काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले कार्यालय समयमा हुने बैठक भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेट कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् ।
'कार्यालय समयमा गरेको कामको तपाईले तलब लिनु भएको छ', प्रधानमन्त्री ओलीले भने, 'त्यसकारण भत्ता लिने सोचाइ हटाउनुहोस् । मितव्ययी भएर चल्न सिक्नुहोस् ।
उनले नीति, बैठक, छलफल, सुझावमा धेरै समय नबिताइ कामलाई प्राथमिकता दिन पनि निर्देशन दिए । प्रधानमन्त्री ओलीले भने, 'सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् ।