• अहिले दुई तिहाई मत भएको केपी शर्मा ओली नेतृत्वको सरकारले आम नागरिकलाई परिवर्तनको प्रत्याभूति दिन नसकेको भन्दै उनी नै अध्यक्ष रहेको प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै आलोचना हुन थालेको छ । नेताहरुले सरकारले जनमतको कदर गर्न नसकेको आरोप नेकपाका नेताहरुले सार्वजनिक रुपमा नै लगाउन सुरु गरेका छन् । सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको भन्दै विपक्षी दलका नेताहरु र नागरिक समाजले त आलोचना गर्ने नै भए । राम्रो काम गर्न नसकेको भन्दै पार्टीभित्रै आलोचना भएपछि ओली अफ्टेरोमा समेत परेका छन् । ओली सरकारले काम गर्न नसकेको भन्दै आलोचना गर्नेमा नेकपाका स्थायी समिति सदस्य अग्नी सापकोटा पनि हुन । पूर्व मन्त्री समेत रहेका सापकोटासंग हामीले ओली सरकारको काम र नेकपाको एकिकरण प्रक्रियाका सम्वन्धमा कुराकानी गरेका छौ । प्रस्तुत छ, सापकोटासँग गरेको कुराकानीको सारसंक्षेप :-

    केपी शर्मा ओली नेतृत्वमा दुई तिहाई मत सहित सरकार बनेको ९ महिना पुग्न लाग्यो, सरकारको काम गराई कस्तो पाउनु भएको छ ?

    वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न सकेको देखिएन । यो सरकार निरन्तरताको लागि मात्रै बनेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो । तर, उहाँको टिममा रहेका मन्त्रीहरुबीच टिम स्पिरिट देखिएन् । जसका कारण सरकारले आफ्नो योजना अनुरुप काम गर्न सकिरहेको छैन । सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्ने गरि काम गर्न नसकेको स्वीकार गर्नैपर्छ । अब जनताका चाहना अनुसार काम गर्नुपर्छ । काममा ब्रेक थु हुनुपर्छ ।

    वर्तमान सरकार ईतिहाँसकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने चाहना पार्टीको समेत थियो । तर, अहिलेसम्म त्यो देखिएन । यो सरकार विगतकै जस्तो निरन्तरताको लागि भयो । जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । जनताले चाहेजस्तो सरकारले ब्रेक थ्रु गर्न नसकेकै हो, अव सरकारले आफ्नो काम गराईको शैली सुधार्नु पर्छ ।

    सरकारले काम गर्न नसकेपनि पार्टीमा सरकारको समिक्षा भएको देखिएन नी ?

    पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा हुनुहुन्छ । पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओली अस्वस्थ भएकोले सचिवालय र स्थायी समिति बैठक बस्न सकेका छैनन् । अब बस्ने सचिवालय बैठकमा सरकारको बारेमा पनि समिक्षा गर्छ । लामो समयदेखि सरकारको समिक्षा गर्न बैठक बोलाउने तयारी भएपनि नेताहरुको समय नमिल्दा त्यो हुन सकेको र्छैन ।

    नौ महिनामा सरकारले राम्रा काम यो यो गर्यो भनेर भन्न लायक के के देख्नुहुन्छ ?

    सरकार रणनीतिक महत्वका काममा पूर्ण सफल भएको छ । निर्माण भएपछि सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाई प्रदान गर्न, द्धिपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्याण्ड-लक्डबाट ल्याण्ड-लिंकतर्फ मुलुकलाई अघि बढाउन सफल भएको छ । जुन कार्य रणनीतिक महत्वका कार्य थिए ।

    प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा गएर मुलुकको राष्ट्रिय स्वाधिनता र स्वभिमानको विषयमा शीर उठाउने काम गर्नु भएको छ, जसले विश्वमा सम्पूर्ण नेपालीलाई शीर ठाडो पारेर भन्न सक्ने अवस्था सृजना भएको छ । प्रधानमन्त्री ओलीसँग अहिलेपनि राष्ट्रवादी अडान कायमै छ भन्ने मेरो जबरजस्त धारणा छ । सरकारले समयमै मौलिक हकसम्बन्धी कानुन ल्याउन सकेको छ । जसले मुलुकमा संवैधानिक संकट टार्ने काम गरेको छ ।

    तर, हटाउछु भनेर घोषणा गरेको सिण्डिकेट त हटेन नि, होइन ?

    सरकारले कानुनी रुपमा सिण्डिकेट अन्त्य गरिसकेको छ । तर, मन्त्रालयहरुबीच समन्वय नहुँदा व्यवहारमा जनताले त्यसको अनुभुति गर्न नपाएको सत्य हो । मन्त्रीहरुबीच टिम-स्पिरिट देखिएको छैन । प्रधानमन्त्रीको स्पिरिट मन्त्रीहरुमा देखिएको भए अहिलेसम्म धेरै नया काम भइसक्थे । अब समिक्षा गर्ने बेला भएको छ । सिण्डिकेट अन्त्यको लागि काम भएको छ । तर, व्यवस्थापनमा केही समस्या देखिदा व्यवहारमा जनताले अनुभूत गर्न पाएका छैनन् ।

    जनताले सरकारसंग भाषण खोजेका कि परिवर्तको व्यवहारिक अनुभूति ?

    जनताले सरकारबाट भाषण खोजेका होइनन, ‘एक्शन’ नै खोजेका हुन । तर, एक्शन चने जसरी देखिएको छैन । जनतालाई सपना देखाउने काम पूरा भइसकेको छ । अब ‘एक्शन’ गरेर नै देखाउनु पर्ने हो । अब बस्ने स्थायी समिति बैठकमा सरकारको बिहंगम समिक्षा हुन्छ ।

    सरकारले रणनीतिक महत्वको काम सफलतापूर्वक सम्पन्न गरेपनि जनतालाई सेवा दिने काममा ढिलाई भएको म स्वीकार्छु । अब सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरुको ‘सेरिज’ बनाउनुपर्छ । र, त्यही सेरिज अनुसार काम गर्नुपर्छ ।

    भाषण मात्रै गर्ने काम नगर्ने गरेपछि त यो सरकारको पनि विकल्प खोज्न जनता बाध्य होलान नि ?

    वर्तमान सरकारको विकल्प अहिले नै जनतासंग छैन् । तत्काल खोज्ने प्रयत्न गर्न पनि हुदैन । मुलुकमा राजनीतिक संक्रमणकालको त समापन भएको छ । तर,  व्यवहारिक संक्रमण बाँकी नै छ । तसर्थ यस संक्रमणलाई सबै मिलेर हल गर्न लाग्नु पर्छ । यसको लागि मुख्य राजनीतिक दलहरु बीच बढि भन्दा बढि छलफल र सम्वादको आवस्कयकता पर्छ ।

    जनस्तरबाट उठेका सरकारको काम बारेका आलोचनालाई पनि वेवास्ता गरेपछि सरकारको विरुद्धमा जनता लाग्न सुरु गरिसके, यस विषयमा यहाँको भनाई के छ ?

    सरकारका कामकारबाहीका सवालमा जनताको तहबाट उठेका सकारात्मक आलोचनाहरुलाई सुझावका रुपमा लिनु पर्छ । र ति सुझावलाई कसरी व्यवहारमा कार्यान्वयन गर्ने भनेर सरकारले योजना बुन्न सक्नु पर्दछ । जनताका सकारात्मक आलोचना र गुनासाहरुलाई सरकारले एक÷एक रुपमा सम्बोधन गर्नुपर्छ ।

    यदि ति आलोचना र गुनास पुरा गर्न नसक्ने हो भने त जन निर्वाचित सरकार नै भएन नि । जनताले यही सरकारबाट ठूलो आशा गरेका छन् । उनीहरुको त्यो आशालाई निरासामा परिणात हुन दिनु हुदैन । अहिले जनतासंग कम्युनिष्ट सरकारको विकल्प छैन, त्यसैले उनीहरुलाई कसरी खुसी बनाउने भन्ने कार्य सरकारको हो ।

    जनताका सरकारसँग भएका ठूला आशा र अपेक्षा पुरा गर्नका लागि सरकारसँग अझै समय र शक्ति छ । वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले पुरा गर्नुहुन्छ भन्ने विश्वास हामीले गरौ ।

    पार्टी एकताको कामले पनि गति लिन सकेको देखिन्न नि ?

    पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ । औपचारिक रुपमा भन्दापनि एकताका कार्यहरु आन्तरिक रुपमा मिलाउने कार्य भइरहेका छन् । अहिलेसम्म लगभग ८० प्रतिशत पार्टी एकताको काम सकिएको छ । बाहिर सार्वजनिक हुन मात्रै बाँकी हो ।

    तपाईले त्यति भनेपनि विभिन्न स्थानमा दुई समिति बनेका पार्टी मिल्नु अघिका एमाले र माओवादी पार्टीका नाममा गतिविधि सञ्चालन भइरहेका समाचारहरु त आइरहेका छन् नि ?

    केहि स्थानमा त्यस्तो रहेको सूचना पार्टी केन्द्रिय कार्यालयमा पनि आएका छन् । हामीले पूर्ण रुपमा जिल्ला तहसम्म एकिकरण गरि नसकेकाले त्यस्तो हुनु स्वभाविक हो । किनकि पार्टी एकिकरण हुन अघिसम्म एमाले र माओवादी दुबैका वडास्तरसम्म समिति थिए ।

    ति समितिले एकिकरणको प्रक्रिया पुरा नहुँदासम्म आ आफ्नो तरिकाले काम गर्नुलाई स्वभाविक रुपमा लिनु पनि पर्छ । आम नागरिकका समस्यालाई समाधान गर्न उनीहरु क्रियाशील हुनु पनि पर्छ । एकिकरणको प्रक्रिया पूर्ण रुपमा पुरा भएपछि यस्ता समस्या आफै समाधान भएर जान्छन् ।

    अन्तमा पार्टीको सम्पूर्ण एकिकरणको प्रक्रिया कहिलेसम्म सम्पन्न हुन्छ ?
    समय नै तोकेर यो दिनमा भइसक्छ भन्न त सकिन्न । विभिन्न स्तरमा पार्टी एकिकरणका लागि बनाइएका कार्यदलहरुले काम गरिरहेका छन् । ति कार्यदलहरुले दिएको सुझावका आधारमा पार्टीले निर्णय गरेर एकिकरण हुने हो । त्यो कार्य धमाधम चलिरहेकाले दुई महिनासम्म सबै काम पुरा भइसक्छ कि भन्ने अनुमान हाम्रो छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…