• काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल फरक ध्रुवमा छन् । उनीहरुको साझा चिन्ता पनि थिएन । तर, गत साताबाट देउवा र पौडेललाई साझा चिन्ताले सताइरहेको छ । उनीहरुको चिन्ता हो— कोइराला परिवारका तीन जना नेता औपचारिक रुपमै एक ठाउँ उभिए ।

    विराटनगरमा जीपी कोइराला फाउण्डेसनको कार्यक्रममा उनीहरु तीनजना एक ठाउँ उभिएका हुन् । हामी एकै ठाउँ छौं भन्ने सन्देश दिन डा.शशांक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइरालाले कुनै कसर बाँकी राखेनन् । यी तीन नेता एक ठाउँ उभिएपछि पार्टी सभापति शेरबहादुर देउवा चिन्तित बनेका छन् । यसको प्रत्यक्ष लक्षण मंगलबार विराटनगरमै देखियो ।

    सभापति देउवा विराटनगर पुगे । एक नम्बर प्रदेशका कार्यकर्ताहरुको विधानमा सुझाव लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देउवालाई निम्ता त थियो तर उनले आउँदिन भनेका थिए । विराटनगरमै कोइराला परिवारका तीन सदस्यले एउटै माला लगाएर एक ठाउँ भएको सन्देश दिएपछि देउवाले विराटनगर जाने निधो गरेका हुन् । त्यसअघिसम्म देउवाले विराटनगर जाँदिन भनेका थिए ।

    ‘विराटनगरमा कोइराला परिवारले कार्यक्रम गरेर एकताको सन्देश नदिएका थिए भने देउवा शायद जाँदैनथे’— कांग्रेसका एक नेताले भने ।

    देउवा र रामचन्द्रको भित्री मिलाप

    कोइराला परिवारका प्रभावशाली तीनजना नेता मिल्नु अघि नै सभापति देउवा र रामचन्द्र पौडेल निकट भएको समाचार प्रवाह भइसकेको थियो । पार्टीभित्रका प्रतिपक्षी नेता भनेर कहलिएका रामचन्द्रले सभापति देउवाको औपचारिक विरोध मात्र गर्न थालेका थिए । उनले जमेर सार्वजनिक रुपमा देउवाको आलोचना गर्न बन्द गरिसकेका छन् । यद्यपि पार्टीभित्र चाहिँ फरक मत राखिरहेका छन् ।

    ‘पार्टीभित्रको ‘प्रतिपक्षी नेता’ पद जोगाउन मात्र पौडेलले देउवाको विरोध गरेजस्तो गरिरहेछन्, खासमा उनी देउवासँग मिलिसकेका छन्,’ कांग्रेसका प्रभावशाली युवा नेताहरुको धारणा यस्तो छ । नेविसंघ केन्द्रीय समितिको म्याद थप्ने विषयमा पनि रामचन्द्रले ढुलमुले नीति लिएको उनीहरुको बुझाई छ । कृष्णप्रसाद सिटौला समूहको चेपुवामा नपरेको भए रामचन्द्रले नेविसंघ म्याद थपमा कुनै अडान नलिने कतिपयको भनाई छ ।

    कोइराला परिवारका मुख्य तीन नेता एक ठाउँ आउनु भनेको कांग्रेसको ठूलो पंक्ति त्यतै एकत्रित हुनु हो भन्ने बुझाई कांग्रेसभित्र छ । परिवारका तीन सदस्य एक ठाउँ आउँछन् र आफू पाखा परिन्छ भन्ने बुझाईले नै देउवा र पौडेललाई आपसमा निकट ल्याएको बताइन्छ । तर, देउवा र पौडेललाई एक ठाउँ आउन नदिन भूमिका खेलिरहेका छन् कृष्ण सिटौलाले । कोइराला परिवारको एउटा ध्रुव बन्ने, भविष्यमा देउवा र पौडेलको अर्काे ध्रुव बन्ने भयो भने आफ्नो समूह सिनिक्कै सिद्धिन्छ भन्ने सिटौला समूहको बुझाई छ । त्यसैले सिटौलाले रामचन्द्रलाई देउवासँग नमिल्न दवाब दिइरहेको बताइन्छ ।

    अब कसको विलाप ?

    कोइराला परिवारका मुख्य तीन हस्ती एक ठाउँ आएपछि सबैभन्दा संकट रामचन्द्रलाई पर्ने देखिएको छ । आउँदो महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्न इच्छुक रामचन्द्रले आफूलाई कोइराला परिवारबाटै असुरक्षित ठाने । शशांक र शेखरको बढ्दो हैसियत र प्रभाव, उनीहरुलाई सभापति बन्न कार्यकर्ता पंक्तिबाट आइरहेको दवाब आदि कारणले रामचन्द्र चिन्तित बन्नु स्वाभाविक हो ।

    ‘शशांक र शेखरमध्ये एकजना सभापतिमा उठ्ने ठोकुवा गर्न सकिन्छ,’ कांग्रेसका नेताहरुको भनाई छ । उनीहरुका अनुसार कोइराला परिवारबाट कोही उम्मेदवार बनेको अवस्थामा रामचन्द्र उम्मेदवार बन्ने सम्भावना रहँदैन । तर, त्यतिबेला सम्भावना रहन्छ जतिबेला देउवा उम्मेदवार बन्दैनन् । देउवा निकट कतिपयको भनाई अनुसार कोइराला परिवारबाटै उम्मेदवार आएको अवस्थामा देउवाले हार्ने चुनाव लड्ने छैनन्, उनले रामचन्द्रलाई अगाडि बढाउन सक्छन् ।

    भेलै भेला

    कांग्रेसमा भेला गरेर राजनीति गर्ने लहर चलिरहेको छ । भेलाको पछिल्लो श्रृङ्खला पछिल्लो पटक सुजाता कोइरालाको निवासबाट सुरु भयो । उनको निवासमा रामचन्द्र पौडेल सहितका नेताहरुको भेला भयो । त्यो भेलाबारे कांग्रेसका एक बोलक्कड नेताको टिप्पणी निक्कै रोचक छ । उनको भनाई छ- सुजाता निवासको भेलामा रामचन्द्र गए, किनभने उनलाई कोइरालाहरु आफ्नो साथमा छन् भन्ने देखाउनु थियो । कोइरालाहरुले पनि बोलाए । किनभने उनीहरुलाई पनि हाम्रो पछाडि रामचन्द्र लागिरहेका छन् भन्ने देखाउनु थियो । घिउ बेचुवा र तरवार बेचुवाको जस्तो सम्बन्ध छ अहिले कोइराला परिवार र रामचन्द्रको ।

    विधान संशोधनका लागि कांग्रेसले सातवटै प्रदेशमा भेला गरिरहेको छ । त्यसबाहेक मंसिर १२ र १३ गते जिल्ला सभापतिहरुको भेला नगरकोटमा हुँदैछ । फेरि मिति सरेन भने मंसिर २८ मा महासमिति वैठक हुँदैछ । महासमितिमा गुटहरुको द्वन्द र विज्ञापन निक्कै चर्काे रुपमा हुने अपेक्षा गरिएको छ । यसका लागि युवा पुस्ताका नेताहरुले पनि राम्रै तयारी गरिरहेका छन् । चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले बेग्लै वैठक भेला गरिरहेका छन् । उता जेसिजका पूर्व अध्यक्ष तथा भरतपुर महानगरको मेयरमा टिकट खोसिएका नेता दिनेश कोइरालाले पनि संकल्प यात्रा नाममा भेला थालेका छन् । अन्य कतिपय नेताहरुले पनि वैठक भेला थालिसकेका छन् ।

    यस्ता सबै वैठक/भेलाहरुको उद्देश्य आउँदो महाधिवेशनका लागि तयारी नै हो भन्नेमा कुनै शंका छैन । सरलपत्रिकाबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…