साहित्यमा भिन्न छवि बनाइसकेका युवा हुन, प्रकाश आङदेम्बे । गजल, नाटक, रुवायतजस्ता विधामा आधा दर्जन साहित्यिक कृति दिइसकेका प्रकाश फिल्म निर्देशन पनि गर्छन् । उनीसँग रातोकलम डटकमले उनको जिवन भोगाईबारे गरिएको कुराकानी जस्ताको तस्तै -
तपाई कहाँ जन्मीनुुभयो ?
सरणामती–८, झाँगाटोली झापा । अहिले कुन गाउँपालिका भा‘को छ थाहा छैन ।
कस्तो परिवारमा ?
अति विपन्न तर हार नमान्ने परिवारमा ।
बाल्यकाल कसरी बित्यो ?
बुवाले अर्की आमा लिएर हिंडनुभो । आमाले अरुकोमा ज्याला, मजदुरी, जन गएर, रक्सी, सुर्ती(चुर) बेचेर आएको पैसाले मलाई लालनपालन, स्कूल पढाउनुभयो । म स्कूल जाने । छुट्टीमा साथीभाइसँग माछा मार्न बल्छी, लोथा खेलिन्थ्यो । गुच्चा खेल्ने । खोप्पी खेल्ने । गेटिस बोकेर चरा मार्ने । रुखडुम, पानीडुम खेल्ने । मुसाको दुलो खनेर, सिला खोजेर धान भेला पारेर बेच्न स्थानीय हाट गइन्थ्यो ।कहिलेकाहीँ कलमकापी किनिन्थ्यो नत्र माछा मिठाई, बरफ, गुच्चा किनिन्थ्यो । कहिले काहीँ अरुको मकै, काक्रा, खुर्सानी, आप पनि चोरियो । आमाले बोहनी गरेर ल्याएको धान र दिनी गरेर ल्याएको दाल चोरेर एक पटक साथीको लहैलहैमा फिल्म हेर्न गइयो । फिल्महल बन्द रहेछ । फिल्म हलमा लागेको एउटै पोस्टर दिनभर हेरियो र फर्कियौं । समग्रमा राम्रो नराम्रो सबै गरियो भनौं न ।
साहित्य क्षेत्रमा कसरी आउनुभयो ?
बिना योजना । बिना ज्ञान । विना स्कुलिंग र स्किल । सायद अभावले उत्प्रेरणा दियो होला ।
सुरुवाती दिनमा कस्तो थियो?
आत्मरतिको लागि । आफै लेख्ने, आफै पढ्ने । आफै मख्ख पर्ने । आफुले लेखेको कुरा कसैले सुनिदिए हुने लाग्थ्यो ।
पहिलो पटक आफ्नो रचना बाचन गरेका दिन ?
२०४९ सालमा आफु जन्मेकैं गाउँमा ‘अन्यायको अन्त्य’ नामक नाटक लेखन, निर्देशन, मन्चन र अभिनय गरको थिएँ । त्यहीँ आफ्नो एक टुक्रा सृजना सुनाएको थिएँ । तर अरुबाट प्रत्यक्ष प्रभावित । सबैले ताली बजाए । गाउघरभरी स्याबासी पाएको थिएँ ।
साहित्यकार बाहेक केही बन्ने सपना थियो की ?
व्याप्त गरिबी भएर होला हाम्रो मंगोल परिवारमा लाहुरेको खुब चर्चा हुन्थ्यो । लाहुरे बन्न पाए हुने रैछ लाग्थ्यो । अभाव र गरिबीले कुपोषण भएको शरिर कहाँ लाहुरे हुनु। पछि चकचक गर्दा हात पनि भाँचे । लाहुरेको किस्सा खत्तम । गाउँघरका हुर्केका दाजुभाइ शहरवाट फिल्म हेरेर फर्किएपछि फिल्मको किस्सा सुनाउँथे । त्यसले निक्कै भित्रसम्म छुन्थ्यो तर मैले यस्तै बन्छु कहिले सोचिन । तीन कक्षामा सरले सोधेको बेला चाहीं डक्टर बन्छु भनेको याद छ । पछि आर्थिक अभावले सामान्य क्याम्पस पनि पूरा गर्न सकिएन ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
सामाजिक सन्जाल र मिडियाको कारण आजभोलि सबैलाई सहज छ । त्यो बेला यस्तो समय थिएन । अरुकै पनि बिजोग थियो । बिजोगले म जस्तो महाविजोगलाई कसरी ल्याउन सक्थे र ?
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
मलाई म स्थापित भएँ भन्ने भ्रम छैन अझै । जति जति भोग्दैछु, सिक्तैछु, देख्दैछु खालीखाली, रित्तोरित्तो पाउँदैछु। अरु कुरा चाहेर पनि गर्न सकिएन । मनको भावना, सम्वेदना कोर्दै जाँदा साहित्यकार भनेर धेरथोरले चिन्नुभयो । पक्कै यात्रा सहज थिएन ।
विचमा फिल्म लाईनमा नि आउनुभयो नि ?
हरेक कुरा भन्नको लागि उपयुक्त माध्यमलाई ध्यान दिनु जरुरी हुन्छ । कला, साहित्य, संगीत, अभिनय, प्रविधि, रंग आदिको समग्र मिश्रणको सुन्दर प्रस्तुती भिजल ल्याङवेजहो । सिंगो नेपालीभाषी भूटानीहरुको सत्य कथालाई विश्व बजारसम्म, युनिभर्सिटीसम्म पुर्याउनका लागि यो माध्यम रोजेको हुँ । लहैलहैमा आएको होइन ।
आफ्नै नजरमा प्रकाश के हो र कोहो ?
यो उत्तर लेख्दासम्मको अवस्थामा एक जुझारु, सिकारु, विधार्थी हो । भोलि थाहा छैन आफैलाई ।
मान्छेहरुले तँपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
मैले पूर्ण रुपमा आफैलाई चिन्न सकेको छैन । जे गरे पनि, जहाँ पुगे पनि आफैलाई कहीं न कहीं खोजिरहेछु । भेटेको छैन खास आफुलाई । आफु स्वयम्लाई नचिन्ने मान्छेलाई अरुले यसरी चिनोस भन्ने अपेक्षा राख्तिन ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
अस्तित्वले जता लान्छ, जे दिन्छ स्वीकार्ने । स्वीकार सँगै वोध गर्ने । हृदयले निर्णय गर्ने ।
अनि कमजोर पक्ष चहि नी ?
धेरै छन् । अराजक छु, थोरै असमाजिक पनि । कुरा लुकाउन जान्दिन् । लागेको कुरा भनि हाल्छु। माया, प्रेम, विस्वास चाडो गर्छु ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
पहिला अरुतिर फर्किदाँ धारणा बनाउँथे । आजभोलि आफुतिर फर्किने कोसिसमा छु । आफुलाई मात्र म सधै प्रश्नको झटारो हानि रहन्छु । दोस्रो उसको आफ्नै अस्तित्वमा हुन्छ के धारणा बनाउनु र ।
तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
सबै पक्ष छन् तर अलिक बढी भावनात्मक छु जस्तो लाग्छ ।
तपाईलाई कति खेर रिस उठ्छ ?
दश बर्ष अघि कारण र खेर चाहिन्नथ्यो । अलिक सन्काहा नै थिए । आजभोलि उमेर, भोगाई, बोध गराई सँगै मत्थर भएको छु। केही हुन लाग्यो भने अघिको परिवेस र पछिको परिणाम सोंच्छु । रिस पनि क्षणिक र सापेक्षित भ्रम लाग्छ ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
पहिला साह्रै हुन्थे आजभोलि त्यति हुन्न । जीवन जगत यस्तै हो । चलिरहन्छ भन्ने कुरामा विश्वस्त छु । बिशेष आमालाई सम्झदाँ अलि बढी भावुक हुने गर्छु ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
आफुलाई चाहिने जति छु तर अरुलाई धेरथोर हुनसक्छ ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
अति धेरै । सानासाना कुरामा पनि खुशी हुन्छु । विशेष आफ्नो कारणले कसैको भलो भयो भने अलि बढी खुशी हुन्छु।
तपाईका दुःखहरु के हुन् ?
सतहका दुःखको सामाजिक अर्थ होलान् यस्को त्यति महत्व राख्दिनतर अस्तित्वले मलाई के को लागि धर्तीमा अवतरण गराएको हो भन्ने कुरामा म पूर्ण विश्वस्त हुन सकेको छैन ।
अनि तपाईको सुख चाहि नी ?
मान्छे भएर जन्मन पाइयो । सृजना मार्फत हृदयको भाषा बोल्न पाइयो । अलिकति मिहिनेतले नि पृथ्वी घुम्न पाइयो । संसारभरिका राम्रा मानिसहरु भेट्न पाइयो, राम्रो ठाउँ टेक्न पाइयो ।
तपाईको जीवनको सबैभन्दा दःुखद क्षण ?
आमाको देहान्त । बाँकी किस्तामा सानातिना क्षण दर्जनौ थिए ।
अनि खुसीको क्षण चाहि नी ?
आमा जस्ती जीवनसाथी पाउनु । रगतको नाताभन्दा नजिकका आफन्त, इष्टमित्र र शुभेच्छुकहरु पाउनु ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
समय सापेक्ष अप्ठ्याराहरु आउँछन् जान्छन् । अप्ठ्यारोहरु मेरो जीवनमा लिस्नु भएर आए सधैं । आफै रोक्किनु अलग कुरा हो । लिस्नुहरुले कहिले रोकेनन् मेरो पाइलाई ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
हामी त माध्यम न हौं । अस्तित्वले गर्न ला‘को गर्ने हो । मलाई चाहीं आफ्नो काममा निरन्तर लाग्नु भन्यो अस्तित्वले । लडेको हुँ फुटेको होइन भन्ने लाग्थ्यो चेतनामा । रुपगत साथीभाइ, इष्टभित्र, सत्रुमित्रु आदिले साथ दिनुभो ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
आफुलाई मनले खाएकोे बाटो हिंडनु।
अनि गलत चाहि नी ?
आफ्नो आनन्दको लागि अरुको कुरा त्यति चाँसो दिइएन कि जस्तो लाग्छ ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
विश्वासको बदला बिश्वासघात र प्रेमको बद्ला घृणा पाएको दिन ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
आमाको भौतिक देहको समाप्तीमा । पहिलो प्रेमको बियोगमा । आजभोलि चाहीँ, हार्दिकता, प्रेम, करुणाका बोधले पनि रुन्छु बेलाबेला ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
सायद हज्जारौं पटक पछि मात्र आउँछ होला अन्तिम पटक हाहाहाहा ।
तपाईलाई कस्तो मान्छे मन पर्छ ?
ब्रह्माण्डको समग्र अस्तित्व मन पराउँछु । मान्छे पनि । मात्र आफनो स्वार्थ अनुकल दाँजियो, खोजियो भने चाहीं फरक कुरा हो ।
अनि कस्तो मन पर्दैन ?
अस्तित्वको हिसाबले सबै स्विकार्य छ । चरित्रको हिसावले चाहीं काखमा बसी छुरा रोप्ने प्रवृतीको मन पर्दैन ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
आफ्नो स्वार्थ पूरा गर्न अरुलाई मार्नेहरु ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
मुडी छ । कहिले दिनभरी सुत्छु । कहिले फिल्म हेर्छु । कहिले भिडियो गेम खेल्छु । कहिले डुल्न निस्कन्छु । कहिले कुक गर्छु । कहिले फोटोग्राफी गर्छु । आजभोलि चाहीं केही सृजना र आगामी चलचित्रको लागि कथालाई ट्रिटमेन्ट गरिरहेछु ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
उमर खैयामका रुबाइयात, दिवान ए गालिब, दुष्यन्त कुमारकी गजल, चम्किलो रातो तारा,आमा, लुसुनका कथाहरु, अफ्रिकाका प्रतिनिधि कविता, एव्स्ट्रयाक चिन्तन प्याज, सिरिषको फूल, इन्द्र बहादुर राईका कथाहरु । लगायत दर्शनका पुस्तकहरु
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
उमर खैयामका रुबाइयात, बुद्दको जीवनी, ओसो साहित्य, आदि
कस्ता फिल्म हेर्नुुहून्छ ?
सबै खाले । हरेक मुडमा हरेक जन्राको । हरेक भाषा र देशको । सबै देशमा हामी पुग्न सक्तैनो तर चलचित्र मार्फत त्यहाँको समाज, स्थान, भाषा, सँस्कृति चिहाउन मद्दत मिल्छ ।
तपाईलाई मनपर्ने फिल्म ?
हेरिसकेपछि म भन्ने मेरो भ्रमलाई भत्काइदिने, प्रश्न गर्ने रियालिस्टीक चलचित्र बढी पराउँछु।
दोहोराएर हेर्नुभएको फिल्म ?
सयौं छन् । उमेर अनुसारका । राजेस हमालदेखि, मिथुन चक्रवर्तीको सम्म । तर फिल्म के हो भनेर अलिलि चिन्न थालेपछि चाहीं इरानी फिल्म मेकिङ बढी मन पराउन थालें । पछि हरेक देशका इन्डिपेन्डेड फिल्महरु हेर्छु । सृजना र प्रयोगको हिसावले पछिल्लो पटक मन परेको चलचित्र ‘द साइलेन्स पिस्ट’ र ‘पल्स’ हो । गएको बर्ष बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, दक्षिण कोरियामा हेर्ने अवसर पाएको थिएँ । बुद्दिजम फिलोसोफिको क्षमा याचनालाई केन्द्रीय भावमा राखेर चाइनाको एउटा कुहिरोले ढाकिएको गाउँ र पात्रको मनोदशालाई अत्यन्तै काव्यिक शैलीमा प्रस्तुत गरिएको चलचित्र हो ‘द साइलेन्स पिस्ट’ । एउटै सट २० मिनेट भन्दा लामो पनि छ । ‘पल्स’ चाहीं एउटै शरिरमा पुरुष र स्त्री भावनाको उत्कर्षले निम्त्याउने संवेदनशिल कथ्य शिल्प छ । जसलाई मेरै अष्ट्रेलिय फिल्म मेकर साथीले बनाएकी हुन् । राम्रा फिल्महरु प्राय फेस्टिभलहरुमा मात्र हेर्न पाइन्छ ।
तपाईलाई मन पर्ने हिरो हिरोइन ?
म आइडोलोजी, थिम र चरित्रमा विश्वास गर्छु । त्यो कुनै निर्जिब बस्तु वा अन्य प्राणी पनि हुन सक्छ ।
तपाईलाई रुवाएको फिल्म ?
कवि मन भएर हुनसक्छ अर्थ न बर्थका दृश्य, संवादले पनि बेलाबेला घाँटी हिक्क चाहीं बनाउँछ । सानो छँदा त सबैले रुवाउँथ्यो । अहिले हत्तपत्त रुवाउन्न ।
मनपर्ने गायक–गायिका ?
कति छन् कति ।
मनपर्ने ठाउँ ?
जम्मा सत्र अठार ओटा देश टेक्ने, धेर थोर घुम्ने अवसर पाएको छु । नेपाल, भारत, भूटान, गल्फ देशहरुलाई छाडेर नर्वे, स्विडेन, डेनमार्क, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, स्विजरल्याण्ड, अष्ट्रलिया हँुदै दक्षिण कोरियासम्म । पृथ्वीको उत्तरी धु्रवमा अवस्थित नर्बेको अल्टा सिटी देखि दक्षिणी धु्रबमा अवस्थित तास्मानियको बर्नी आइसल्याण्डसम्म पुग्ने अवसर पाएको छु । अन्य देशहरुमा पनि निम्तो यात्रा बाँकी छ ।सबै ठाउँको आफ्ना आफ्नै विशेषता छन् । आफु सापेक्षित मात्र हो राम्रो नराम्रो । तर भौगोलिक, प्राकृतिक र आफ्नो देश भएर होला नेपाल घुम्दा ढुक्क लाग्छ ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
सबैभन्दा गाह्रो प्रश्न । वितेर गएकाहरुको कुरा नगरौं तर बर्तमानमा राम्राहरु कि त नराम्राका गाइडमा छन् कि त समायान्तरमा आस्था, बिचार स्खलित छन् । आसा छ कुनै दिन नाम उच्चारण गर्न सकुँ । आस चाहीं मरेको छैन ।
अनि विदेशका मनपर्ने नेता चाहिँ नी ?
उदाहरण अनगिन्ती छन् । गान्धीदेखि माओसम्म । मन्डेलादेखि चे ग्वाभेरासम्म ।
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
भित्रभित्रै सबैको असलियत थाहा भएको हुँदा नाम लिन चाहिन । यत्ति हो आफुअनुकुल स्वार्थको दलदलवाट निस्किएर माथि उठुन् भन्न चाहन्छु।
तपाईको आदर्श को हो, किन ?
पहिलो आमा, दोस्रो दुःख र अरु धेरै छन् ।
नेपालका मन पर्ने साहित्यकार ?
शंकर लामिछाने, पारिजात, इन्द्र बहादुर राई, बैंरागी काइला, कृष्णभुषण बल आदि
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
छ, आफैलाई नभेटेको ।
अनि यो समाजप्रति चाहिँ नी ?
छैन । यो समाजले त मैले मुठी दिएको थिएँ मुरी बनाएर दियो ।
जीवन के रहेछ ?
खोज्दैछु ।
बाँकी योजना र सपना कस्ता छन् ?
अर्को अन्तवार्तासम्ममा आउला गरिएका कुरा । भनिएको सबै नहुन सक्छन् । वित्थामा हावा भइन्छ ।
यो क्षेत्रमा लागेर के पाउनुभयो ?
सबै सबै यही क्षेत्रले दिएको हो ।
अनि के गुमाउनु भयो ?
म जीवन हिमनदी जस्तो निरन्तर बग्ने कुरामा विस्वास गर्छु । नदी भएर बगेपछि त मन पर्दा पर्दै कति कति राम्रा साथदिने फाँटहरु, साथ दिने किनारहरुसँग पनि बाध्यताले छुट्नु पर्दो रहेछ ।
साहित्य क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
सबै एनर्जी लगाएर, चेतना र शिल्प बढाएर लागियो भने अब सम्भव छ । तर मेरो हकमा भने म लेखेर बाँच्न सक्ने स्तरको लेखक बन्न सकेको छैन ।
नयाँलाई के सुझाप दिनुहुन्छ ?
पहिला आफुलाई केही हुँ भन्ने भ्रम हँुदा हतार–हतार सुझाव दिन्थे अब सक्तिन । म आफै खाली छु । यत्ती हो संसारमा तँपाई जस्तो तँपाई मात्र हो । आफु जस्तै बन्ने÷बाँच्ने कोशिष गर्नुहोस । तँपाई हुने ठाउँ तँपाइकै लागि मात्र हो ।