पाएका हुन्छौं । राष्ट्रिय सभामा देश र जनताप्रतिको जिम्मेवारी र पार्टीप्रतिको जिम्मेवारी सशक्त रूपमा भूमिका निर्वाह गरेको हामीले महसुस गरेका छौं ।

    ० संसद्का समितिहरूमा कस्ता विषय उठ्छन ?
    – हेर्नुहोस्, झन्डै झन्डै संसद्को कामकारबाही स्थगित हुने बेला समितिहरू बनेका हुन् । यही बेला चाडपर्व आए । यो बेला सबै मान्छेहरू घरघर गए । तर तिहार, छठ पर्वपछि समितिहरूले प्रभावकारी भूमिका निभाउँछन् ।

    ० तपाई दिगो विकास तथा सुशासन समितिमा पनि हुनुहन्छ । यो समितिको काम के हुँदोरहेछ ?
    – यो समितिको सभापति नेपाली कांग्रेसकै तारादेवी भट्ट हुनुहुन्छ । छठ पर्वपछि हामीले अरु सक्रियता  देखाउँछौ । अहिले पनि हामीले चार पाँचवटा  बैठकहरू बोलायौं । अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, गृहमन्त्रीलाई बोलायौं । हामीसँग सम्बन्धित भएकाले तपाईहरूले सुशासनको विषयमा के गर्दै हुनुहुन्छ भनी उहाँहरूलाई सोध्यौं । दिगो विकासको सवालमा योजना आयोग र अर्थमन्त्रीलाई बोलायौं र तपाईंहरूको कार्यक्रमहरू के के छन् भनी प्रश्न ग¥यौं । सुशासनका कस्ता कार्यक्रम बनाउनुभएको छलगायतका कुराहरू हामीले उहाँलाई सोधेका थियौ । उहाँहरूले हामीलाई फेरि पनि बोलाउनुहोस्, डिटेल डाटा ल्याउँछौ भन्नुभएको छ ।

    ० कस्ता कस्ता विषय उठाउने विषयमा पार्टीका नेताहरूसँग तपाईंहरूको छलफल हुन्छ कि हँुदैन ?
    – पार्टी अहिले आफ्नै जञ्जालमा फसिरहेको मैले देखेको छु । पार्टीका बैठकहरू पनि नियमित रूपमा बसेका छैनन् । बैठक बसेको बेला पनि केही नेताहरूले विरोध मात्र गर्नुहुन्छ । पार्टीलाई जसरी लैजानुपथ्र्यो, त्यसमा सबै नेताहरूको जिम्मेवारी हुनुपर्छ । तर अहिले कुनै एउटा नेतालाई मात्र आरोप प्रत्यारोप गरेर चोखिने काम भएको छ । त्यसैले पार्टीमा जसरी यस्ता विषयमा छलफल हुनुपथ्र्यो, त्यसअनुसार छलफल भएको छैन ।

    ० तर छलफल हुनुपथ्र्यो भन्ने तपाईको भनाइ हो ?
    – हो, छलफल हुनुपथ्र्यो, पार्टी नै हाम्रो अभिभावक हो । हाम्रो गाइडलाइन पनि हो । पार्टीसँग छलफल हुनुुपथ्र्यो भन्ने मेरो भनाइ हो ।

    ० छलफल नहुनुमा नेतृत्वको कमजोरी हो ?
    – कुनै एउटा नेतालाई मात्र दोष दिनुभन्दा हाम्रो पार्टीमा सामूहिक नेतृत्व छ । यसमा सामूहिक नेतृत्वको कमजोरी हो । टिकट बाँड्दा सबै नेताहरू मिलेर टिकट बाँड्नु भएको हो । त्यसैले एउटा नेता विशेषलाई मात्र दोष दिएर आफू चोखो हुने प्रवृत्ति गलत हो ।

    ० यो सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन भन्ने सत्ता पक्षका नेता झलनाथ खनालले भन्नुभयो । यस्तो हुँदाहँुदै पनि कांग्रेस किन चुप लागेर बसेको छ ?
    – हेर्नुहोस्, कांग्रेसले निर्वाचनमा हारेपछि पार्टीका केही नेताहरूलाई मैले नेतृत्व लिएको भए पार्टीलाई कहाँ पु¥याउँथे भन्ने लाग्न सक्छ । तर त्यो व्यावहारिक कुरा होइन । प्रतिपक्षीको भूमिकामा कांग्रेस छ । यो सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको सबै नागरिकलाई थाहा छ । उनीहरूले जनतालाई ढाँटेर, झुक्याएर राजनीति गरेका छन् । हिजो हामीले सरकार छाड्ने बेला झन्डै झन्डै तीन खर्ब रुपैयाँ छाडेर गएका थियौं । तर अर्थमन्त्रीले ढुकुटी रित्याए भनेर भन्नुभयो । उहाँले जसरी भ्रम फैलाउन खोज्नुभएको थियो, त्यसको पनि परिणाम हो यो ।
    बजारमा व्यापार, व्यवसाय गरेका कसैलाई पनि विश्वास छैन, यो सरकारले हाम्रो व्यवसायको सुरक्षा गर्छ, यसले जनताको सुरक्षा गर्छ भन्ने कसैलाई लागेको छैन । सरकारले काम गर्दा दीर्घकालीन योजना बनाएर गर्छ भन्ने कसैलाई विश्वास छैन । त्यसैले आज बजारको अवस्था निकै तरल अवस्थामा छ । लगानी गर्ने मान्छेहरूको उपस्थिति छैन । यो सरकार जनतालाई राहत दिनेभन्दा पनि आहत दिने काममा लागेको छ ।

    ० भनेपछि सरकार असफल भएको तपाईंको निष्कर्ष हो ?
    – हेर्नुहोस्, जनतालाई राहत दिनुपर्ने, शान्ति सुरक्षा दिनुपर्ने सरकारको काम हो । महंगी नियन्त्रण गर्ने काम पनि सरकारको हो, तर सरकारले यी कुनै काम गरेन । त्यसैले सरकार पूर्णरूपमा असफल भएको ठान्नुपर्छ ।

    ० अब कांग्रेसको भूमिका कस्तो हुनुपर्छ त ?
    – कांग्रेसले आफ्नो भूमिका खेल्दै छ । महासमितिको बैठकपछि कांग्रेसले आफ्नो भूमिकालाई अझै सशक्त बनाउँछ ।

    ० मंसिरमा महासमिति बैठक बस्छ त ?
    – महासमिति बैठक बस्छ । यसमा कसैले आशंका नगरे हुन्छ ।

    ० तर पटक पटक सर्ने गरेको छ नि ?
    –  दशंै, तिहार जस्तै ठ्याम्मै यही दिनु गर्नुपर्छ भन्ने होइन । दशैं यो दिन, तिहार हुने भन्ने त होइन नि । यसका पनि विधि र प्रक्रियाहरू पनि छन् । व्यवस्थापनको काम गर्दै जाँदा तयारी अपुग हुन सक्छ । अहिले विधान मस्यौदा समितिले विधानको मस्यौदा बनाइरहेको छ । महासमितिमा लैजाने भनेको विधान नै हो । विधानको मस्यौदालाई मूर्त रूप दिन ढिलो भएकाले बैठक केही सरेको हो । महासमितिको बैठक गर्न पार्टी नेतृत्व र पार्टीका नेताहरू लागिरहनुभएको छ । त्यसैले अब धेरै मिति सर्छ जस्तो लाग्दैन । सरे पनि एक हप्ता दस दिन सर्छ होला, त्यो भन्दा बढी सर्दैन ।

    ० दस दिन सर्ने सम्भावना देखियो, होइन ?
    – मैले भने नि । पार्टीमा जुन हिसाबमा काम भएको छ, त्यो हेर्दा मंसिरभन्दा उता जान्छ जस्तो लाग्दैन । हिजो (बुधबार) पनि राजनीतिक प्रस्तावको विषयमा छलफल भएको थियो । आज (बिहीबार) आर्थिक प्रस्तावको विषयमा छलफल गरेका छौं । त्यसकारण मंसिरभन्दा उता जान्छ जस्तो मलाई लाग्दैन ।

    ० तयारी नपुगेर ढिलो भएको हो त ?
    – कतिपय कुरामा तयारी नपुगेको हो । मस्यौदा समितिले जिल्ला जिल्लामा गई कार्यक्रम ग¥यो । यसैगरी, आर्थिक समितिले पनि सबैको सुझाव संकलन गरी त्यसलाई समेटेर फेरि फाइलिङ गर्ने काम ग¥यो । त्यसैले महासमिति बैठक गर्न केही समय लागेको हो ।

    ० प्रतिपक्षमा भएको बेला कांग्रेस एक हुनुपर्ने, झनै आन्तरिक विवाद र गुट उपगुटमा रुमल्लिएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
    – केही मान्छेहरूलाई त्यस्तो लाग्न सक्छ । हिजोका जागिरेहरू आज पार्टीमा आएका छन् । उनीहरूले नेतृत्व लिन खोजेका छन् । हिजोका व्यापारीहरू आएका छन् । पार्टीमा उनीहरूको लगानी केही छैन, तर उनीहरूलाई तुरुन्त प्रतिफल चाहिएको छ । पार्टीमा जसले लगानी गरेका छैनन्, दुःख गरेका छैनन्, जेल गएका छैनन्, आज एकैपटक परिवारको विरासत थाम्न खोजेका छन् । त्यस्तो पनि हुन्छ र ? जातले थरले हुने भए शाह, राणालाई नेता बनाइदिए भइगयो नि । जातले हुने भए पारसलाई राजा बनाए भयो नि । पारस हिजो युवराज घोषणा गरिएकै मान्छे हुन् । त्यस्ता प्रवृत्तिका मान्छेहरू लाई तुरुन्तै प्रतिफल चाहिएको छ ।

    ० भनेपछि पार्टी हाँक्न शेरबहादुर देउवा सफल नै छन् ?
    – शेरबहादुर देउवाले पार्टी एक्लै चलाउनु भएको होइन । पार्टी सामूहिक नेतृत्वमा चलेको छ । हिजो चुनाव हारेका रामचन्द्र पौडेलको भूमिका पनि त्यतिकै छ । चुनाव हारेपछि  रामचन्द्र पौडेल केन्द्रीय सदस्य मात्र भएर बस्नुपथ्र्यो नि । तर हामीले उहाँलाई वरिष्ठ नेताको उपाधि किन दियौ ? तपाईहरू दुईवटैको सामूहिक दायित्व छ, सामूहिक नेतृत्वमा हुनुहुन्छ भनेर वरिष्ठ नेताको उपाधि दिएका हौ । पार्टीमा महामन्त्री हुनुहुन्छ । उपसभापति हुनुहुन्छ । त्यसैले शेरबहादुर देउवा असफल हुनुभयो भने सबै असफल हुनुहुन्छ ।  देउवा सफल हुनुभयो भने सबै सफल हुनुभयो ।  अर्थात् नेपाली कांगे्रस सफल भयो भन्ने सन्देश जान्छ । त्यसैले उहाँहरु कांगे्रसलाई सफल बनाउन लाग्नुपर्छ ।

    ० तर पनि उहाँलाई असफल बनाउने प्रयास भइरहेको छ, होइन ?
    – प्रयास त गर्छन् नै । नेतृत्वमा जान खोज्ने, लोभी लालचीहरूले त्यो प्रयास गर्छन् नै । त्यस्तो रणनीति छ । देउवालाई असफल देखाउन स्वदेशी विदेशी सबै लागेका छन् ।

    ० महासमितिले विधान संशोधन गर्दै छ । नयाँ विधान कस्तो हुनुपर्छ ?
    – विधानसम्मत तरवरले पार्टी चलाउनुपर्छ । विगतमा सहमतिमा पार्टी चलाउन खोज्दा यो कुरा आएको हो । नेतृत्व जसले लिन्छ, त्यसले विधानलाई टेकेर पार्टी चलाउनुपर्छ । विधानअनुरूप पार्टी चलाउँदा संगठन बलियो हुन्छ ।

    ० नयाँ विधानमा पार्टी सभापतिलाई अझ बलियो बनाउनुपर्छ भन्ने कुरा आएको छ नि ?
    – पार्टी सभापतिलाई जहिले पनि बलियो बनाउनुपर्छ । हिजो किशुनजीले भन्नुहुन्थ्यो । गिरिजबाबुले पनि सभापतिलाई बलियो बनाउनुपर्छ भन्नुुहुन्थ्यो । पार्टी सभापतिले सबै कुरामा जिम्मेवारी लिनुपर्ने, तर पार्टी सभापति नै कमजोर भयो भने पार्टी कसरी चल्छ ? केन्द्रीय समिति, कोषाध्यक्ष, महमन्त्रीले पार्टी सभापतिलाई घुमाउन थाले भने पार्टी कसरी चल्छ ? त्यसकारण पार्टी सभापति बलियो हुनुपर्छ । अहिले पनि पार्टी सभापति बलियो नै हुनुहुन्छ । विधानमा पार्टी सभापतिलाई बलियो नै बनाइएको छ ।

    ० क्रियाशील सदस्यताको प्रावधान खारेज गरिएको हो ?
    – हाम्रो विधानमा साधारण सदस्यता र क्रियाशील सदस्यता भनेर तोकिएको छ । साधारण सदस्य वितरण गर्न एक खालको मापदण्ड र क्रियाशील सदस्य वितरणमा आफ्नै मापदण्ड बनाउनुपर्छ । विगतमा क्रियाशील सदस्यता जसरी बाँडिएको थियो, अब त्यसरी बाँड्नु हुँदैन । पार्टीको नियमित कार्यक्रममा सहभागी भएको, नियमित कार्यक्रममा भाग लिएको, लगभग ७० प्रतिशत पार्टीका कार्यक्रमा सहभागी भएकाहरूलाई क्रियाशील सदस्यता दिनुपर्छ । पुराना बुढाहरूलाई सम्मान गर्न उनीहरूलाई सम्मानित सदस्यताको रूपमा राख्न सकिन्छ । पार्टीले गरेका कार्यक्रममध्ये कम्तीमा ७० प्रतिशत कार्यक्रमा सहभागी हुनेलाई मात्र क्रियाशील सदस्य बनाउनुपर्छ भन्ने धारणा पनि आएको छ ।

    ० कार्यकारी पदमा आउन उमेरको हदबन्दी लगाउनुपर्छ कि पर्दैन ?
    – राजनीतिमा उमेरको हदबन्दी हुँदैन । उमेरको हदबन्दी भएको भए त जागिर खाइन्थ्यो होला । राजनीतिमा उमेरले होइन, उसको सक्रियतामा भर पर्छ ।

    ० पदाधिकारीको संख्या थप्नुपर्छ ?
    – नेताको अनुहार हेरेर यो नेतालाई लैजान पदाधिकारी थप्नुपर्छ भन्ने कुरा होइन । काम गर्ने सिलसिलामा धेरै नेताहरूलाई जिम्मेवारी दिँदा काम गर्न सजिलो हुन्छ । अहिले नेपाल कम्युनिस्ट पार्टी ठूलो पार्टीको रूपमा आएको छ । दुईवटा पार्टी एक भएको स्थिति छ । यस्तो बेला कांग्रेसमा केही नेताहरूको जिम्मेवारी अरु थपियो भने संगठन विस्तार गर्न पार्टीलाई मद्दत पुग्छ ।

    ० नेविसंघको महाधिवेशन मंसिरमा नहुने, तरुण दलको कार्यसमिति अपूर्ण भएको अवस्था हेर्दा पार्टी सभापतिको असफलता होइन र ?
    – यसलाई त्यसरी हेर्नु हुँदैन । शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएपछि उहाँले धेरैवटा भ्रातृसंगठनहरूको चुनाव गराउनुभयो । अधिवेशन गराउन जसलाई जिम्मेवारी दिइएको थियो, त्यो जिम्मेवारी पूरा नगरेका कारण ज–जसले जुन जुन भ्रातृसंगठनहरूको जिम्मेवारी लिनुभएको थियो, यसमा उहाँहरू नै जिम्मेवारी हुनुहुन्छ । जसले अवधि पुगेर पनि अधिवेशन गर्दैनन्, त्यसलाई विघटन गर्नुपर्छ र दुई तीन महिनाभित्र अधिवेशन गराउन पूर्वनेताहरूलाई जिम्मा दिनुपर्छ ।  जहाँसम्म तरुण दलको कुरा छ, त्यो भागवण्डा मागिएकाले रोकिएको हो । सभापतिको इच्छाशक्तिले नभएको होइन ।

    ० भनेपछि नेविसंघको अहिलेको नेतृत्वलाई विघटन गर्नुपर्छ ?
    – विघटन गर्नुपर्छ । अढाई वर्षसम्म काम नगर्ने नेविसंघको अहिलेको नेतृत्वलाई जिम्मेवारी दिँदा संगठन कसरी अघि बढ्छ ? अढाई वर्षसम्म एउटा क्याम्पसमा अधिवेशन नगर्ने, एउटा पनि आन्दोलनको नेतृत्व नगर्ने, अनि फेरि त्यही नेतृत्वलाई अधिवेशन गराउने जिम्मा दिनु हुँदैन, तुरुन्तै विघटन गर्नुपर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…