• काठमाडौं, मंसिर ४  । भारतको विभिन्न सहरमा सीजी ग्रुपद्वारा उत्पादित वाइवाइ चाउचाउ गुणस्तरहीन भएको ठहर गर्दै बिक्रीमा लगाएको प्रतिबन्ध यथावत् रहेको पाइएको छ ।

    गत २०७२ जेठ २२ गते भारतको तमिलनाडू राज्यमा वाइवाइ चाउचाउको बिक्रीमाथि प्रतिबन्ध लगाइएको विज्ञप्ति नै जारी गरी सर्वसाधारणलाई समेत सचेत गरिएको थियो ।

    तमिलनाडू राज्य सरकारले भारतको नेस्ले ब्राण्डको म्यागीसँगै सीजी ग्रुपको वाइवाइ नुडल्स, रिलाइन्स सेलेक्ट नुडल्स र स्मिथ एन्ड जोन्स चिकेन मसला नुडल्समाथि प्रतिबन्ध लगाएको थियो । तमिलनाडूको तत्कालीन मुख्यमन्त्रीको निर्देशनमा खाद्य सुरक्षा कमिसनरले यी ब्राण्डका चाउचाउको उत्पादन, भण्डारण र बिक्रीमा तीन महिनाका लागि प्रतिबन्ध गरेको जनाएको भए पनि हालसम्म सो प्रतिबन्ध फुकुवा भएको पत्र तामिलनाडु राज्य सरकारले सीजी ग्रुपलाई दिएको छैन ।

    उक्त राज्य सरकारबाट प्राप्त कागजपत्रअनुसार तीन महिनाभित्र पूर्णरुपमा गुणस्तरमा सुधार र आम उपभोक्ताको स्वास्थ्यमाथि असर नपुग्ने प्रमाणित हुने गरी सुधार भएर आउन भन्दै सो समयसीमा दिएको तर सोबारे अहिलेसम्म ग्रुपले कुनै गुणस्तरको प्रमाणपत्रहरु नबुझाएका कारण सो प्रतिबन्ध यथावत् रहेको तामिलनाडु सरकारले जनाएको हो । भारतको तामिलनाडुको स्थानीय सरकारले तीनवटै चाउचाउमा आवश्यकताभन्दा बढी अजिनो मोटो र लिड (सिसा) भेटेपछि बिक्रीवितरणमा रोक लगाएको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

     

    सो ग्रुपले नेपालसहित वाइवाइको भारतमा पनि उत्पादन कारखाना रहेको छ । यसैगरी, उता सिक्किम सरकारले पनि आमउपभोक्तालाई चाउचाउ नखान आग्रह गर्दै बिक्रीमा निषेधपत्र जारी गरेको थियो । सो स्थानमा पनि वाइवाइ, मामा र मिमी चाउचाउको जाँचका लागि क्षेत्रीय प्रयोगशाला गुहावटीबाट अत्यधिक मात्रामा अस्वस्थकर पदार्थ प्रयोग गरेको भन्दै रोक लगाएको थियो । सो जाँचपछि चारवटा कम्पनीका ब्राण्डमा तोकिएकोभन्दा बढी मात्रामा सिसा (लिड) पाइएको जनाएको छ ।

    तामिलनाडु सरकारले फुड सेप्टी एण्ड स्ट्राइडर एक्ट २००६, सेन्ट्रल एक्ट ३४–२००६ अनुसार सो चाउचाउको बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । जनताको स्थास्थ्यमा प्रत्यक्ष असर पुग्ने देखिएको भन्दै रोक लगाएको उक्त राज्य सरकारले जनाएको छ । यता भने सीजी ग्रुपले भने भारतको कुनै पनि सहरमा चाउचाउमा प्रतिबन्ध नलगाएको दाबी गर्दै आएको छ । सीजी ग्रुपले भने भारतीय बजारमा वाइवाइ चाउचाउको बजारमा २७ र विश्वमा ३ प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै आएको छ ।

    यसरी एकतर्फ सो चाउचाउको बिक्रीमा गरेको प्रतिबन्धमाथि कुनै सुनुवाइ समेत भारतीय सरकारले नगरेको अवस्थामा भने नेपालमा गुणस्तरीय भएको झुटको खेती सो कम्पनीबाट हुँदै आएको छ । सो बारेमा पटक–पटक सम्पर्क प्रयास गर्दा पनि ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसद् विनोद चौधरी सम्पर्कमा आउन चाहेनन् ।

    सोही बारे सो ग्रुपका महाप्रबन्धक मधुसूदन पौडेललाई फोन गर्दा उनले पनि फोन ‘रिसिभ’ गरेनन् । पौडेलको मोबाइल नम्बरमा सो बारे म्यासेज पठाएको दुई दिनपछि २० शब्दको एक वाक्यवाला प्रतिक्रिया पठाउँदै भने, ‘नो, दिस इज टोटल्ली रंग ।’

    उनले सो म्यासेज पठाएपछि कुनै थप भनाइ राख्न चाहेनन् । एक दर्जन स्वादमा सात ब्राण्डका चाउचाउ उत्पादन तथा बिक्री गरिररेको भन्दै विज्ञापन बजाएर सीजी ग्रुपले अखाद्य वस्तुको प्रयोग गरी उत्पादन गर्दैै आएको सीजी ग्रुपकै एक कर्मचारीले बताए । ती कर्मचारीले नाम नलेख्ने शर्तमा भने, ‘हामीले उत्पादन गरेका केही चाउचाउ अन्यभन्दा फरक देखाउन र उपभोक्तालाई नयाँ देखाउनकै लागि प्याकेट परिवर्तन गरी पुराना चाउचाउ बजार पठाउने गरेका छौं, जसमा छुट्टै स्वादको प्रचार गरेर नयाँ रणनीति अपनाएको हो, चाउचाउमा विभिन्न प्रकारका गन्धको रसायन प्रयोग गर्ने गरेका छौ ।’

    ती कर्मचारीले अगाडि भने, ‘बजारमा अहिलेसम्म शाकाहारी (भेजिटेबल) मा कुनै पनि चाउचाउ उत्पादन नभएको तर ‘भेजिटेबल फ्लेवर’ को प्रयोग गरी चाउचाउ बजार पठाएका छौँ, नेपालमा कुनै पनि कम्पनीले उत्पादन गरेका छैनन् ।’  (आर्थिक दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…